PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

मनसुन छिट्टै सक्रिय भए पनि देशभर ४५ प्रतिशतमात्र रोपाइँ, मलको अभाव मुख्य कारण



सरला सुवेदी

मनसुन छिट्टै सक्रिय भए पनि देशभर ४५ प्रतिशतमात्र रोपाइँ, मलको अभाव मुख्य कारण

काठमाडौं : मनसुन छिटै सक्रिय भएकाले देशभर यतिबेलासम्म आधाभन्दा बढी रोपाइँ भइसक्ने अनुमान थियो। तर यो वर्ष देशभर मात्र ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यसपटक किसानले बेलामा पर्याप्त मल नपाएकाले रोपाइँ ढिला भएको हो। सरकारले छिटो मल भित्र्याउने र सहज वितरण हुने दाबीअनुसार काम नगर्दा असर रोपाइँमा परेको हो। मनसुन केही ढिला सुरु भए पनि गत वर्ष यही अवधिमा रोपाइँ ५५ प्रतिशत पुगेको थियो।

कृषि मन्त्रालयले असार १५ पछि रासायनिक मल सहज हुने भनेको थियो। तर, असार सकिन एक साता बाँकी रहँदासम्म मल वितरण सहज हुन सकेको छैन।

सरकारले परम्पारागत तरिकाले फेरि साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीलाई मल भित्र्याउने जिम्मा दिएको छ। मुलुकलाई आवश्यकमध्ये ७० प्रतिशत कृषि सामाग्री र ३० प्रतिशत साल्ट ट्रेडिङले भित्र्याउने भएका हुन्। साल्ट ट्रेडिङले २ वर्षपछि मल ल्याउन लागेको हो। अघिल्ला दुई वर्ष आयातको कोटा पाए पनि टेन्डर खुलाउँदै महँगो भनेर चुपचाप बसेको थियो।

यतिबेला साल्ट ट्रेडिङ कर्पोरेसनले करिब ४२ हजार मेट्रिक टन युरिया र डीएपी मल ग्लोबल टेण्डरमार्फत आयात गरिरहेको छ। जसमा २० हजार टन डीएपी केही दिनअघि ल्याएर वितरण भइसकेको जनाएको छ। बाँकी २२ हजार टन युरियामध्ये अधिकांश आइसकेको कृषि मन्त्रालयले जनाएको छ।

साल्ट ट्रेडिङले कोलकाता बन्दरगाह हुँदै ल्याएको युरियामध्ये केही मात्र आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए। 'लोड, अनलोड र ढुवानीका कारणले तोकिएको समयमा मल आउन नसकेको हो,' उनले भने, 'आएका मल प्रदेशअन्तर्गत वितरण भइसकेकाले यसपटक पोहोरपरार जस्तो अभाव चुलिएको छैन।'

बर्खे बाली अर्थात धान रोप्ने समयको लागि करिब १ लाख २० हजार मेट्रिक टन मल आवश्यक पर्छ। अब कृषि सामाग्री कम्पनी लिमिटेडले पनि साउन पहिलो साता भित्रिने गरि ३० हजार मेट्रिक टन युरिया ल्याउन लागेको छ। यतिबेला कृषि सामग्रीसँग ५ हजार मेट्रिक टन युरिया, ११ हजार मेट्रिक टन डीएपी र ६ हजार टन पोटास स्टक छ।

अहिले करिब ८० देखि ९० हजार टन मल व्यवस्थापन हुने देखिएको उनको भनाइ छ। ग्लोबल टेण्डरमार्फतका अरु पनि मल पाइपलाइनमा छन्। चालु वर्षका लागि १ लाख ४२ हजार मेट्रिक टन ल्याउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।

जीटुजी प्रक्रियामै

कृषि मन्त्रालयले साउनको पहिलो हप्तामा जीटुजीमार्फत सौदाबाजी भएको मल आइपुग्ने जानकारी गराएको थियो। यो वर्ष करिब डेढ लाख मेट्रिक टन मल ल्याउने प्रतिबद्धता गरे पनि हालसम्म जीटुजी प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। मल आउन अझै समय लाग्ने देखिएको प्रवक्ता सन्जेलले बताए।

कृषि मन्त्री पटक पटक भारत गए पनि जिटुजी अन्तर्गतको मल भने अहिलेसम्म प्रकृयामा नै छ। फागुनदेखि नै भित्र्याउने प्रक्रियामा काम भइरहेको जनाएको मन्त्रालयले ४ महिना बितिसक्दा पनि बर्खे बालीका लागि मल ल्याउन सकेको छैन। गत वर्ष रासायनिक मलको यति धेरै अभाव थिएन। तर यो वर्ष ग्लोबल टेण्डरमा आयात गरिने मल महँगो पर्ने भएकाले कृषि मन्त्रालयले भित्र\याउन हतार गर्निको साटो ढिला हुने बहाना पारिरहेको सरोकारवालहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell