
वीरगंजः जनता समाजवादी पार्टी (जसपा) फुटको संघरमा पुगेको छ। पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच तालमेल नमिलेपछि पार्टी फुटको सघारमा पुगेको हो। भट्टराई पक्षले केन्द्रीय समिति बैठक मंगलबार काठमाडौंमा आयोजना गरेको थियो। यादव पक्षले बुधबार वीरगंजमा केन्द्रीय समिति डाकेको छ।
बैठकका लागि पार्टी अध्यक्ष यादवसहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू मंगलबार वीरगंज आइपुगेका छन्।
भट्टराई पक्षको बैठक मंगलबार र बुधबार हुनेछ। यादव पक्षको बुधबार र बिहीबार वीरगंजमा बैठक हुने छ।
वीरगंज बैठकमा को-को सहभागी?
जसपा पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार वीरगंजमा बस्न लागेको केन्द्रीय समितिमा बहुमत सदस्यको सहभागिता रहने दाबी गरिएको छ। केन्द्रीय कार्याकारिणी समितिमा ३२ मध्ये २४ जना सदस्यहरुको सहभागिता रहने दाबी यादवको छ। केन्द्रीय कमिटी ४९९ सदस्यीय छ।
वीरगंजको बैठकमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सुशीला श्रेष्ठ, रामसहाय यादव, मनीष सुमन, परशुराम बस्नेत, विजय यादव, मृगेन्द्र सिंह यादव, रकम चेमजोङ, रनध्वज कन्दङ्वा, युवराज कार्की, गजेन्द्र यादव, प्रकाश अधिकारी, शिवलाल थापालगायतको सहभागिता रहने बताइएको छ।