PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गणेश हिमालको काखमा नरभक्षीको रजगज



पहिलोपोस्ट

गणेश हिमालको काखमा नरभक्षीको रजगज

  • सुबास श्रेष्ठ 'क्षितिज'-

'के लेखौं? कसका लागि लेखौं? के म न्याउलीको कहानी लेख्ने साहस जुटाउन सक्छु? उनले भोगेका गथासा लेख्न कागज र मसी बनेकै छैन। न्याउलीको मुटुमा सुइरा चोबेर लेखिएका शब्दले तर्साउने छन् आफैलाई।'

बेजोड सामाजिक यथार्थवादी ताजा उपन्यास 'रूइबा'को कहानीभित्र लेखक चेतनाथ आचार्य स्वयंबाट ब्यक्त भनाइलाई उद्धरण गर्न मन लाग्यो। उपन्यासको २६० पृष्ठमा रहेका यी हरफहरु कुनै पात्रले बोलेका होइन। सर्जक आफैँले आफ्नो पीडा व्यक्त गरेका हुन्। उपन्यास पढिसकेपछि म आफूलाई पनि त्यस्तै पीडानुभूति भएको थियो। तसर्थ रुइबा उपन्यासका बारेमा केही लेख्नुपर्दा मैले उपन्यासकार चेतनाथ आचार्यका उही लाइनहरु उद्धृत गर्दै लेख्न थालेको छु।

स्रोत पछ्याउदै चीनस्थित जेलसम्मै पुगेर प्रत्यक्ष मूल पात्रलाई नै भेटिसकेपछि कथा लेख्ने निष्कर्षमा पुग्नुले लेखकको मेहनत, बस्तुगत अध्ययन र यथार्थपरक शैलीलाई सहज रूपमा चित्रण गरेको छ।

धादिङको पावाङ गाउँ निवासी ज्यादै गरीब परिवारकी एक सोझी तामाङ महिलाको यथार्थ जीवनीमा आधारित यो उपन्यास पढ्दै जाँदा कसको पो मन र आँखा नरसाउला!

बेइजिङमा बसेर पत्रकारिता गरिरहेका लेखक मित्रसँग म्यासेन्जरमा खुलदुली राख्दा उनले उपन्यास यथार्थ र सत्य घटनामा आधारित रहेको पुष्टि गरे। सन् २००६ देखि चीनको जेलभित्र बन्दी जीवन बिताउन विवश न्याउली अझै पनि जन्मकैद भोगिरहेकी रहिछन्। अवैध लागू पदार्थको तस्करीको चङ्गुलमा फसेर अन्जानमै आफ्नो शरीरलाई भरिया बनाउन विवश बनेको उनको कहानी दर्दनाक छ।

चरम गरिबी, यार्सा टिप्न जाँदा भिरबाट खसेर परिवारको मियो अर्थात् न्याउलीको आपा परमधाम भएपछि न्याउलीका जीवनका खुड्किलाहरु भत्किन थाल्छन्।

उत्तरी धादिङको ग्रामिण परिवेश, स्वच्छ वातावरण, रमणीय परिवेश, गणेश हिमालको काखमा नाच्ने तामाङ परिवारमा गरिबी थियो तर परिवारमा सद्भाव र प्रेमले त्यो गरिबीलाई जितेको थियो। जब मियो भाँचिन्छ तब दाइँ बरालिन्छ। भयो त्यस्तै। न्याउलीको आपाको मृत्युपछि परिवारमा छाएको अभाव, दुःख, वेदना, पीडाको वर्णनले पाठकको मनलाई चसक्क बनाउँछ।

 जसोजतो जिन्दगीको यात्रा बढाउँदै गरेकी न्याउलीको दोर्जेसँग विवाह हुन्छ। अब त उपन्यासबाट केही रोचक कुरा आउला भनेर पाठकले अपेक्षा गर्छ। न्याउली र दोर्जेका संवाद, दोर्जे मूल घरबाट अलग भएर बस्ने कार्य, सुखदुःख, मेलापर्म, खोजीमेली गरेर निर्वाह गर्नु पावाङ बासीको मात्र नियति होइन। यो नेपालका हरेक दुरदराजका ग्रामीण बासिन्दाको यथार्थ चित्रण हो।

न्याउली र दोर्जेको पहिलो सन्तान मंगले जन्मिएपछि जिम्मेवारी र अभाव एकैचोटि थपिने कुरा स्वाभाविक थियो। अझ त्यसमाथि दोर्जेमा देखिएको स्वास्थ्य समस्याले उपन्यासलाई अझै दुःखका खाडलतिर धकेल्न खोजेको छनक पाठकले पाउँछ।

अनि के हुन्छ?के हुनु नि, सबै नेपाली गरिब युवाकै जस्तो दोर्जे वैदेशिक रोजगारीका लागि मलेसिया जान्छ। दोर्जे पहिलेदेखि नै रगत छाद्ने गर्थ्यो। यसको सङ्केत उसलाई क्षयरोगले असाध्य गाँजेको जान्दाजान्दै सेते तामाङले स्वस्थ रहेको नक्कली कागज बनाएर पठाएको थियो। दोर्जे मलेसिया गएको पाँचै महिनामा उत्तै बित्यो। न उसको लाश नेपाल ल्याइयो न उसका परिवारले कुनै क्षतिपूर्ति पाए। उपन्यासले सबै कुरा जालझेल र मिलिभगतमा भएको कुराको पर्दाफास गरेको छ।   

रेमिट्यान्सले चलेको देशमा दोर्जेजस्ता हजारौँ नेपाली युवाले विदेशमा प्राण त्यागिरहेका छन्। उनीहरु मरेका होइनन् मारिएका हुन्। उनीहरुलाई मार्ने विदेशी कम्पनी होइन। सेतेजस्ता हाम्रै दाजुभाइ हुन् र मेनपावर कम्पनीको पासो थापेर बसेका मान्छेका व्यापारी दलालहरु हुन्। उपन्यासको पेट बोली वैदेशिक रोजगारका नाममा नेपालबाट युवा बिक्री भइरहेको तीतो यथार्थमाथि झटारो हान्नु रहेको छ।

आफ्नो श्रीमान् दोर्जे विदेशमै मरेपछि न्याउलीको काँधमा आफ्नो र छोराछोरीको जीवन धान्नुपर्ने पहाड थुप्रिन्छ। आर्थिक अभाव र गरिबीको बोझलाई बिसाउने आशासँगै ठगको फन्दामा पर्दै न्याउली पाँच वर्षको छोरालाई आमाको जिम्मा लगाएर 'खुशीको सहर काठमाडौं' भित्रिन्छिन्।

पावाङबाट काठमाडौँ आएपछि न्याउलीले उज्यालो सपना देखेकी थिइन्। तर काठमाडौँका होटल साहु/साहुनीहरूको पटक पटकको चरम शोषण अत्याचार, बिना ज्याला महिनौसम्म काम गर्नुपर्ने अवस्थाले न्याउलीको जीवन झन्झन् दारुण बन्दै जान्छ। सामाजिक अभियन्ता र ठूला भनाउँदाहरूबाटै अनेकौँ पटक बलात्कार र शोषण भोग्नु उनको नियति बनेको छ।  

परिबन्दले आफ्नै अढाइ वर्षे छोरीलाई बालमन्दिरमा दान दिएर निस्कँदा उनी आफैँलाई जिउँदो लाश ठान्छिन्। उनले आइन्दा सोममायाकी आफू आमा हुँ भनी दाबी गर्न र भेट गर्न कहिल्यै नपाउने शर्तमा आफ्नी प्राणभन्दा प्यारी छोरीको केही सुविस्ताको आशामा सदाको निम्ति बाल मन्दिरलाई सुम्पेर एक्लो र रित्तो फर्कनु पर्ने कठोर नियतिले पाठकलाई भावुक बनाउँछ।

धादिङको पावाङ हुँदासम्म न्याउली गणेश हिमालको सुरक्षामा रहेको ठान्थिन्। तामाङ जाति प्रकृतिपूजक हुन्। उनीहरु गणेश हिमाललाई आस्था र रक्षाको प्रतीक मान्छन्। त्यही गणेश हिमालको संरक्षण खोज्छिन् न्याउलीले काठमाडौँमा पनि।  न्याउलीका पीडा पावाङमा पनि उस्तै थिए। काठमाडौँमा त अझ उनलाई क्षतविक्षत बनाइयो। चिरहरण गरियो। जुन हिमाललाई न्याउलीले आफ्नो जीवनको सबैभन्दा पवित्र, संरक्षक, सबैभन्दा शक्तिशाली र सबैभन्दा उच्च ठानिन्, त्यही गणेश हिमालको काखमा न्याउलीको सर्वश्व लुटियो। मानव रुपी नरभक्षीहरुले पालैपालो न्याउलीलाई लुटे, चिथोरे, अङ्गभङ्ग बनाए अनि सतिचूर्ण बनाए।

होटलबाट भागेर खलासी काम गर्ने मायालु विकास भाइ, संस्थामा काम गर्ने सहयोगी नेत्र दाइ र गंगबुमा होटल चलाउने मातापिता जस्तै साहुसाहुनी उपन्यासका सकारात्मक पात्र हुन्। उपन्यास अगाडि बढ्दै जाँदा काठमाडौँमा न्याउलीसँग ठोक्किने सबै पात्र खलनायक मात्र छन्। बरु उनले चीनमा बन्दी जीवन जिउँदा थुप्रै राम्रा पात्र भेट्छिन्।

नवीन तरिकाले कथा पस्कने शैली, थोरै पात्रको उपस्थिति, एउटै रेखाबाट अगाडि बढेको कथा, एक परिच्छेद सकिएपछि अब के हुन्छ भन्ने कौतुहल, स्थानीय लवजको सजीव चित्रण, न्याउली पात्रप्रतिको अगाध माया, ठाउँ ठाउँमा फुट्ने भक्कानो र अश्रुधार आदिका कारण उपन्यास बेजोड छ। एकपटक सरसर्ती पढेपछि मैले दोहोर्‍याएर पढेँ। उपन्यासमा रहेका हरेक पङ्ति र शब्द शब्दका ओजन र गहन अर्थले दोहोर्‍याउन अझै बढी समय लाग्यो।

 न्याउलीको यथार्थ कहानीभित्र उनले भोग्नुपरेको अन्तहिन ठक्कर र ब्यथाले मन रसाउँदा ती भावनालाई केही लेख्नुपर्छ भन्ने ठानेर यो छोटो समीक्षा लेखेको हुँ। थाहा छैन यो समीक्षाले न्याय पाउँछ कि पाउँदैन तर रुइबा उपन्यासलाई हरेक पाठकले अवश्य न्याय दिन्छन् भन्ने कुरामा चाहिँ खुलेआम भन्न सकिन्छ।

'गरिबीको घनले ठोकेर पहरामा भासिएकी छु। देशको राजधानी, पढेलेखेका सुशिक्षितहरु बसोबास गर्ने ठाउँ, गरिब दुःखीले कहीँ न कहीँ टाउको लुकाउन पाइने छहारी, सबैले काम पाइने अवसरको खानी सोचेँ काठमाण्डूलाई तर, सिन्डेहरु बस्ने ठाउँमा पुगेँछु। गरिबलाई आशाको बल्छी थापेर झिरमा उन्दै सुकुटी बनाउनु सहरको पेशा रहेछ। मनमा कुरा खेलाउन पनि प्रधिबन्ध! उफ…!' (पेज १८३)

न्याउलीको यो नियति र बिलौना कुनै लेखन या पर्दामा सार्वजनिक हुन नपाएका न्याउली झैँ अबोध अरु पनि धेरैजना सोझा, सिधा गरिब महिला पात्रका लुकेर गुम्सिएर बसेका यथार्थ वेदना हुन सक्छन्।

लेखकले विकृत र चरम स्वार्थी सहरी संसारको अमानवीय पक्षहरुलाई न्याउलीपात्र मार्फत उजागर गर्दै आडम्बरी समाज र सभ्यताको नकावलाई छताछुल्ल पारिदिएका छन्।

'आकाशतिर हेर्छु, भगवानका लागि पनि रुन आउँदैन। कसैले नसुन्ने विरहको के अर्थ! रुन आँशु चाहिन्छ तर उजाडिएको ठाउँमा कहाँ पानी उम्रनु?' (पेज २२४)

उपन्यासमा वर्णित उल्लिखित अंशले मान्छेलाई कठोर परिवेश र हण्डरले उजाड बनाउँछ भन्ने कुरालाई प्रतिबिम्बित गरेको छ। चैत्र महिनाको उराठिलो वातावरणमा न्याउलीले विरह गाउँछ। तर उसको विरह कसैले नसुनेमा के हुन्छ? यस्तो प्रश्नको सामना तपाईंले कतै गर्नु भएको छ?

नेपाली समाजबाट ठगिएकी, पिल्सिएकी, पराइ संसारको जेलभित्र कुँजिएकी न्याउली आफूसँगै बन्दी साथीहरुका लागि जतिसुकै सहयोग गर्न पनि पछि हड्दिनन् … 'मसँग भएको सबै पैसा दिन्छु। यहाँ कोही पनि छैन मेरो। के गर्नु र त्यो पैसा!... छन् नि (आमा र बालक छोरा नेपालमा) म पैसा पठाउँन सक्दिन उनीहरुलाई। तिम्रो इच्छा पूरा भयो भने म पनि खुशी हुन्छु। नमरुन्जेल यही जेलमा बस्ने हो। तिमी अर्को महिना छुटेर जाँदैछौ। भएको पैसा लैजाऊ र कत्रो (बन्दी साथीले आफूसँग स्तन ठूला पारी सुन्दरी देखिन खर्चको अभाव रहेको भन्ने कुराकानीको सन्दर्भमा) बनाउन मन लाग्छ बनाऊ।" (पेज २४३)

अनुशासन र शील स्वभावका हिसाबले चिनियाँ जेल प्रशासनबाट समेत पुरस्कृत भएकी यस्ती न्याउली आफ्नै माटोमा भने पातालसम्म भासिएर जिउँदो लाश सरह थलिनुले हामी नेपाली पाठक वर्गलाई नेपाली हुँ भन्नमा समेत लज्जाबोध गराउँछ।

लेखकको लेखनीमा गहिरो वस्तुगत अध्ययन र मौलिकता पाइन्छ। उपन्यासभित्र तामाङ रीतिरिवाज (विवाह, न्वारान, गुन्युचोलो, मृत्यु आदि) का ठेट कुरा र विधिहरुको चर्चामात्र होइन सन्दर्भसँगै चिनियाँ चाडपर्व र मौलिक परम्पराका अनेक पक्षहरुलाई समेत रोचक शैलीमा प्रस्तुत गरिनुले लेखकको खोजी र अध्ययनको व्यापकता र आधिकारिकतालाई समेत स्पष्ट महशुस गर्न सकिन्छ। यो पक्ष यर्थाथवादी लेखनको मेरुदण्ड हो भन्नुमा कुनै अत्युक्ति हुनेछैन।

लेखक र लेखनीका सन्दर्भमा एउटा कुरा धेरै चर्चामा रहेको पाइन्छ। अर्थात् लेखक कस्तो हुनुपर्छ? भन्ने विषयमा विभिन्न भनाइहरु रहेका छन्। कोही भन्छन् 'लेखक आफ्नो लेखनी जस्तै विचार र स्वभावको हुनुपर्छ।' कोही भन्छन् 'लेखक एउटा स्वतन्त्र सर्जक हो। उसले आफ्नो लेखनीमा भनेको या दिन खोजेको सन्देश र ऊ स्वयंको विचार, व्यवहार र स्वभाव अलग कुरा हो। अर्थात् चलचित्रमा कलाकारले फरकफरक र जस्तोसुकै किसिमका भूमिका निर्वाह गर्न सक्छन्। कलाकारको व्यक्तिगत जीवनशैली र विचारसँग यसको कुनै सामिप्य हुन जरुरी छैन।

