PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

१७ वर्षअघिको त्यो अन्तर्वार्ता जसले प्रियंकालाई प्रेरित गरायो मिस नेपाल बन्न



लक्ष्मी बलायर

१७ वर्षअघिको त्यो अन्तर्वार्ता जसले प्रियंकालाई प्रेरित गरायो मिस नेपाल बन्न

काठमाडौं : विस २०६२/६३ ताका। देशमा प्रजातन्त्र पुन:स्थापनाको लागि जनआन्दोलन चर्किँदो थियो। राजा ज्ञानेन्द्रको शासन अन्त्यको लागि सडकमा जनता उर्लिएका थिए। जसकारण राजा ज्ञानेन्द्रले देशमा संकटकाल घोषणा गरे। संकटकालले दैनिकी घरभित्र सीमित रह्यो। रेडियो र टेलिभिजन हेरेरै दिन कटाउनुपर्ने।

एकदिन प्रियंका रानी जोशी नेपाल टेलिभिजन हेरिरहेकी थिइन्। उनले टिभीमा सुगारिका केसीको अन्तर्वार्ता पछ्याइन्। सुगारिका त्यसबखतकी मिस नेपाल। अन्तर्वार्ता हेरेपछि सुगारिकाको सोच र विचारले निकै ध्यान तानेछ प्रियंकाको। त्यहीबेलादेखि हो प्रियंकालाई मिस नेपालप्रति मोह जागेको।

अनि त्यसपछि उनले सोच्न थालिन् ‘अहो! मिस नेपाल कस्तो खत्रा प्लेटफर्म रहेछ। मिस नेपाल भएपछि त कस्तो मज्जाले बोल्न सकिदो रहेछ।’

+++

फिनालेमा विजेता घोषित सुरू हुनुअघिको समय। मञ्चमा लहरै उभिएका थिए - स्मारिका, सुस्मिता, प्रियंका र रोज। जसमध्ये स्मारिका शर्माले ‘ब्युटी विथ प्रपोज’को टाइटल हात पारिसकेकी थिइन्। चार जनाले एकअर्काको हात कसिलो गरि समाते। जब विजेताको नाम घोषणा भयो। अनि निकै भावुक बनिन् प्रियंका। सुरुमा छेउमै रहेकी रोजलाई अँगालो हालिन्। क्रमश: अन्यलाई पनि।

मिस नेपाल बन्दा आत्तिएको अनुभव सुनाउँछिन् प्रियंका। ‘मिस नेपाल बन्दा निकै आत्तियो। एकछिन आँखा चिम्लिए। मेरो जीवन पो परिवर्तन भएछ सोचिदो रहेछ। यतिका वर्षदेखि देखेको सपना साकार भयो भन्ने महसुस हुँदोरहेछ,’ उनले सुनाइन्।

मिस नेपाल बनेसँगै उनी नोस्टाल्जिक हुन पुगिन्। १७ वर्षअघि सुगारिकाको अन्तर्वार्ता हेरेको अनि आमाले मिस नेपाल बन्न प्रोत्साहन गरेको। त्यस्तै, एकदिन मिस नेपाल बन्छु भनेर रातरात पढेको। यी सबै कुरा झलझली याद आउन थाले। तर छिट्टै उनी वर्तमानमा फर्किइन्।

आमाबुवा मञ्चअगाडि पाउँदा प्रियंकाको खुसी दोब्बर भयो। त्यसैले उक्त क्षणलाई प्रियंका जीवनकै मिठो समयको रूपमा लिन्छिन्। ‘विजेता घोषित गरेको समय मेरो लागि विगतको सम्झना र वर्तमानको वास्तविकता जोड्ने मिठो पल हो। जुन जिन्दगीभर अविस्मरणीय हुनेछ।’

पूर्ण तयारीका साथ मिस नेपालमा

अनामनगरमा जन्मेकी २४ वर्षीया प्रियंका हाल ललितपुरको गोदावरीमा बस्छिन्। प्रियंकाको लक्ष्य कहिल्यै एउटै भएन। कहिले डान्सर त कहिले सिगंर बन्न मन लाग्ने। शिक्षक अनि डाक्टर बन्न पनि राम्रै लाग्ने। सन् २००५ देखि मिस नेपालको सपना पनि थपियो।

‘मेरो एउटै लक्ष्य कहिल्यै भएन। बेलाबेला लक्ष्य परिवर्तन भइरहने। दश कक्षामा पासआउट हुँदा स्कुलको वार्षिक म्यागेजिनमा एरोनटिकल इन्जिनियर बन्छु भनेर लेखेकी थिएँ,’ प्रियंकाले भनिन्।

प्रियंकाको बुवाआमाको गरगहनाको व्यवसाय छ। उमेर बढ्दै जाँदा उनी बुवाआमाकै व्यवसायमा सघाउन थालिन्। मिस नेपाल हुन्छु भन्ने लक्ष्य थियो तर पनि पारिवारिक व्यवसायमा व्यस्त हुन थालिन् उनी। पारिवारिक व्यवसायलाई सम्हाल्नकै लागि प्लस टु मा व्यवस्थापन संकायमा भर्ना भइन्।

तर प्रियंकाको मनमा मिस नेपाल बन्ने हुटहुटीले डेरा जमाइसकेको थियो। मिस नेपालमा भाग लिन शैक्षिक रुपमा दक्ष र  वैचारिक रूपमा सक्षम भएर आउनुपर्छ भन्ने थाह थियो उनलाई। त्यसैले उनले मोडलिङसमेत सुरू गरिन्। साथै आफूलाई फरवार्ड बनाउन स्नातकमा पत्रकारिता अध्ययन गरिन्।

‘मिस नेपालमा जान नेटवर्किङ चाहिन्छ भन्ने थाहा थियो। मैले मोडलिङमा पनि काम गरे। सन् २०१६ मा 'कर्मसियल एम्बास्डर'को टाइटल पनि जितेकी छु। साथै एकवर्ष मिडिया सेक्टरमा इन्टर्नसिप पनि गरे जसले मलाई क्यामेरा फेस गर्न र आत्मविश्वास बढाउन सहयोग गर्‍यो,’ उनले सुनाइन्।

स्नातकको पढाई अनि मोडलिङ र मिडियाको अनुभव बटुलेपछि मात्रै उनले मिस नेपालको आवेदन भरिन्। अनुभव बटुलेर पुरा तयारीका साथ मात्रै मिस नेपालको जंग लड्न आएको प्रियंकाको भनाई छ।

मिस नेपाल प्लेटफर्मलाई सिक्ने यात्राको रूपमा लिन्छिन् उनी। अन्य प्रतिस्पर्धीहरूबाट राम्रा कुराहरू सिकेसँगै आफैसँगको आन्तरिक प्रतिस्पर्धा सुरू हुने भएको उनको तर्क छ। गल्तीहरूलाई स्विकार गरेर छिट्टै सुधार गर्ने बानीका कारण आफूले मिस नेपालको टाइटल जितेको दाबी छ उनको।

मिस नेपाल जितेसँगै आएको परिवर्तन

मिस नेपाल बनेसँगै आफूमा धेरै परिवर्तन आएको प्रियंकाको भनाई छ। भन्छिन्, ‘पहिले घरकी छोरी थिएँ। तर अब नेपालकी छोरी भएकी छु। मिस नेपाल भएपछि आफ्नो लागि भन्दा देशको लागि सोच्नुपर्छ। नेपाललाई अन्तर्राष्ट्रिय मैदानमा कसरी तगडा रूपमा प्रस्तुत गर्ने मानसिकता हुँदोरहेछ। साथै सोच पनि फराकिलो बनेको छ। मिस नेपालको प्लेटफर्ममा उभिएपछि जनचेतनाको स्तरमा वृद्धि भएको छ।’

मिस नेपाल हुनेबित्तिकै चुनौती पनि थपिएको छ उनमा। पब्लिक फिगर भइसकेपछि धेरै कुरामा ध्यान दिनुपर्ने बताउँछिन् प्रियंका। ‘मिस नेपाल बनेपछि रातारात जीवनीले फड्को चाँहि मार्दैन। तर यात्रामा धेरै आँखाहरू जोडिदै जान्छन्। जसले गर्दा पहिले बाटोमा हिड्दा त्यति ध्यान दिइदैन्थ्यो भने अब धेरै विचार गर्नुपर्छ। अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकरात्मक पाटोहरू देखाएर कसरी नेपाललाई ग्लोबल म्यापमा चिनाउन सकिन्छ भन्ने चुनौती हुन्छ।’

यौन दुर्व्यवहार सबै ठाउँमा छ

धेरैले सौन्दर्य प्रतियोगितालाई सुन्दरतासँग मात्र जोडेर हेर्छन्। तर प्रियंका भने मिस नेपालले बाहिरी रूप नहेरेर भित्री सुन्दरता हेर्ने गरेको सुनाउँछिन्।

‘नाम नै सौन्दर्य प्रतियोगिता भएपछि सुन्दरता एउटा पाटो होला। तर मिस नेपालमा बाहिरी रूपले मात्रै होइन भित्री रूपले पनि हेरिएको हुन्छ। सुन्दरता विषयपरक कुरा हो। मलाई राम्रो लागेको कुरा अरूलाई नराम्रो पनि लाग्न सक्छ। तपाईको सोच र कसरी त्यो सोचले अरूलाई प्रभावित पार्न सकिन्छ त्यसले तपाईको सौन्दर्य देखाउँछ,’ उनले भनिन्, ‘मिस नेपाल भित्री रूप कस्तो छ भनेर हेर्ने एउटा बाटो हो। हामीले समाजलाई कसरी बुझेका छौँ। समाजलाई आफूसँगै लगेर कसरी अगाडि हिड्न सकिन्छ बुझाउनु सोन्दर्य प्रतियोगिताको मुल भाव हो।’

केही समय अघि एक युवतीले आफूमाथि भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक भएसँगै सौन्दर्य प्रतिस्पर्धा विवादित बन्न पुगेको थियो। धेरैले नारीलाई गलत रुपमा प्रस्तुत गरेको भन्दै यस्ता प्रतियोगिता बहिष्कार गर्नुपर्ने बताएका थिए। यस विषयमा प्रियंकाले भने यौन दुर्व्यवहार हरेक क्षेत्रमा हुने गरेको बताउँछिन्। ‘जुन घट्यो त्यो निकै दुखद घटना हो। यौन दुव्यर्वहार सबै क्षेत्रमा हुन्छ। जुन चेतनाको कमीले हुनेगर्छ। यसलाई जरैदेखि हटाउनुपर्ने भएको छ। तर यस्ता घटनाको लागि सौन्दर्य प्रतियोगितालाई मात्रै टार्गेट गर्नुभएन।’

कस्तो छ मिस वर्ल्डको तयारी?

मिस नेपाल बनेसँगै प्रियंका यतिखेर मिस वर्ल्डको तयारीमा लागेकी छिन्। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै कसर नछोड्ने उनको भनाई छ। 

मिस वर्ल्डको टाइटल जित्नका लागि प्रियंकासँग उत्कृष्ट पाँचवटा ‘फास्ट ट्रयाक इभेन्ट’ हरू जित्ने योजना छन्। जसमा मल्टिमिडिया, टप मोडल, ब्युटि विथ प्रपोज, हेड टु हेड च्यालेन्ज लगायतका प्रतियोगिताहरू पर्छन्। जसले टाइटल जित्न निकै सहयोग गर्ने उनले सुनाइन।  

फास्ट ट्रयाक इभेन्टहरू कसरी जित्न सकिन्छ भनेर आफूले ध्यान दिइरहेको सुनाउँछिन् उनी।

‘मिस वर्ल्डमा जानको लागि तयारी तीव्र छ। फास्ट ट्रयाक इभेन्टबाहेक ट्यालेन्ट राउन्ड र स्पोर्ट्स राउन्डमा दरो प्रतिपर्धा गर्ने सोच छ। जसका लागि समसामयिक विषयवस्तुदेखि शारीरिक र मानसिक रुपमा तयारी गर्दैछु। कसरी नेपाललाई उत्कृष्ट देखाउन सकिन्छ भनेर सधैँ कोसिस गर्नेछु। जिते नि नजिते नि आफ्नो उत्कृष्ट दिएर आउँछु भन्ने मनोबल बनाउँछु। मिस वर्ल्डबाट एउटा न एउटा विधा जितेर आउँछु भन्ने आशा छ।’

मिस नेपाल बनेपनि उनलाई आगामी दिनमा भने परिवारकै गरगहनाको बिजनेस सम्हाल्न मन छ। ‘मलाई विदेशमा गएर जेमोलोजी पढ्न मन छ। गरगहनाको बारेमा अध्ययन गरेर नेपालमा गहनाको गुणस्तरता बढाउन मन छ। साथै उपत्याकाका सडक बालबालिकाको क्षेत्रमा काम गर्न मन छ। तर कलाकारिता आउन भने खासै मन छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell