PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

माओवादी र एकीकृत समाजवादी यति चाँडै एक हुने भए पार्टी किन फुट्थ्यो? मान्छेहरु भावनामा बग्छन्: श्रममन्त्री कुँवर [वार्ता]



प्रकाश भण्डारी

माओवादी र एकीकृत समाजवादी यति चाँडै एक हुने भए पार्टी किन फुट्थ्यो? मान्छेहरु भावनामा बग्छन्: श्रममन्त्री कुँवर [वार्ता]

नेकपा (एकीकृत समाजवादी) ले जेठ २२ गते पार्टीका मन्त्री फेर्ने निर्णय गरे पनि सहजै कार्यान्वयन भएन। मन्त्रीले तत्काल फिर्ता हुन मानेनन्। अर्कोतिर पार्टीका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्णय कार्यान्वयन नगरे गठबन्धन टुटाउने चेतावनी दिए। पार्टीमा देखिएको किचलोका कारण तीन हप्ता कुर्नुपरेको थियो नयाँ मन्त्रीले शपथ लिन। कमजोर पर्फमेन्स र आलोपालो मन्त्री हुने पार्टीको सहमतिलाई फिर्ता बोलाउनुको कारण देखाएको थियो एकीकृत समाजवादीले। केही समय मन्त्री फिर्ता बोलाएको किचलोको उल्झनमा पर्‍यो पार्टी। आफ्ना मन्त्रीले सरकारमा रहँदा राम्रो काम गर्न नसकेको एकीकृत समाजवादीले बताउँदै आएको छ। अहिले सरकारमा सहभागी भएका मन्त्रीलाई अध्यक्ष माधवकुमार नेपालले पार्टीको नीतिअनुसार काम गर्न निर्देशन दिइसकेका छन्। चुनावसम्मको छोटो अवधिका लागि मन्त्री बनेका छन् शेरबहादुर कुँवर। एकीकृत समाजवादीकै नेता किसान श्रेष्ठले सम्हाल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा असार १३ गते यता कुँवर छन्। मन्त्री भएपछिको योजना र निर्वाचनबारे कुँवरसँग गरिएको कुराकानी:-

छोटो समयका लागि मन्त्री हुनुभएको छ, योजना के छन्?

पहिलो त केही नीतिगत सुधार गर्न सकिन्छ कि भन्ने लागेको छ। जस्तै सामाजिक सुरक्षा कोषको दायरा बढाउने। अहिले सामाजिक सुरक्षामा जुन श्रमिकहरूलाई ल्याइएको छ अझै पनि त्यसको क्षेत्र विस्तार गर्दै वैदेशिक रोजगारीमा जानुभएका दाजुभाइलाई पनि सामाजिक सुरक्षा कोषको दायरमा ल्याउँदा खेरी अझै श्रमको सुरक्षा हुन सक्छ भन्ने लाग्छ। वैदेशिक श्रमिकलाई कसरी सुरक्षित राख्ने उनीहरूलाई तोकिएको ज्याला कसरी दिलाउने भन्नेमा केन्द्रित छौँ। दोस्रो स्वरोजगारलाई प्रवर्द्धन गर्नेगरि पनि हामीले अगाडि बढ्नुपर्छ। कहाँ-कहाँ रोजगारी सिर्जना गर्न सकिन्छ ती कुरामा पनि केन्द्रित हुनुपर्छ। तेस्रो भनेको विदेशमा सीप सिकेर आएकालाई देशभित्रै कसरी रोजगारीमा लगाउने भन्ने हो। विदेशबाट पुँजी पनि ल्याएको छ भने त्यो पुँजीको पनि व्यवस्थापन गरिदिने र लगानीका क्षेत्र देखाइदिने। खाली सीप मात्रै छ भने सीप अनुसारको उद्यमशीलता चाहेको हो वा रोजगारी चाहेको हो त्यसको खोजी गरिदिनेतिरनै लाग्ने छौँ।

ठ्याकै काम चाहिँ के गर्नुहुन्छ नीतिगत सुधारको कुरा मात्रै गरेर त हुन्न होला?

सबैभन्दा ठूलो कुरा त नीतिगत सुधार नै हो। तत्कालै श्रम मन्त्रालय अन्तर्गत गर्न सक्ने कामका बारेमा हामी छलफलमा जुटिरहेका छौँ। जनताले देख्नेगरि हामी के काम गर्न सक्छौँ भन्नेबारेमा छलफल भइरहेको छ। विदेशमा रहेका दाजुभाइ जो अङ्गभङ्ग भएका छन् उनीहरूको सुरक्षा बीमाको लागि के गर्ने भनेर पनि जुटिरहेका छौँ। नेपाल सरकारले बीमाको व्यवस्था त गरिदिएको हुन्छ तर बीमा गर्ने जिम्मेवारी त नेपालको मात्रै होइन। जुन देशले रोजगारी दिन्छ त्यो देशको सरकार त्यो देशका कम्पनीहरूको पनि त हुन्छ। हामीले विभिन्न देशका राजदूतहरुसँग छलफल गरेका थियौँ र हामीले यी कुरा पनि दर्साएका छौँ। मेरो विचार त के छ भने वैदेशिक रोजगारीमा जानुभएका दाजुभाइसँग मन्त्रीले प्रत्यक्ष संवाद गर्नु पर्छ कि जस्तो लागेको छ डेस्क नै बनाएर। समस्या आइसकेपछि कहाँ के छ अर्को दिनदेखि त विभागले तयारी गर्नुपर्ला। मन्त्रालयमा यसबारेमा छलफल गरिरहेका छौँ।

मन्त्री भएपछि मुख्य समस्या के देख्नु भयो त?

समस्याको त थुप्रो नै छ। सामाजिक कोष अन्तर्गत आफ्नै देशमा करार सम्झौतामा रहेका दाजुभाइलाई सामाजिक सुरक्षा अन्तर्गत ल्याउन सकेका छैनौँ। धेरैजसो वैदेशिक रोजगारीको समस्या छ। यहाँबाट म्यानपावरले लिने कम्पनीहरूले पनि म्यानपावरसँग सम्झौता गर्ने पछि सम्झौता अनुसारको तलब नदिने। सुरक्षाको कुरा छन्। कयौँ आकस्मिक दुर्घटनाको कुरा छन्। कयौँ नेपाली बिरामी भएर हस्पिटलाइज भएका छन् उनीहरूको औषधि उपचारको पनि समस्या छ। समस्याको त चाङ छ। ती समस्या कति समाधान गर्न सकिन्छ हाम्रो कार्यकालमा भनेर लागिरहेका छौँ।

प्रधानमन्त्री रोजगार कार्यक्रम पनि छ त्यसले झारा टार्ने काम मात्रै गर्‍यो भन्ने पनि छ, त्यसलाई के गर्ने?

प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्दाखेरि आकर्षक देखिएको हो। त्यो कार्यक्रम कसरी लागू भएको छ भनेर त हामीले देखेका छौँ नि। सामान्य झारा टार्ने काम भएका छन्। अलीकती ढुङ्गा पन्छाएर मात्रै उपयोग भएको देखिन्छ। त्यसलाई अझ व्यवस्थित गर्ने। उक्त कार्यक्रमसँग जोडिएकाको सुरक्षा र सहजीकरण होस्। कोषको पनि राम्रो सदुपयोग होस्। यसबारेमा छलफल गरिरहेका छौँ।

चुनावको मितिका लागि निर्वाचन आयोगले परामर्श दिएको छ। एकीकृत समाजवादीका लागि चुनाव कस्तो होला?

यही गठबन्धनलाई निरन्तरता दिने भन्ने नीतिगत सहमति भएको छ। कार्यान्वयनमा समस्या आएन भने गठबन्धनलाई प्राथमिकता दिएर अगाडि बढ्छौँ। तर, स्थानीय तहमा हाम्रा भोगाइ पनि छन्। एक खालको नराम्रो परिणाम पनि भोगियो। त्यसले पनि हामीलाई पाठ सिकाएको छ। हामी गठबन्धनप्रति बढी नै भर परेऊँ। वडावडा तहसम्म पनि हामीले आफ्ना उम्मेदवार उठाउन सकेनौँ। कहाँ उम्मेदवार गठबन्धनले उठाउने हो भन्ने वैशाख १२ गतेसम्म पनि माथिको निर्णय तलसम्म आउँदै थियो। हामीले तयारी नगरेको हुँदा कतिपय ठाउँमा गठबन्धनका अरू दलले वडामा सदस्यसम्म नदिने वातावरण भयो। यसले नकारात्मक अनुभव भएको छ। आगामी चुनावमा कसरी जाने भनेर हामीले सल्लाह गरिरहेका छौँ। हाम्रो पार्टीले गठबन्धनबाहिर पनि गठबन्धन गर्न सक्ने भन्ने नीति पनि पास गरेको छ। सबैको सहअस्तित्वका आधारमा गठबन्धन हुन्छ। कसैसँग लत्रिएर जाने कुरो हुँदैन।

माओवादी र एकीकृत समाजवादी एकता गर्ने कि भन्ने छलफल पनि भइरहेको छ नि हैन?

यति चाँडै कम्युनिस्ट पार्टी मिल्ने भए त पार्टी नै फुट्दैन थियो। भएका पार्टी त फुटाएका छन्। मान्छेहरु भावनामा बग्छन्। २०७५ जेठ ३ गते नेकपा बन्दाखेरि त्यो सुखद् समाचार थियो। पार्टी एकता हुँदाखेरि विभिन्न आधार हुन्छन्। सैद्धान्तिक,वैचारिक र नीतिगत आधार हुन्छन्। ती आधारमा टेकेर पार्टीको मिलान गर्नुपर्छ। खाली क्षणिक रूपमा पार्टीको मिलानलाई सत्तामा पुग्ने सिँढी मात्रै बनायौँ भने त्यसले राम्रो परिणाम ल्याउँदैन। दुई तिहाइ टिकाउन सकिएन। नेतृत्व तिनै हुन्। त्यो अहङ्कार अहिले पनि गएको छैन। त्यसैले नेताहरूले पहिला हामीले के गल्ती गरेउँ भन्ने बुझ्नुपर्‍यो। सहअस्तित्वका आधारमा जनतालाई केन्द्रमा राखेर पार्टी एकताको प्रक्रियालाई अगाडि बढायौँ भने त्यो दीर्घकालीन हुन्छ। एकताको सम्भावना म देख्दिनँ तत्कालका लागि।

तपाईं मन्त्री बन्ने बेलामा पार्टीको निर्णय विवादमा पर्‍यो। पार्टी गठनको वर्ष दिन नपुग्दै एकीकृत समाजवादीमा पनि यस्तो छ?

पार्टीले पुरानो टिमलाई फिर्ता पठायो र हामीलाई सरकारमा पठाउने काम गर्‍यो। केही साथीहरूले त्यसलाई अस्वाभाविक ठाने। पार्टीले मलाई एक महिनामा फर्कायो भने पनि मैले फर्कनु पर्‍यो। हामी पार्टीभन्दा पनि ठूला हौँ भन्न थालियो भने पार्टी कसरी चल्छ? क्षणिक समयका लागि त त्यसले मार्केट पाउला।

निर्वाचन आयोगले चुनावको मिति प्रस्ताव गरेको छ, सरकारले कहिलेलाई तोक्छ चुनावको मिति?

निर्वाचन आयोगले आफ्नो सुझाव दिएको छ। मंसिरभन्दा उता त लानै हुँदैन भन्ने राय दिएको छ। मिति तोक्ने बारेमा त छलफल भएको छैन। छलफल गरेपछि त्यसबारेमा निचोडमा पुगिएला।

प्रधानमन्त्रीको धारणा कस्तो पाउनुभएको छ अबको चुनावका लागि गठबन्धनबारे?

प्रधानमन्त्री देउवा गठबन्धनप्रति इमानदार हुनुहुन्छ। उहाँका अभिव्यक्ति गठबन्धन टिकाउनेप्रति नै केन्द्रित छन्। गठबन्धन नगर्ने काम गर्नु भएको छैन। उहाँको पार्टीको आन्तरिक विषय छ अब त्यो त छलफल हुन सक्छ। कसैले गठबन्धन गरौँ भन्ला कसैले नगरौँ भन्ला। कम्युनिस्ट फुटेका बेला हामी जित्छौँ भन्ला। ती साथीहरूलाई के भन्न चाहन्छु भने २०७४ सालको चुनाव हेरे हुन्छ नि त।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell