PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

चितवनका प्रतिनिधिसहित प्रचण्डले भेटे प्रधानमन्त्री, माडीमा सडक र विद्युत विस्तारबारे ध्यानाकर्षण



पहिलोपोस्ट

चितवनका प्रतिनिधिसहित प्रचण्डले भेटे प्रधानमन्त्री, माडीमा सडक र विद्युत विस्तारबारे ध्यानाकर्षण

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो निर्वाचन क्षेत्रका प्रतिनिधिहरुसहित प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। भरतपुर महानगर र माडी नगरपालिकाका प्रतिनिधिहरुसहित बालुवाटार पुगेर जिल्लाका विभिन्न समस्या समाधानका लागि उनले माग गरेका हुन्। 

भरतपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण, भरतपुर विमानस्थल विस्तारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छलफलमा सहभागी भरतपुर महानगरकी प्रमुख रेनु दाहालले जानकारी दिइन्। त्यस्तै माडी क्षेत्रमा चितवन निकुञ्ज हुँदै भूमिगत विद्युतीकरण रोकिएको विषयमा पनि प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहेका उनले माडी जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायत विषयमा प्रधानमन्त्री छलफल गरेका हुन्। यसअघि चितवनको टोलीले सोमबार प्रचण्डसँग भेट गरि त्यसबारे जानकारी गराएको थियो।

प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री देउवाले प्रचण्ड र महानगर प्रमुख दाहालको रोहवरमा मुख्य सचिव शङ्करदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, निजी सचिवलगायत सरोकारवालालाई बोलाएर छलफल गरि तत्काल काम अघि बढाउन निर्देशन दिएको महानगर प्रमुख दाहालले जानकारी दिइन्। 'प्रधानमन्त्रीले निकै सकारात्मक भएर तत्काल कार्यान्वयनका लागि निर्देशन दिनुभयो,' उनले भनिन्।  

महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएकाले जिल्लावासीको मागको सुनुवाई हुने विश्वास व्यक्त गरिन्। महानगरपालिकाले विमानस्थल विस्तारका लागि निकै पहिलेदेखि पहल गर्दै आएको छ। भेटमा राजनीतिक दलका प्रतिनिधि, राष्ट्रियसभाका सदस्य, भरतपुर र माडीका पूर्व र वर्तमान जनप्रतिनिधिलगायत सरोकारवाला सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell