PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गठबन्धनबारे कांग्रेस प्रदेश सभापतिहरुको ब्रिफिङ : तालमेलको लागि मापदण्ड बनाऔं, हैसियत पनि हेर्नुपर्‍यो नि



नेत्र तामाङ

गठबन्धनबारे कांग्रेस प्रदेश सभापतिहरुको ब्रिफिङ : तालमेलको लागि मापदण्ड बनाऔं, हैसियत पनि हेर्नुपर्‍यो नि

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले ब्रिफिङ गरेका छन्। उनीहरुले प्रदेशमा गठबन्धनको अवस्थादेखि टिकट बाँडफाँडबारे आआफ्नो धारणा राखेका थिए।

लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले गठबन्धन गर्नै नचाहेको बताएका छन्। एकल प्रतिस्पर्धामा नै कांग्रेस सफल भएको उनले बताए।

‘४० वटा स्थानीय तहमा १६ मात्रै जित्यो। माओवादीले गठबन्धन गर्नै चाहेन। लुम्बिनीमा कांग्रेसका लागि एकल प्रतिस्पर्धा नै राम्रो भयो,’ उनले भने।

उनले प्रदेशलाई ‘पंगु’ बनाउने काम भएको भन्दै प्रदेशको औचित्य नभए खारेज गर्न आफूले नेतृत्वसँग भनेको बताए।

‘टिकट बाँड्ने कुरामा हस्तक्षेप भयो। विधि र विधानसम्मत चल्नुपर्छ भन्ने हो। प्रदेशलाई पंगु बनाउने काम भयो। नचाहेको भए खारेज गरे पनि हुन्छ भनेर हामीले भनेका छौं। लेभी पनि हामीलाई ५ प्रतिशतमात्र भयो। ४५ प्रतिशत केन्द्रले लिने। ५० प्रतिशत स्थानीयस्तरमै राख्ने भयो,’ उनले भने।

यस्तै, पुनले बजेट वितरण पनि सम्मानजनक हुनुपर्नेमा जोड दिए। ‘सबैको कांग्रेस हो भन्ने बनाउनुपर्छ। केन्द्रीय समितिले भातृ संस्था बनाउन नसके हामी प्रदेशलाई अधिकार देओस हामी बनाउछौं,’ उनले भने।

बैठकपछि प्रतिक्रिय दिँदै प्रदेश नम्बर १ का सभापति उद्दव थापाले भने गठबन्धनकै कारण कांग्रेस पहिलो पार्टी बनेको बताए। उनले प्रतिनिधिसभा निर्वाचन र प्रदेश निर्वाचनमा पनि गठबन्धन बनाएर जानुपर्नेमा जोड दिए।

‘एक नम्बर नै बनेको छ। यसको कारण गठबन्धन नै हो। कतिपय ठाउँमा गठबन्धन भयो कतिपय ठाउँमा बनेन। गठबन्धनकै जगमा कांग्रेस पहिलो पार्टी बनेको छ। अब आउने चुनावममा पनि ती दलहरूबिच गठबन्धन बनाएर जानुपर्छ,’ उनले भने।

यद्यपि, उनले गठबन्धन व्यवस्थित हुन नसकेको भन्दै संचालनका लागि मापदण्ड बनाउनुपर्ने बताए। त्यसका लागि शीर्ष तहबाटै प्रयास हुनुपर्नेमा उनले जोड दिएका छन्।

‘१ नम्बर प्रदेशमा पहाडी जिल्लामा गठबन्धन सहमतिका आधारमा बन्यो। पहाडमा गठबन्धन बलियो भयो। मधेशमा हुन सकेन। मोरङमा झन फितलो भयो। हाम्रै साथीहरू गठबन्धनको विपक्षमा रहनुभयो। महानगरको कार्यपालिका चुनावमा त्यसको झल्को देखियो। गठबन्धन व्यवस्थित बनाउन सकेनौं,’ उनले भने, ‘अब आउने चुनावमा केन्द्रले मापदण्ड बनाउनुपर्छ, गठबन्धनका दलका नेताहरूबिच छलफल हुनुपर्छ।’

थापाले पार्टी भित्रको समस्या समाधानमा पनि जोड दिए। ‘चुनावपछि समस्या बढेर गएको छ। त्यसलाई हल गर्नुपर्छ। पार्टीलाई एक बनाएर जानुपर्छ, थापाले भने।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पनि गठबन्धन गठन भएकोमा प्रश्न उठाए। नेकपा (एकीकृत समाजवादी)को जनमत नभएको अवस्थामा उनीहरुलाई ठाउँ छाड्नुपर्दा पार्टीभित्रैबाट सहयोग नभएको उनले बताए। उनले माओवादी केन्द्रबाट पनि असहयोग भएको बताए।

‘गठबन्धन कार्यान्वयन भएन। होमवर्क नगरी गठबन्धन भयो। केही जिल्लाका सभापतिहरुले गठबन्धनलाई सहयोग गरेनन्। हैसियतको कुरा पनि रह्यो,’ उनले भने, ‘नेकपा एकीकृत समाजवादीको जनमत थिएन। एमालेले जितेको ठाउँमा दाबी गरे। माओवादीले भसोरा खोज्यो, विश्वास गरेन। सहज भएको ठाउँमा एमालेलाई पनि भोट हाल्यो।’

उनले पार्टीको जगलाई बलियो बनाउन लोकतन्त्र शब्दको प्रयोग गर्न नहुने मत अघि सारेका छन्।

‘पार्टीको जगलाई बलियो बनाउने हो भने लोकतन्त्र भन्न हुन्न। लोकतन्त्र कम्युनिस्टले रूचाएको शब्द हो। पार्टीको सिद्धान्त राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र हो। युवाहरू पार्टी पदाधिकारी भएका छन्। उहाँहरूको मूल्यांकन गर्ने बेला भएको छैन। तर, जुन गतिमा पार्टी अघि बढ्नुपर्ने हो त्यो भएको छैन’, शर्माले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell