PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

अनुमति बिना प्याराग्लाइडिङ र ड्रोन नउडाउन नागरिक उड्डयन प्राधिकरणको अपिल, नटेरे कारबाही गर्ने चेतावनी



पहिलोपोस्ट

अनुमति बिना प्याराग्लाइडिङ र ड्रोन नउडाउन नागरिक उड्डयन प्राधिकरणको अपिल, नटेरे कारबाही गर्ने चेतावनी

काठमाडौंः अनधिकृतरूपमा प्याराग्लाइडिङ र ड्रोन प्रयोग गर्नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ। जथाभावी प्याराग्लाइडिङ र ड्रोन प्रयोग गरेका उजुरीहरु बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सेवा प्रदायक र प्रयोगकर्ताको ध्यानाकर्षण गरेको हो।

जथाभावी प्याराग्लाइडिङ र ड्रोन उडानले हवाई यातायातमा प्रतिकूल प्रभाव पर्ने भएकाले निर्देशन जारी गर्नुपरेको प्राधिकरणका एक पदाधिकारीले बताए।

'मेला महोत्सव पारेर वा त्यसै पनि स्वीकृति नै नलिइ प्याराग्लाइडिङ र ड्रोनको प्रयोग बढेको गुनासो आयो। यसले हवाई सुरक्षामा खलल पुग्छ,' उनले भने।

अनधिकृत गतिविधि फेला परेमा कडा कारबाही गर्ने तयारी प्राधिकरणको रहेको जानकारी उनले दिए। 'हामीले बारम्बार चेतावनी दिइरहेका छौं। भरे यही कारणले हवाई उडानमा सानो त्रुटि पुग्यो भने कसले जिम्मेवारी लिन्छ?,'उनले भने।

सभा, सम्मेलन, समारोह तथा महोत्सव स्थलमा उडान गर्न, प्रतिस्पर्धात्मक उडान गर्न, नयाँ व्यवसायिक कम्पनी खोल्नका लागि सम्भावित अध्ययन र गैर व्यवसायिक उडानका लागि अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ।

यसैगरी विभिन्न प्रयोजनका लागि उडान हुँदै आएका रिमोटली पाइलोटेड एयरक्राफ्ट, ड्रोन, फ्लाइङ क्यामरा लगायत उपकरण प्राधिकरणमै दर्ता हुनुपर्छ। निषेधित क्षेत्रमा यस्ता उपकरणको प्रयोग गरेको अवस्थामा कारबाही हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell