काठमाडौंः नेपाल प्रहरीले खरिद गर्न लागेको हतियारको बारेमा प्रतिनिधिसभामा एमालेका सांसदहरूले विरोध जनाएका छन्।
संसदमा बोल्दै खगराज अधिकारीले कमिसनको लागि हतियार खरिद गर्न लागेको आरोप लगाए। प्रहरीले खरिद गर्न लागेको हतियार 'छर्रा' भएको भन्दै विरोध गरेका छन्। उनले हतार हतारमा हतियार किन्न एलसी खोल्न लागिएको बताए। बदनाम भएको कम्पनीबाट हतियार खरिद गर्न लागिएको उनको भनाइ थियो।
'अरब भन्दा बढी कमिसनको खेल भइरहेको छ। कमिसन भन्दा बाहेक सरकारको नजर अन्त जान्छ कि जादैंन?' सांसद अधिकारीले भने।
प्रहरीलाई हतियार आवश्यक नभएको र दबाबको आधारमा विज्ञप्ति निकालेकोसमेत उनले आरोप आरोप। हतियार खरिद प्रक्रिया प्रहरीको लागि खतरनाक काम भएको उनले दाबी गरे।
'हावामा हाँसको बथानहरू झार्नको निम्ति हामी छर्रा हान्छौँ। जनताको छातीमा हान्नको लागि छर्रा ल्याउने बन्दुक किन्न इजाजत कसले दिएको छ?' सांसद अधिकारीले प्रश्न गरे।