PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अवस्था निकै गम्भीर



पहिलोपोस्ट

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अवस्था निकै गम्भीर
Photo :AP

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। जापान टाइम्सका अनुसार शुक्रवार नारा शहरको सडकमा सम्बोधन गर्दैगर्दा आबेलाई पछाडिबाट एक व्यक्तिले गोली प्रहार गरेका थिए।

प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारा शहरकै ४१ वर्षीय यामागामी टेटसुया रहेका छन्। 

 

घटनास्थलमा आबेको शरीरबाट रगत धेरै बगेको देखिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनको नारा शहरमै रहेको नारा मेडिकल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ।

हत्या प्रयास पछि अस्पताल पुर्‍याइएका आबेको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको बताइएको छ। टोकियोका पूर्व गभर्नर मासुजोइ योचीले ट्वीट गर्दै आबेको अवस्था निकै गम्भीर रहेको जानकारी दिएका हुन्। उनले आबे ‘कार्डियोपुलमोनेरी अरेस्ट’को अवस्थामा रहेको उल्लेख गरेका छन्। बीबीसीका अनुसार जापानमा यी शब्दको प्रयोग मृत्यु भएको घोषणा गर्नुअघि प्रयोग गरिन्छ। उनले ट्वीटमा आतंकवाद प्रजातन्त्रको शत्रु हो भनेर समेत उल्लेख गरेका छन्। 

सन् २०२० को अगस्तमा जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट बाहिरिने घोषणा गरेका थिए। आफ्नो स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए। जापानमा व्यक्तिगत रुपमा बन्दुक राख्न प्रतिबन्धन लगाइएको छ। त्यहाँ गोली प्रहार हुने घटना बिरैले हुने गर्छ।

यो समाचार 'अपडेट' भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell