PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

फोहोरलाई मोहोरमा परिणत गर्दै गलकोट नगरपालिका : सञ्चालनमा आयो प्रशोधन केन्द्र



रासस

फोहोरलाई मोहोरमा परिणत गर्दै गलकोट नगरपालिका : सञ्चालनमा आयो प्रशोधन केन्द्र
फाइल फोटो।

गलकोट : स्थानीय तहहरुले फोहोर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहोर प्रशोधन गर्न थालेको छ। गलकोट विकसित शहर भएकाले यहाँ बस्तीको विकास तीव्र गतिमा भइरहे पनि फोहोर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो। नगरपालिकाले यस वर्षदेखि भने फोहोर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो।

बढ्दो सहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेपछि उक्त नगरपालिकाले वडा नम्बर ३ र ९ को सिमानामा पर्ने मसुरखेतमा चार रोपनी जग्गा भाडामा लिएर फोहर प्रशोधन केन्द्र स्थापना गरी फोहर व्यवस्थापन गर्न थालेको छ। नगरपालिकाको पहिलो कार्यकालमै फोहोर प्रशोधन केन्द्र स्थापना गरिएकामा दोस्रो कार्यकाल सुरु भएलगत्तै फोहोर प्रशोधन गर्न थालिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।

‘पहिलो कार्यकालयमा फोहोर व्यवस्थापन निकै चुनौती बन्यो, त्यसैले फोहोर प्रशोधन गर्ने उपकरण खरिद गरिसकेका थियौँ’, उनले भने, ‘दोस्रो कार्यकालको सुरुमै हामीले फोहोर प्रशोधन गर्ने उपकरण सञ्चालनमा ल्याएका छौँ, फोहोर प्रशोधनपछि त्यसलाई बिक्री गर्न सकिन्छ। यसअघि हटिया बजारको फोहोर गौदीखोलामा फालिने गरिन्थ्यो। बजारकै छेउमा फोहोर फाल्दा बजार क्षेत्र नै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहोर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै आएका थियौँ।’

नगरपालिकाले जग्गा अभावमा फोहोरको डम्पिङ साइड खोज्न नसकेपछि जग्गा भाडामा लिएर अहिले फोहोर प्रशोधन केन्द्र स्थापना गरेको हो। फोहोर प्रशोधन केन्द्रमा अहिले धमाधम फोहोर प्रशोधन भइरहेको छ। नगरप्रमुख गैरेले फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर प्रत्येक दिन छुट्टाछुट्टै सङ्कलन गरिँदै आएको बताए। नगरपालिकाले अहिले नकहुहिने फोहोर मात्रै प्रशोधन गर्दै आएको छ।

सो केन्द्रमा अहिले एउटा ट्र्याक्टरबाट फोहोर सङ्कलन गर्ने गरिएको छ। कुहिने फोहोरको मल बनाइनेछ भने नकुहिने फोहोरलाई प्रशोधन उपकरणबाट पेलेर टुक्राउने, धुने र पुनः प्रयोगका लागि बिक्री गरिने भएको छ। फोहोर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहोर प्रशोधनपछि बिक्री गरेर उठाउने लक्ष्य नगरपालिकाले लिएको छ। मुख्य बजार क्षेत्रको फोहोर सङ्कलन गरेर प्रशोधन गरिरहेको र प्रशोधन गरिएको फोहोरलाई बिक्री गर्ने फोहोर प्रशोधन केन्द्र संयोजक तथा पूर्व वडाध्यक्ष वीरजंग भण्डारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell