PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

ओलीसँगको भेटमा चिनियाँ नेताले भने : नेपाली कम्युनिस्ट पार्टीको मिलन र विछोड नेपालकै आन्तरिक मामिला



पहिलोपोस्ट

ओलीसँगको भेटमा चिनियाँ नेताले भने : नेपाली कम्युनिस्ट पार्टीको मिलन र विछोड नेपालकै आन्तरिक मामिला
फोटो : ओलीको सचिवालय

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ चियानचाओले नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप नगर्ने बताएका छन्।

मंगलवार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै उनले यस्तो बताएका हुन्। ओली निवास बालकोटमा भएको भेटमा दुई देशबिचको सम्बन्ध, क्षेत्रीय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाका बारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए।

छलफलका क्रममा दुवै पक्षबाट पारस्परिक हित र लाभका आधारमा सम्बन्ध अघि बढाउने प्रतिवद्धता व्यक्त भएको उनले बताए।

मन्त्री लिउले चीनले नेपालको विकासलाई निरन्तर रुपमा अघि बढाउन चाहेको बताएका थिए। उनले नेपाली भूमि चीनविरुद्ध प्रयोग नहोस् भनेर चासो व्यक्तसमेत गरेका छन्।

ओलीले नेपाल र आफ्नो पार्टीले ‘एक चीन नीति’ र नेपाली भूभाग चिनियाँ वा अरु कुनैपनि मित्र राष्ट्रका विरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता जनाएका थिए। साथै, उनले आगामी दिनमा पनि नेपाल र चीनको सम्बन्ध सुमधुर बनाएर जाने प्रतिवद्धता व्यक्त गरेको भट्टराईले जानकारी दिए।

‘हाम्रा द्विपक्षीय मामिलाका धेरै विषयहरुमाथि छलफलहरु भयो। विशेष गरी चीन र नेपालको सम्बन्ध धेरै अघिबाट राम्रो र सुमधुर रहँदै आएको छ,’ भट्टराईले भने।

उनले अगाडि भने, ‘हामी पारस्परिक समानताका आधारमा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुकको एक अर्काको आन्तरिक मामलामा अहस्तक्षेपको सिद्धान्त र एकले अर्कालाई पारस्परिक हित र लाभका आधारमा सम्बन्ध अघि बढाउने आधार र मान्यताहरु थिए, ती मान्यताहरु अहिले पनि कायम छन् र तिनै मान्यताको आधारमा अघि बढ्नुपर्छ भनेर दुवैतर्फबाट प्रतिवद्धताहरु जाहेर भएको छ।’ 

चीनले नेपालको विकासलाई निरन्तर रुपमा अघि बढाउन चाहेको कुरा चिनियाँ नेताले बताएको समेत भट्टराईले जानकारी दिए। उनले नेपालको कम्युनिस्ट पार्टीहरुको मिलाप र एकीकरण आन्तरिक कुरा भएकोले चीनले यसमा कुनै धारणा नराख्ने चिनियाँ पक्षले स्पष्ट पारेको समेत दाबी गरे।

आइतवार ४ दिने नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। मन्त्री लिउ नेतृत्वको चिनियाँ टोलीले बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ। यो टोली बुधवार नै स्वदेश फर्किनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell