
काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ। शुक्रवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यादवलाई प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
यस्तै, उनले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रिय समितिका सदस्य हर्कबहादुर सिंहलाई जिम्मेवारी दिने निर्णय भएको पनि बताए। खतिवडाले बैठकमा पार्टीका आन्तरिक जीवनमा व्यवस्थापन गर्नुपर्ने विषयमा समेत छलफल भएको जानकारी दिएका थिए।
बैठकपछि पार्टीका नेता झलनाथ खनालले केन्द्रिय परिषद्का बैठकले निर्णय गरे बमोजिम पार्टीलाई देशका १६५ वटा संघीय निर्वाचन क्षेत्र र ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टी संगठन विस्तार गर्ने, जनवर्गीय संगठनहरु विस्तार गर्ने र पार्टी संगठनलाई राष्ट्रव्यापीरुपमा विस्तार गर्ने निर्णय गरेको बताए।
खनालले मुलुक संघ र प्रदेशको निर्वाचनमय हुन लागेको भन्दै आगामी निर्वाचनका बारेमा तयारी गर्ने कुरालाई पार्टीव्यापी रुपमा अघि बढाउने निर्णय भएको पनि बताए।