यसमा कलाकारको भूमिकामा विविधता हुनु विल्कुल स्वाभाविक हो। मेरो विचारमा लेखकीय स्वतन्त्रता र सिर्जनाका विविधताका हिसाबले दोस्रो तर्कलाई पनि सायद नकार्न नसकिने जस्तो लागे पनि लेखक या सर्जक आफ्नो लेखनीको सन्देश जस्तै हुनु या हुन सक्नुको गरिमा, ओज र महत्वलाई इमानदारीको तराजुमा जोख्ने हो भने केवल व्यावसाय, रहर या इच्छापूर्तिका लागि गरिने लेखनीसँग यसको कुनै सकारात्मक तुलना हुन सक्दैन। खासगरी सन्देशमुलक लेखनीको सवालमा।

न्याय र इमानको पक्षमा इमानपूर्वक आफ्नो तर्क र बुद्धि प्रयोग गर्ने वकिलको गरिमा र महत्व सधैँ अतुलनीय र भारी हुन्छ केवल व्यवसायका निम्ति वकालत गर्नेभन्दा। आचार्यको लेखनी र व्यक्तित्वमा सकारात्मक सामिप्य पाइन्छ। उनी नेपाली साहित्यका यथार्थवादी प्रगतिशील सर्जक हुन्।

न्याउली स्वजातीय सेते तामाङबाट अथाह ठगिन्छिन्। उनलाई नर्कमा पुर्‍याउने गरी ठग्न र किचिमिची पार्न स्वजातिका पात्रहरु नै सक्रिय छन्। जातको साइनोभन्दा मानवीय साइनो महान र महत्वपूर्ण हुन्छ भन्ने सन्देश उपन्यासले दिएको छ। सामाजिक विसङ्गति, शोषण, अन्याय, अत्याचारविरुद्ध न्याय र मानवीयताको सन्देश कलात्मक र रोचक शैलीमा पस्कन सफल हुनु आचार्यको लेखकीय व्यक्तित्वको लोभलाग्दो आयाम हो।

यस सन्दर्भमा केलाउनु पर्दा आफूले चिनेको लेखक चेतनाथ आचार्य मेरा नजरमा आफ्ना सिर्जनाहरु मार्फत समाज र संसारलाई जे जस्तो सकारात्मक सन्देश दिन खोज्छन् त्योभन्दा आफूलाई पृथक नराखेर भनाइ र गराइमा सामन्जस्य राख्न मन पराउने, आफ्नो व्यवहारबाटै सबैलाई अचम्ममा पारिदिने परिवर्तनकारी विचारका संवाहक हुन्। स्वभावले स्पष्टवादी, ज्यादै परिश्रमी र संकट र अफ्ठ्यारो बेलामा सहयोगी बनेर आउन रुचाउने उदार भावना भएका एक असल मित्र हुन्।

आफूहरु तीन दशक अगाडि एउटै घरमा डेरा गरी बस्दा या एउटै विद्यालयमा शिक्षण कार्य गर्दादेखि हालसम्म विभिन्न प्रसङ्गमा आफूले प्रत्यक्ष महशुस गरेका सन्दर्भहरु स्मरण गर्दा एकसाथ आनन्द र गौरवको भाव सञ्चार हुने गर्छ।

फिनिक्स बुक्सले प्रकाशन गरेको २६२ पृष्ठको रुइबा समय मिलेमा एकै बसाइमा पढेर सकिने कृति हो। उपन्यासको नाम रुइबा रहेको बारेमा मैले यहाँ चर्चा गरिन। यो त तपाईं आफैँ उपन्यास पढेपछि छर्लङ्ग हुनहुनेछ।

अथक मेहनत र कौसलका साथ नेपाली साहित्य जगतलाई यस्तो ओझिलो र मन रसाउने उपहार प्रदान गर्ने प्रतिभाशाली सर्जक मेरा पुराना र अनन्य मित्र चेतनाथ आचार्यलाई धेरै धरै बधाई!

जेलबाट न्याउलीको शिघ्र मुक्ति अनि बर्षौँ अघि एक अविवाहित उदार जर्मन महिलाको संरक्षणमा जर्मनी पुगेकी छोरी सोममाया (बाल मन्दिरबाट छुटाएर) साथै गाँउमा छाडेर गएका (त्यो बेला ५ वर्षीय) छोरा मंगले र आमासँग चाँडै पुनर्मिलनको कामना!!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell