PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

बुटवल बन्यो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर



पहिलोपोस्ट

बुटवल बन्यो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ। सोमवार १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी दिए। तथ्यांक संकलकहरुलाई अभिमूखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकहरुको तथ्यांक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचारप्रसार, छुट नागरिकहरुलाई खोप सेवा प्रदान, वडाबाट र्‍याण्डम सर्वेक्षण, सबै वडाहरुको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको उनले बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए। कोभिड-१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमै सञ्चालन गर्ने उनले बताए।

कार्यक्रममा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने बताए।

त्यस्तै, बुटवल उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरभित्र र बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवा प्रदान गरिएको बताइन्। उनले बुटवलमा खोप सुनिश्चित भएको र खोप लगाउन बाँकी रहेकाहरुलाई खोप लिन आह्वान गरिन्।

उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्ये १२ वर्ष माथिका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारी दिए। उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell