A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6999745bcb4a18.75815027): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6999745bcb4a18.75815027,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

लैङ्गिक विभेदले 'मारिएकी' स्तुतिलाई दोस्रो पटक जन्माउने ‘आमा’को कथा
PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

लैङ्गिक विभेदले 'मारिएकी' स्तुतिलाई दोस्रो पटक जन्माउने ‘आमा’को कथा



भावना शर्मा

लैङ्गिक विभेदले 'मारिएकी' स्तुतिलाई दोस्रो पटक जन्माउने ‘आमा’को कथा

२०७७ साल, पुस २९ गते। मध्ये हिउँदको त्यस ठिहिर्याउने बिहान एक बालिका जन्मिँदा करिब ८ बजेको हुँदो हो।

कोही जन्मनु नौलो कुरा होइन। तर, जन्मिएकाहरूको भोगाइ र उनीहरूसँग जोडिएका कथा नौलो हुन सक्छ।

ती बालिका काठमाडौँमा जन्मिएकी भए परिस्थिति अर्कै बन्थ्यो होला। अथवा त्यो शिशु सालनालमै रहँदा कसैले “छोरा भयो” भनिदिएको भए कथा फरक हुन्थ्यो।

तर ती बालिका जन्मिएको परिवेश र समयले उनको जीवनमा असाध्यै धेरै जटिलताहरू ल्यायो।

हुम्लाको अदानचुली ५ का गोरख र गौरा छन्त्यालले छोराको आस गर्दागर्दै लगातार ६ छोरी जन्मिइसकेका थिए। सातौँ पटकमा जन्मिएकी थिइन् ती बालिका जसको जीवन कुनै दु:खद कथानक जस्तै बन्यो।

त्यस बिहान आफ्नो प्रसव वेदनाको साक्षी बनेकी सुँडेनीलाई गौराले सोधिन्-'के जन्मियो?'

'फेरि पनि छोरी नै,' सुँडेनी बोलेकी थिइन्।

यो पटक पनि उनको आशा पूरा भएन। त्यहाँ सन्नटा छायो। त्यस वार्तालापको करिब १५-२० मिनेटपछि नै सुत्केरी गौराले प्राण त्यागिन्। त्यतिबेलासम्म उनले भर्खरै जन्मिएकी छोरीको अनुहार समेत हेर्न भ्याएकी थिइनन्।

‘हृदयाघात’ उनको मृत्युको कारण ठहरियो। तर भर्खरै कोख छाडेकी छोरीलाई काखमा लिन पाउनुअघि उनको श्वास जानुको कारण हृदयाघात मात्र हो भन्ने ठाउँ रहेन। उनी यस्तो व्यथाले मरिन् जुन व्यथा त्यस भेगका अधिकांश महिलाहरूले भोगिरहेका छन्। हाम्रो सामाजिक संरचनाले अन्य भागका महिलाहरूलाई पनि त्यस व्यथाको सिकार बनाइरहेको छ।

लैङ्गिक विभेदको चपेटा र त्यसले पार्ने दबाबको उपज- छोरा नपाउनुलाई महिलाको अपराध मान्ने समाज र छोरी जन्मिएकोमा पटकपटक आमा नै प्रताडित हुनुपर्ने बाध्यता। ६ जना छोरी जन्मिउन्जेल गौराले पनि त्यही पीडादायी उल्झन भोगिरहेकी थिइन्। सातौँ पटकको त्यो झट्का कति भयावह थियो होला जसले 'फेरि छोरी' भन्ने शब्द सुन्नासाथ आमाको ज्यान नै लियो!

+++

घटना भएकै दिन। दिउँसोको ४ बजे भैंसेपाटीस्थित घरैमा बसिरहेकी सरु सुवेदीलाई हुम्लाबाट फोन आयो। आवाज प्रस्ट थिएन तर सन्देश थियो :

'…..जन्मिएर ऽऽऽऽ मर्‍यो' यति मात्र बुझिन् सरुले। धेरै पटक उताबाट फोन आउने अनि काटिने भयो। त्यसपछिका केही दिन फोन लागेन।

माघ ३ गते बल्ल सम्पर्क हुँदा उनले थाहा पाइन् - जन्मना साथ आमा मरेकी रहिछन्। अनि आमा गुमाएकी बालिका बिजोग अवस्थामा छिन्। उनको उद्धारका लागि सहयोग माग्दै फोन गर्नेले जानकारी दिए अनुसार ती शिशुका बाबु दमका दीर्घ रोगी हुन्। उनका दिदीहरू सबै नाबालिग। जेठी नै ११ वर्षकी।

पुसको जाडोमा ती बालिकाको पनि ज्यान जोगाउन हम्मेहम्मे परेको खबर पाएपछि सरुले तत्काल सहयोग पुर्‍याउन सक्ने संस्थाहरू मानव सेवा आश्रम र एसओएस बालग्रामको नम्बर पठाइन्। तर केही दिनमै उनैलाई फेरि फोन आयो। भनिएको थियो- 'यो बच्चाको स्वास्थ्य पनि ठिक छैन। श्वास जान्छ भन्ने जस्तो भयो हजुर। उद्धार गरिदिनुपर्‍यो।'

जन्मिएको १३ दिन बितिसक्दा पनि नाम नपाएकी ती नानीको न त विधि अनुरूप न्वारन भएको थियो न त खानेकुराकै ठेगान लागेको थियो। गाई भैँसीको दूध, भातको माड र ‘ल्याक्टोजिन’को आडमा राखिएको थियो उनलाई। जन्मिएदेखि कसैले उनलाई नुहाइदिएको थिएन। सफा र न्यानो लुगा आँङमा पर्नु परको कुरा। शरीरमा लागेका दिसापिसाब सफा नभएको कारण उनको शरीरभरि घाउखटिरा आउन थालिसकेको थियो।

बच्चीको हाल सुनेर विह्वल सरुसँग हुम्लाबाट उनलाई ल्याउन पुग्ने पैसा थिएन। उनले बालिका काठमाडौँसम्म ल्याइदिन आग्रह गरिन्।

तर आर्थिक अवस्था असाध्यै कमजोर भएको परिवारसँग हुम्लाबाट भरियालाई बोकाएर पैदल यात्रा, त्यसपछि तीनपटक गाडी फेरेर नेपालगंज अनि त्यहाँबाट काठमाडौँ आउने खर्च कहाँबाट हुनु?

खर्चको अभावले एउटी बच्चीको जीवन दाउमा पारेको थियो। घटनाक्रमबारे जानकार सरुकी छोरीले पनि त्यो सबै सहन सकिनन्। उनले आफ्नी आमालाई प्रश्न गरिन् - मामु आमा त मरिन् मरिन्। अब २०/५० हजारको कमीले छोरीलाई पनि मर्न दिने त?

नाजवाफ सरुले थप सोचिनन्। सहयोगको आशासहित फेसबुकमा पूर्ण जानकारीसहित पोस्ट गरिन्। २४ घण्टामै ३० हजार सहयोग जुटेपछि उनी माघ १९ गते नेपालगंज पुगिन्।

शिशु लिएर हाल अदानचुली ५ का वडाध्यक्ष कमल छन्त्यालसहितका मानिसहरू कोल्टी विमानस्थल आइपुगे। त्यसको भोलिपल्ट अर्थात् माघ २० गते बिहान नेपालगंज विमानस्थलमा सरुले ती बच्चीलाई स्पर्श गरिन् जसको दर्दनाक अवस्थाबारे सुनेरै उनी त्यति पर हान्निएकी थिइन्।

फोहोरका कारण उनको शरीरमा उछ्रिएको घाउले गर्दा कपडामै चिल्सा परिसकेको रहेछ। सरुले मन थाम्न सकिनन्। बच्चीको लुगा खोलेर सफा पारिदिइन्। रोइरहेकी बच्चीलाई नयाँ लुगा लगाइदिएर छातीमा टाँसिन्।

संयोग बस् त्यसदिन सरुकी छोरीको पनि जन्मदिन थियो।

बच्चीलाई हातमा लिएपछि उनले सम्झिइन् -'यो बच्ची मेरो सन्तानको जन्मदिनमा ईश्वरले मलाई पठाएको उपहार हो।'

सानी नानीलाई काखमा च्यापेर काठमाडौँ फर्किएपछि उनी स्वयं ११ दिनसम्म घरमै सुत्केरी जसरी बसिन्। जन्मिएको सङ्घर्षपूर्ण ३१ दिनपछि बल्ल ती बच्चीको न्वारन भयो। नाम पाइन् 'स्तुति'।

केही दिनअघि चाँगुनारायण ४ मा रहेको तुलसालय आश्रममा स्तुतिको अन्न प्राशन भयो।

***

इलाममा जन्मिएकी सरु र हुम्लामा जन्मिएकी स्तुति आमा छोरी भए। उनको भैंसेपाटीस्थित घरमा पनि १७ जना असहाय मानसिक रोगी तथा वृद्धवृद्धाहरु छन्। सबैको भर सरु नै। स्तुतिजस्ता २६ जना छोराछोरी पनि हुर्काइ रहेकी छन् सरुले। अब सबैभन्दा कान्छी छोरी भइन् स्तुति।

'गाउँमा कोही दुःखी गरिबहरू देख्यो कि कसरी उनीहरूलाई सहयोग गर्न सक्छु होला जस्तो लाग्थ्यो। मेलापात गएर हुन्छ कि घरबाट दुईचार माना चामल मागेर हुन्छ कि उनीहरूलाई सघाऊँ जस्तो लाग्ने। कसैले लुगा नलगाई हिँडेको देख्दा आफ्नै लुगा ल्याएर दिऊँ कि जस्तो लाग्ने। आफ्नो टिनको छाना र अरूको खरको छाना देख्दा उनीहरूको पनि टिनको छाना भइदिए पानी चुहिन्थेन जस्तो लाग्ने। म अरूको दुःख देख्न नसक्ने स्वभावकी थिएँ,'स्तुतिलाई काखमै राखेर उनले आफ्नो बाल्यकाल सम्झिइरहेकी थिइन्।

उनी स्वयंले १५ वर्षकै हुँदा आमाको काख गुमाइन्। आमा बितेको बेला पण्डितहरूले छोरीले पिण्ड दिन नपाउने, क्रिया बसेका छोराहरूसँगै छोरी बस्न नपाउने जस्ता नियमहरू सुनाउँदा उनको कलिलो मस्तिष्कमा त्यो कुरीतिविरुद्ध विद्रोह भाव जागेको थियो। उनलाई खट्किरहेको थियो दाजुभाइ सरह आमाको लागि केही गर्न नपाउनु।

'कुनै दिन दाजुभाइले गरेको भन्दा फरक तरिकाले म पनि आमाको लागि तर्पण दिनेछु भन्ने अठोट मनमा थियो। त्यो अठोट सेवाभावबाट पूरा गर्नका लागि र सामाजिक क्षेत्रमा योगदान दिनका लागि सानै भएपनि केही गर्छु भन्ने थियो,'उनी भन्छिन्।

साढे १८ वर्षको उमेरमा बिहे भएर काठमाडौं आएकी सरुलाई व्यवहारले भिन्न भिन्न भूमिकामा लगाइरह्यो। २०६२ सालमा उनी आर्थिक पाटो मजबुत बनाउन केयर गिभरको भूमिकामा इजरायल पुगिन्। सात वर्षको इजरायल बसाइ नै सरुको जीवनकै सबैभन्दा ठूलो सिकाइको थलो बन्यो। त्यहाँ उनले वृद्धवृद्धाको रेखदेखसँगै बालमनोविज्ञानबारे अनुभव हासिल गरिन्।

उनले त्यहाँ वृद्धवृद्धा र मानसिक रोगीहरूसँग काम गर्थिन्। उनीहरूलाई बिहान ८ बजेदेखि ४ बजेसम्म अतिरिक्त क्रियाकलापका लागि क्लबमा लैजानुपर्ने। त्यसबिचको केही फुर्सदको समय उनी बालबालिकाहरूलाई पढाउने ठाउँमा जाने गर्थिन्।

औषधिबिना नै मनोरोगीसँग कसरी ‘डिल’ गर्ने भन्ने सिकाइ पनि उनले त्यहाँ हासिल गरिन्। बाल मनोविज्ञानका क्रियाकलापबारे पनि सिक्न पाइन्। मानसिक रोगीहरूलाई लट्ठ्याउने औषधि खुवाएर सुताउने होइन कि कम भन्दा कम औषधी दिएर पनि उनीहरूको जीवन सहज बनाउन मद्दत गर्ने व्यवहारिक ज्ञान उनले यथेष्ट बटुलिन्। बालबालिकालाई कसरी व्यवहारिक शिक्षा दिने र हुर्काउने भन्ने कला पनि उनले त्यहीँ सिकिन्।

सात वर्ष त्यहाँ रहेर आफ्नो जीवनको आर्थिक पाटो त सबल बनाइन् तर नेपाल फर्किए पनि उनको मन भने बेचैन नै थियो।

संस्थागत रूपमा समाजमा रहेका अप्ठ्यारा, विसङ्गति र दुर्व्यवहारका घटनाविरुद्ध लड्नका लागि केही त गर्नै पर्छ भन्ने हुटहुटीले उनलाई लखेटिरहेको थियो। इजरायल बसाइलाई सम्झिएर उनले २०७१ सालमा 'जीवन बाँचेकै छ' भन्ने नियात्रा सङ्ग्रह पनि निकालिन्।

बुवाआमाको नाममा फाउन्डेसन खोलेर सानातिना सहयोगका कामहरू उनले त्यसै बेलादेखि थालिन्। भूकम्पका बेला उनी राहत लिएर विभिन्न जिल्लाहरूमा पुगिन्। नाकाबन्दी र बाढी पहिरोका घटनाहरूमा पनि सानातिना सहयोगका कामलाई निरन्तरता दिइरहेकी सरुले विधिवत् रूपमा २०७४ सालमा तुलसादेवी हरिहर फाउन्डेसन सुरुवात गरिन्।

कोभिड-१९ महामारीको समय थियो। घरभित्रै रहेर राहतको प्याकेट बनाइन् र आवश्यक पर्नेलाई खुलेर सहयोग गरिन्। बिस्तारै सडकमा अलपत्र परेका बिरामी असहाय र वृद्धवृद्धालाई घरमा ल्याएर राख्न थालिन्। अलपत्र परेकाहरूको तत्काल व्यवस्थापनको अभाव महसुस भएपछि उनले भैंसेपाटी प्रहरीसँगको समन्वयनमा काम सुरु गरेकी थिइन्।

कोरोना भाइरस महामारीको समयमा उनले असहाय, असक्त र समस्यामा परेका ५१ जनालाई आफ्नो घरको ७ वटा कोठामा व्यवस्थापन गरेकी थिइन्। ती मध्ये अहिले धेरैको पुनर्स्थापना पनि भइसकेको उनले जानकारी दिइन्। अहिले घरमा असहाय वृद्धवृद्धाहरु र चाँगुनारायणमा बालबालिकाहरूलाई राखेर उनीहरूको हेरचाहमा समय बिताइरहेकी छिन्।

***

स्तुतिको पास्नीपछि तुलसालय आश्रम धेरैको आँखामा पर्‍यो। स्तुतिको अन्नप्राशन नेपालकै पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीको हातबाट भएको थियो। माइती नेपालकी अनुराधा कोइराला पनि स्तुतिलाई खाना खुवाउन पुगेकी थिइन्। धेरै सहयोगी दाताहरू आश्रमलाई सघाउन अघि सरिरहेका छन्। उनी आफूले गरिरहेका क्रियाकलापहरूबारे सामाजिक सञ्जालमार्फत सबैलाई खुलस्त जानकारी दिन्छिन्। सेवा भावको नाममा खुलेका धेरै संस्थाहरू विवादरहित बन्न नसकेको चिन्ता सरुलाई पनि छ।

उनलाई लाग्छ समाजसेवाका नाममा खुलेका धेरै सङ्घसंस्थाहरूले दाताले दिएको रकम सदुपयोग गरेका छैनन्। कतिपय सङ्घसंस्थाका क्रियाकलापहरू विवादमा पनि आएका छन्। यस कारण सच्चा मनले काम गरिरहेकाहरूमाथि पनि शङ्काको दृष्टि राख्न थालिएको छ। 'त्यसैले हामीलाई साँच्चै काम गर्न गाह्रो छ,' आफ्नो लागि अझै पनि 'लर्निङ टाइम' भएको सरुले बताइन्,'बिलकुलै मानव सेवाको लागि काम थालेको हुँ। सबैको साथ र सहयोगबाट कसरी काम गर्दा उत्कृष्ट तरिकाले गर्न सकिन्छ भन्ने सिक्दै अघि बढ्दै जान्छु।'

स्तुतिका दुई दिदीहरू पबिता र बबिता आश्रममै छन्। उनीहरूले पनि नयाँ परिचय पाएका छन् क्रमशः संस्कृति र आकृति। अब हुम्लामा बाँकी रहेका स्तुतिका अरू दिदीहरूलाई पनि यहीँ ल्याउने तयारी सरुले गरिरहेकी छिन्। पुरानो जीवनसँग नजोडिई उनीहरु सबैलाई राम्रो शिक्षादीक्षा र लालन पालन गर्ने सरुको चाहाना छ।

जन्मनासाथ आमाको काख गुमाएकी स्तुतिलाई उनका सबै दिदीहरूको माया दिन सकियोस् भन्नाकै लागि अरूलाई पनि आश्रममा ल्याउन चाहेको उनले सुनाइन्।

स्तुतिकी जेठी दिदी ११ वर्षकी छिन् जो हुम्लामै रोगी बुवाको रेखदेख गर्दै त्यहीँको विद्यालय जाने आउने गर्छिन्। ९ वर्षकी माइली र स्तुति माथिकी दुई वर्षकी छोरीलाई चाँडै उनले काठमाडौँ ल्याउँदै छिन्। साइली दिदी काठमाडौँकै कुनै अनाथालयमा छिन् भन्ने सरुले जानकारी पाएकी छिन्। बाँकी सबैलाई बिस्तारै एकै ठाउँमा राख्न उनी चाहन्छिन्। खासमा आमाको ममताबाट सानैमा टाढिएका सबै दिदीबहिनी छरिएर रहन नपरोस् र उनीहरूलाई मातृत्वको छाँया दिन सकूँ भन्ने सरुलाई लागेको रहेछ।

सरु भन्छिन्, 'स्तुतिको अर्थ प्रार्थना हो। म भगवानसँग प्रार्थना गर्छु अब कुनै पनि आमाले छोराको लालसामा मर्नु नपरोस्। भोलि मेरा छोरीहरूले हुम्लामै गएर आमूल परिवर्तन गर्न सक्ने गरी लालन पालन र शिक्षादीक्षा दिन सकूँ ताकि त्यहाँका हरेक आमाले छोरी जन्मिँदा गर्व गर्न सकुन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell