PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

स्कटल्यान्ड सिरिजमा नेपाललाई चुनौती, कसरी बढ्दैछ दबाव?



मुकुन्द घिमिरे

स्कटल्यान्ड सिरिजमा नेपाललाई चुनौती, कसरी बढ्दैछ दबाव?

काठमाडौं : 'काँही नहुनु भन्दा यही हुनु ठीक छ'।

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले स्कटल्यान्ड सिरिजको तयारी क्यानडामा गर्ने विषयमा भनेका थिए। तयारीअनुसार नै क्यानडामा नै खलेको अभ्यास तालिका बन्यो। लगत्तै नेपाली क्रिकेट टोली क्यानडा उड्यो।

युरोपको भूमिमा खेलको अभ्यास भएको भए नेपाली क्रिकेट टोली खुसी हुन्थ्यो। तर क्यानडा जानु परेकोमा पनि त्यति दुखी भने थिएन टिम। क्यानडा उड्दै गर्दा बिदाई समारोहमा फेरी कप्तान लामिछानेले यसलाई प्रष्ट्याए।

'क्यानडा र स्कटल्यान्डको अवस्था केही समान छ। पुरा नहोला तर केही हदसम्म मिल्छ। त्यहाँ पनि राम्रो टिम छ। युवा खेलाडीका टिमको वातावरण खेलका लागि राम्रो अवसर रहने छ,' उनले भने। अन्तिम खेल युरोपेली भूमिमा खेल्नु पर्ने भएकाले खेलाडीले अभ्यास खेल पनि युरोपमा नै गर्न पाएको भए उत्तम हुने सोचेका थिए।

क्रिकेट संघसँग तीन विकल्प थिए - एसियाली मुलुक श्रीलंका, अर्को क्यानडा र स्कटल्यान्ड या युरोप। स्कटल्यान्ड युरोपियन मुलुक भएकाले खेलाडीको आँखा र आशा त्यही थियो। तर सोचे र रोजेजस्तो भएन।

'स्कटल्यान्ड सिधा जान मिलेन, युके जान पनि मिलेन त्यसबाहेकको उत्तम विकल्पका रुपमा क्यानडा जान लागेका हौ। खेलको अभ्यास कहाँ राम्रो हुन्छ। श्रीलंका पनि विकल्प हुने थियो तर त्यहाँ र स्कटल्यान्डको अवस्था मिल्दैन।'

क्यानडामा त्यहाँको स्थानीय ओरन्टियो क्लबसँग एकदिवसीय र टी २० फर्म्याटमा अभ्यास खेल खेल्यो। त्यस्तै क्यानडाको राष्ट्रिय टोलीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्ने तय गरिएकोमा एउटा खेलमा वर्षा बाधक बन्यो भने अर्को खेलमा फितलो ब्याटिङ गर्दै लज्जास्पद हार ब्यहोर्‍यो।

समग्रमा अमेरिकाबाट फर्किएपछि नेपालमा खासै अभ्यास गर्न नभ्याएको क्यानडा भ्रमण खासै उपलब्धिमुलक भने देखिएन। अझ क्यानडा भ्रमणका क्रममा कप्तान सन्दीप लामिछानेले असहयोग भएको आशयमा ट्वीट गरेपछि धेरै अड्कलबाजीहरु पनि नेपाली क्रिकेट बृत्तमा चले। नेपाली टोलीको नमिलेको तालमेल क्यानडासँगको खेलमा छरपस्ट भयो।

त्यहाँबाट नेपाली टोली स्कटल्यान्ड पुगेको छ। स्कटल्यान्डमा नेपालले घरेलु टोली र नामिबियासँग क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेल खेल्नेछ। यही महिना अमेरिकामा ओमन र अमेरिकासँगको लिग २ अन्तर्गतकै सिरिजमा जितको मुखमा पुगेका खेलहरुमा पराजय ब्योहर्दा लिग २ मा जितको प्रतिसत नेपालले ५० प्रतिशतबाट घटाएको थियो। जसले विश्वकपको ग्लोबल क्वालिफायर्समा शीर्ष तीनमा रहेर पुग्न दबाव बढ्यो। त्यसको असर स्कटल्याण्ड सिरिजमा पर्नेछ। स्कटल्याण्ड सिरिजमा कमजोर प्रदर्शन भए शीर्ष तीनमा रहँदै विश्वकप छनोटको बाटोमा जानेका अझ 'आकाशको फल' बन्छ नै त्यसमा एकदिवसीय मान्यता जोगाउने चुनौती पनि थपिने छ। स्कटल्याण्ड सिरिजमा खासगरी नामिबियासँग अंक दुरी बढाउन अवसर र चुनौती दुबै रहनेछ। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले पनि यो जटिल अवस्थाले बुझेका छन्।

'दुबै टिम अहिलेको समयमा राम्रो टिम छ। नेपाल पनि त्यतिकै बलियो टिम छ। नेपालको लागि चुनौती पनि छ। यो प्रतियोगितामा नामिबिया र नेपाल एकै ठाउँमा खेल्न गइरहेको छ। प्वाइन्टमा पनि दुई टोली एकअर्काभन्दा तलमाथि छ,' लामिछानेले भने, 'यो प्रतियोगितामा उनीहरुलाई हराउन सके हामीलाई अलि माथि पुर्‍याउन सक्ने छ। स्कटल्यान्डसँग जित्न सके हाम्रो लागि थप भने छ। त्यहाँको वातावरणले गर्दा पनि यो प्रतियोगिता बढी चुनौतीपूर्ण छ। त्यहाँ दुई तीन खेल जित्न सके चुनौतीपूर्ण हुन सक्नेछ।'

आईसीसीको एकदिवसीय विश्व वरीयतामा नेपाल १९ औं स्थानमा रहँदा नेपालका दुबै प्रतिस्पर्धी त्यसभन्दा अघि छन्। स्कटल्यान्ड १२ औं स्थानमा छ भने नामिबिया १८ औं स्थानमा छ।

क्रिकेट विश्वकप लिग २ मा नेपाल पाँचौं स्थानमा छ। सात टोलीबीचको एकदिवसीय साइकलमा ओमनले सबै खेल अर्थात ३६ खेल खेलेर ४४ अंक जोड्दै शीर्षस्थानमा छ। त्यस्तै दोस्रो स्थानमा रहेको टोली हो स्कटल्याण्ड। उसले २० खेलबाट २८ अंक जोड्दा तेस्रो स्थानमा २२ खेलबाट २६ अंक जोडेको यूएईले। चौथो स्थानमा २४ खेलबाट २३ अंक जोडेको अमेरिका छ। १६ खेलबाट १५ अंक जोड्दै नेपाल पाँचौ स्थानमा रहँदा १४ खेलबाट १४ अंक जोडेको नामिबिया छैटौं र सातौं स्थानमा २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी रहेको छ।

नेपालले जुलाई ११ मा नामिबिया, जुलाई १३ मा स्कटल्याण्ड, जुलाई १६ मा नामिबिया र जुलाई १७ मा स्कटल्यान्डसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell