PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

नेपालप्रति चिनियाँ चासो  र प्राथमिकता : सीपीसीका विदेश विभाग प्रमुख काठमाडौंमा



पहिलोपोस्ट

नेपालप्रति चिनियाँ चासो  र प्राथमिकता : सीपीसीका विदेश विभाग प्रमुख काठमाडौंमा
तस्विर : रासस

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश सम्पर्क विभागका मन्त्री लिउ चियाचाओ नेपाल आइपुगेका छन्। आज बिहान १० बजे एयर चाइनाको विमान मार्फत् उनी ८ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं ओर्लिएका हुन्। गत मे महिनामा विभागको प्रमुखमा नियुक्त भएपछिको उनको यो पहिलो नेपाल भ्रमण हो। 

विभाग प्रमुखमा नियुक्त भएसँगै उनले नेपालका राजनीतिक दलका प्रमुखसँग भर्चुअल बैठक गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', परराष्ट्र मन्त्री एवं कांग्रेस नेता नारायण खड्कासँग भर्चुअल बैठक गरेका थिए लिउले।

नेपाल भ्रमणका क्रममा उनले काठमाडौं स्थित चिनियाँ दूतावासका अधिकारीहरुबाट नेपालको राजनीतिक अवस्थाका बारेमा रिपोर्टिङ लिएका छन्। विदेश सम्पर्क विभागका मन्त्री  लिउले आज दिउँसोबाट राजनीतिक भेट गर्नेछन्। 

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम  रहेको छ। त्यस्तै मन्त्री लिउले एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासँग भेट गर्नेछन्। 

यस्तै, उनले परराष्ट्र मन्त्री खड्कासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। चार दिनकालागि नेपाल आएका उनले नेपालको  पछिल्लो राजनीतिक अवस्था, दुई देशबिचको सम्बन्ध, नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको अवस्था, एमसीसी पारित भएपछि  एसपीपीको अवस्थाका बारेमा ब्रिफिङ लिने छन्।

उनले बेइजिङ फर्केपछि सीपीसीका महासचिवसमेत रहेका चिनियाँ राष्ट्रपति सि चिनफिङलाई नेपालबारे रिपोर्टिङ गर्नेछन्। 

चीनले नेपालमा बीआरआई फ्रेमवर्क अन्तर्गतका परियोजना अगाडि बढाउनेबारे नेपाल सरकारको धारण र प्रतिबद्धता बुझ्ने छन्। यसअघि नेपाली नेताहरुसँगको भर्चुअल  वार्ताका क्रममा पनि उनले बीआरआईबारे चासो व्यक्त गरेका थिए। परराष्ट्र मन्त्रीसँगको छलफलमा बीआरआईमा नेपालको प्रतिबद्धता खोजेका थिए। तर, मन्त्री खड्काले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन्।  


सम्बन्धित समाचार:
बीआरआई कार्यान्वयनबारे चिनियाँ चासो : नेपाल मौन रहँदा चीन थप सशंकित


नेपालमा  अमेरिकी सहयोग निकाय एमसीसीसँग भएको एमसीए कम्प्याक्ट संसदबाट अनुमोदन भइ कार्यान्वयनमा जानु र एमसीसीभन्दा अगाडि समझदारी पत्रमा हस्ताक्षर भएको बीआरआई अन्तर्गतका परियोजना सुरु नहुँदा चीन सशंकित छ। 

यही शंकाकाबिच चिनियाँ नेताले नेपाल भ्रमण रोज्नुले चिनियाँ चासो र प्राथमिकतालाई प्रष्ट पारेको छ। अर्कोतिर यसै वर्षको अक्टोबरमा सीपीसीको  २० औं राष्ट्रिय कंग्रेस हुँदैछ। मन्त्री लिउको यो भ्रमणले नेपालप्रतिको चिनियाँ धारणा निर्माण गर्ने बताइएको छ। असार १६ गते परराष्ट्रमन्त्रीसँगको छलफलका क्रममा  उनले कंग्रेसबारेसमेत कुरा गरेका थिए।

सीपीसी विदेश विभागले यसैवर्ष आयोजना हुने राष्ट्रिय कंग्रेसले चीनको विकासका लागि नयाँ मार्गचित्र कोर्ने र यसले नेपाल नेपाल-चीन सम्बन्ध, नेपालको विकासका लागि समेत नयाँ प्रेरणा प्रदान गर्ने जनाएको छ। 

त्यस्तै लिउले भ्रमणका क्रममा नेपालका वाम शक्तिलाई एकताका लागि आह्वान गर्नसक्ने बुझिएको छ। यसअघि ओली र प्रचण्डसँगको भर्चुअल बैठकपछि विदेश विभागले वक्तव्य जारी गर्दै  सीपीसी, माओवादी केन्द्र र एमाले समान विचार बोकेका पार्टी भएको भन्दै अन्तरपार्टी सम्बन्धलाई मजबुत बनाउँदै 'पार्टी प्लस' साझेदारी बढाउन चाहेको उल्लेख छ। साथै भर्चुअल बैठकपछि माओवादी केन्द्र र एमालेले सीपीसीसँग आदान-प्रदान तथा साझेदारी सम्बन्धी एमओयुमा हस्ताक्षर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell