PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धामा उत्रँदै नेपाल, ब्याटिङ सुधार्न दबाब



पहिलोपोस्ट

स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धामा उत्रँदै नेपाल, ब्याटिङ सुधार्न दबाब
फाइल फोटो

काठमाडौं : क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको सिरिजको पहिलो खेलमा सोमवार नामिबियासँग खेल्दा नेपाली टोलीमा ब्याट्सम्यानको खाँचो थिएन। ब्याट्सम्यान सँगसँगै लगभग सबैजसो अलराउन्डर टिममा भए पनि नेपालले न त २२१ रनको लक्ष्य पुरा गर्न सक्यो न त ५० ओभर टिकेर नै खेल्न। मुख्य ब्याट्सम्यान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी नचल्दाको अवस्था थियो यो।

त्यसअघि अभ्यास खेलमा त क्यानडासँग १०५ रनमै समेटिन पुगेको थियो। त्यस्तै नेपालले क्रिकेट विश्वकप लिग २ मा जितेको पछिल्लो खेलमा हो ओमनविरुद्धको। अमेरिकामा सम्पन्न उक्त खेलमा ओमनले दिएको १६४ रनको लक्ष्य ३१.१ ओभरमा ३ विकेट गुमाउँदै ७ विकेटको जित निकाल्यो नेपालले। नेपालको अझै संघर्ष भनेको २ सय रन कटाउनमै छ, जुन एकदिवसीय क्रिकेटमा औसत रन हो।

दुई सयको हाराहारीमा रन बनाउनै संघर्ष गरिरहेको नेपाली टोलीले आज लिग २ को बलियो टोलीमध्येको एक स्कटल्यान्डसँग खेल्दैछ, त्यो पनि उसैको घरेलु मैदानमा। खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ।

लिग २ मा सबैभन्दा कम हार ब्यहोर्ने टोली हो स्कटल्यान्ड। २१ खेल खेल्दा १४ जित, ५ हार र २ बराबरी खेलेको स्कटल्यान्ड ३० अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। जारी सिरिजमा नामिबियालाई हराउँदै सुखद सुरुवात गरेको स्कटल्यान्ड आफ्नो लयलाई निरन्तरता दिने सोचमा छ। यता नेपालको अवस्था फरक छैन। अमेरिका सिरिजमा पाँचौ स्थानमा उक्लिएको नेपाल स्कटल्यान्ड सिरिजको आफ्नो पहिलो खेलमै पराजित भएसँगै फेरि छैटौं स्थानमै झरेको छ। शीर्ष तीनमा रहँदै विश्वकपको छनोट खेल्ने सोच बनाएको नेपाललाई यसले धक्का पक्कै दिएको छ नै। आजको खेलमा जित निकाल्दै नेपाल दबाव कम गर्ने लक्ष्यमा रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell