PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

गण्डकी रत्नबाट विभूषित भए महावीर पुन, अनुसन्धानका लागि १० करोड छुट्टाइयो



पहिलोपोस्ट

गण्डकी रत्नबाट विभूषित भए महावीर पुन, अनुसन्धानका लागि १० करोड छुट्टाइयो
फोटो : मुख्यमन्त्रीको सचिवालय

पोखरा : गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। आज पोखरामा एक कार्यक्रमका बिच प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुनलाई विभूषित गरेका हुन्।

गत फागुन ४ गते गण्डकी प्रदेश सरकारको चारवर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गरिएको थियो। सो समय पुन देश बाहिर रहेका कारणले आजमात्र उनलाई विभूषित गरिएको हो।

यस्तै, गण्डकी प्रदेशले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा गण्डकीमा अनुसन्धान गर्नका लागि आगामी आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गर्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिएका छन्। प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविष्कार केन्द्र खोलेको छ। उनले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन पुनले चालेको कदमलाई सम्मान गर्दै गण्डकी रत्न प्रदान गरेको बताए।

‘हामीले महसुस गरेका छौँ, समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने छ,’ उनले भने।

सम्मानित भएपछि पुनले अनुसन्धान र विकासको काममा ढिला गर्न नहुने बताए।

‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन,’ उनले भने।

गण्डकी प्रदेशले गण्डकीका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्था मन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो। समितिको कार्यविधि अनुसार तीन जना व्यक्तिलाई गण्डकी रत्नबाट विभूषित गर्ने निर्णय पनि गरेको थियो।

तर, पहिलो पटक गण्डकी रत्न दिँदै गरेकाले समितिले एक जनालाई मात्र छनोट गरेको हो। कार्यविधि अनुसार शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट सम्मान प्राप्त गर्नेछन्।

गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि प्रदेशभित्रका सरकारी अस्पतालमा नि:शुल्क उपचार, विमानस्थलको भीआइपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell