PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सरकारको कामबारे गम्भीर समीक्षा गर्नुपर्ने कोइराला पक्षको निष्कर्ष



पहिलोपोस्ट

भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सरकारको कामबारे गम्भीर समीक्षा गर्नुपर्ने कोइराला पक्षको निष्कर्ष
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : सत्तारुढ नेपाली कांगेसको शेखर कोइराला पक्षले भोलिबाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ। आइतवार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा केन्द्रीय समिति बैठकमा गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिए। कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ।

त्यसैगरी, पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको असन्तुष्टि छ। स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई वृहत्त  बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए।

उनले भने, ‘भोलिदेखि केन्द्रिय समिति बैठक हुँदैछ। त्यो बैठकमा समीक्षा, चाँहे स्थानीय तह निर्वाचनको होस्, वा सरकारको समीक्षा होस्। यसले ल्याएको बजेटले पारेको असरको बारेमा होस्। पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरुमा पनि केन्द्रीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी मजदुत बनाउने, आगामी चुनावमा काँग्रेस कसरी जाने? र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रुपमा पार्टीलाई फाइदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो।’

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय गरेको छ। पार्टीको भातृ संस्था र विभागहरुलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा आफूहरुबिच छलफल भएको नेता भण्डारीले बताए।

बैठकमा पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा, नेता डा रामशरण महतलगायतको सहभागिता रहेको थियो। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको कोइराला पक्षको आरोप छ।

पार्टीको विधानअनुसार विभागहरु समेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ। कांग्रेस केन्द्रीय समितिको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell