PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुन्छ कि हुँदैन? कांग्रेस प्रवक्ताको यस्तो छ जवाफ



पहिलोपोस्ट

संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुन्छ कि हुँदैन? कांग्रेस प्रवक्ताको यस्तो छ जवाफ
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले उपसभामुखको टुङ्गो लागेपछि संवैधानिक परिषद् सम्बन्धी विधेयकको समाधान हुने बताएका छन्। कांग्रेस केन्द्रीय समितिको बैठकका क्रममा उनले पत्रकारहरुसँग यस्तो बताएका हुन्।

विधेयक फिर्ता हुन्छ या हुन्न भन्नेबारे भने महतले प्रष्ट खुलाएनन्।

उनले भने, ‘उपसभामुखको टुङ्गो लागेपछि संवैधानिक परिषद्सम्बन्धि विधेयकको समाधान हुन्छ। निर्वाचन पनि नहुने अनि कसरी हुन्छ? समस्या समाधान हुने गरि निष्कर्ष हुन्छ।’

महामन्त्री गगन थापाप्रति इंगित गर्दै महतले विरोधका लागि विरोध गर्ने भन्ने काम नहुने बताए।

‘महामन्त्री संसद्मा भएको र सभापतिसँग धेरै छलफल उहाँकै हुन्छ। विरोधका लागि विरोध गर्ने भन्ने काम हुँदैन,’ उनले भने।

महामन्त्री थापाले बिहान एक कार्यक्रममा संवैधानिक परिषद्सम्बन्धि विधेयक फिर्ता हुने बताएका छन्। ललितपुर क्षेत्र नम्बर २ ले इमाडोलमा आयोजना गरेको कार्यक्रममा थापाले उक्त भनाइ राखेका थिए। यस्तै, नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् विधेयक ल्याउँदा कांग्रेस विरोधमा उत्रिएको थियो। हाल सोही अध्यादेशको हुबहु व्यवस्था भएको विधेयक कांग्रेसले पनि ल्याउने तयारी गरेसँग यसको चर्को विरोध भएको छ। कांग्रेसभित्रैबाट यसको विरोध भएको हो।

संवैधानिक परिषद्सम्बन्धि विधेयक हालै राष्ट्रिय सभामा दर्ता भएको छ। अध्यादेश खारेजपछि लामो समयदेखि ऐनका केही प्रावधान शून्य थिए। ति व्यवस्था पुनर्स्थापनाका लागि सरकारले विधेयक संसद्मा ल्याएको हो।

राष्ट्रिय सभामा दर्ता भएको विधेयक यसअघि ओली सरकारले जारी गरेकै अध्यादेशको करिब हुबहु छ। बैठकको गणपुरक संख्याबारे अध्यादेशकै व्यवस्थामा प्रस्तावित छन्। शब्दमा मात्र फरक गरेर ल्याइएको छ। आलीले ल्याएको अध्यादेशमा अध्यक्षसहित कायम रहेका बहुमत सदस्य उपस्थित भएमा गणपुरक मानिने व्यवस्था थियो। विधेयकमा बहुमतको सट्टा ५० प्रतिशत भन्ने शब्द राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell