PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

चीन-नेपालबिच रहेको व्यापार घाटा कम गर्न सहयोगको लागि चिनियाँ नेतासँग प्रचण्डको आग्रह



पहिलोपोस्ट

चीन-नेपालबिच रहेको व्यापार घाटा कम गर्न सहयोगको लागि चिनियाँ नेतासँग प्रचण्डको आग्रह
फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ चियानचाओसँगको भेटमा राजनीतिक पार्टी र जनता ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको बताएका छन्। भेटका क्रममा भएका छलफलबारे बताउँदै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन्।

भेटमा प्रचण्डले चीनलाई एउटा असल छिमेकीको रुपमा स्वीकार गर्ने कुरामा सबै एकै ठाउँमा रहेको विचार व्यक्त गरेको पनि श्रेष्ठले बताए। नेपालको विकासको प्रकृयामा चीनले अहिलेसम्म गर्दै आएको सहयोगप्रति प्रचण्डले धन्यवाद व्यक्त गरेको उनले बताए। 

‘चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरु, विशेषतः चिकित्सा क्षेत्रका विद्यार्थीहरुको केही समस्या अझैपनि बाँकी रहेको, त्यसको समाधान गर्ने बारेमा, चीन र नेपालबिच रहेको व्यापार घाटा कम गर्ने बारेमा, चीनको सहयोगको अपेक्षा र अरनिको राजमार्ग र केरुङको पनि व्यापारको, आवातजावतको सहजीकरणको निम्ति उहाँहरुलाई अनुरोध गर्नुभयो,’ श्रेष्ठले भने।

प्रचण्डले नेपाली भूमिमा चीन विरोधी कुनै गतिविधि गर्न नदिने कुरामा सिंगो राज्य, नेपाल सरकार र पार्टी पनि प्रतिबद्ध रहेको विचार व्यक्त गरेका थिए।

सो क्रममा चिनियाँ नेता लिउले माओवादी केन्द्रलगायत नेपालका सबै राजनीतिक पार्टीहरु र नेपाल सरकारलाई एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि भएर कुनै चीन विरोधी गतिविधि गर्न नदिने प्रतिबद्धताप्रति आभार प्रकट गरे। नेपालको विकासको प्रकृयामा आगामी दिनमा पनि सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भने, ‘बीआरआइ सम्झौताका सन्दर्भमा नेपालले योजनाहरु ठोस रुपमा छनौट गरेको अवस्थामा ठोस रुपमै छलफल गरेर त्यसलाई अगाडि बढाउन सकिने उहाले विचार राख्नुभयो। साथसाथै, नेपाल र नेपालका कुनै पनि पार्टीहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीति र सीपीसीको नीति रहेको कुरामा पनि उहाले जोड दिनुभयो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell