जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। आबेमाथि नारा शहरमा चुनावी सभामा सम्बोधनका क्रममा गोली प्रहार गरिएको थियो। रगतले लत्पतिएका आबेलाई तत्कालै उपचारका लागि नारा शहरमै रहेको नारा मेडिकल युनिभर्सिटी हस्पिटल लगिएको थियो। निकै गम्भीर अवस्थामा रहेका आबेको निधन भएको एनएचके वर्ल्डले जनाएको छ।
प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नारा शहरकै ४१ वर्षीय यामागामी टेटसुया रहेका छन्। प्रहरीले उनको साथबाट ‘सट गन’ बरामद गरेको छ। उनले आबेको हत्या गर्नुपछिको कारण खुलेको छैन।
सिन्जो आबे दुईपटक जापानका प्रधानमन्त्री भएका थिए। जापानको राजीनितमा आबेको परिवार पहिलै देखि सक्रिय थियो। उनका हजुरबुवा किशी नोबुसुके सन् १९५७ देखि १९६० सम्म प्रधानमन्त्री भएका थिए। आबेका बुवा जापानको विदेश मन्त्री भएका थिए।
बुवाको मृत्युपछि आबेले सन् १९९३ मा आम निर्वाचन लडेका थिए। राजनीतिमा आएदेखि उनले निकै लोकप्रिय छवि बनाएका थिए। ५२ वर्षको उमेरमा आबे लिबिरल डेमोक्रेटिक पार्टीको ‘लिडर’ बनेका थिए। सन् २००६ मा उनी जापानका सबैभन्दा कान्छो प्रधानमन्त्री बनेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनले राजीनामा दिएका थिए। सन् २०१२ मा उनको पार्टीले फेरि निर्वाचन जितेको थियो। त्यसपछि उनी फेरि प्रधानमन्त्री भए। सन् २०२० को अगस्तमा आबेले फेरि पदबाट बाहिरिने घोषणा गरेका थिए। आफ्नो स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री राजीनामा घोषणा गरेका थिए।