PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नेपाली सिमेन्ट उद्योगले थाल्यो भारतीय बजारमा निर्यात



पहिलोपोस्ट

नेपाली सिमेन्ट उद्योगले थाल्यो भारतीय बजारमा निर्यात

बुटवल : नेपालमा उत्पादित सिमेन्ट भारतीय बजारमा निर्यात सुरु भएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ स्थित पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्न सुरु गरेको हो।

आरएमसी ग्रुपद्वारा सञ्चालित उद्योगले शुक्रवारबाट तानसेन सिमेन्ट सुनौली नाका हुँदै भारततर्फ निकासी सुरु गरेको सञ्चालक शेखर अग्रवालले जानकारी दिए। स्थानीय र राष्ट्रिय स्तरमा बजारीकरण गर्दै आएको उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ।

भारतमा सिमेन्ट पठाउनका लागि गर्नुपर्ने गुणस्तर मापदण्डलगायतका सबै सरकारी प्रक्रिया पूरा गरी उद्योगले सिमेन्ट पठाउन थालेको हो। उद्योगले पहिलो चरणमा भारतको उत्तर प्रदेशलाई लक्षित गरेर सिमेन्ट पठाउन सुरु गरेको छ।

उद्योगका कार्यकारी निर्देशक शेखर अग्रवालले भारतमा सिमेन्ट निकासीसँगै अब नेपाली उत्पादनहरुले पनि अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने सन्देश दिएको बताए। मागभन्दा बढी उत्पादन भएपछि नेपाली सिमेन्ट उद्योगीहरुलाई खपतमा समस्या देखिएको थियो।

दैनिक १८ सय टन क्लिंकर उत्पादन क्षमताको प्लाण्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए। सरकारले दिएको अनुदानसँगै भारतमा सिमेन्ट निकासी हुन थालेपछि अर्थतन्त्रमा समेत ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले नेपाल आयात मात्र गर्ने देशको सूचीमा रहेपनि सिमेन्टमा आत्मनिर्भर भई भारततर्फ पनि निर्यात गर्नु ठूलो उपलब्धि भएको बताए। नेपालको ब्यापार घाटामा अब बिद्युत र सिमेन्ट भारत निर्यातले केही राहत दिने उनले बताए।

भारततर्फ सिमेन्ट बोकेर जान लागेका ट्रकलाई बिदाइ गर्दै सुनवलकी नगर प्रमुख विमला अर्यालले यहाँ उत्पादन भएको सिमेन्ट नेपालमा मात्रै नभई भारतमा पनि निकासी हुनु सुनवलको लागि गौरवको कुरा भएको बताइन्। उनले समृद्धिका लागि उद्योग महत्वपूर्ण आधार रहेको बताउँदै उद्योगलाई स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell