बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अनुसन्धान जारी राखेको छ। यसैबिच, आज बुधवार सुशान्तसँग जोडिएको लागुऔषधको विषयमा एनसीबीले ३५ आरोपीविरुद्ध अदालतमा उजुरी दायर गरेको छ।
आरोपपत्रअनुसार सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्तीलगायतलाई एनसीबीले आरोपित बनाएको छ। सबै विरुद्ध सुशान्तको लागि लागूऔषध खरिद गर्ने र आपूर्ति गर्ने गरेको आरोप लगाइएको छ।
योसँगै रिया एकपटक फेरि अफ्ठ्यारोमा परेकी छिन्। सुशान्तलाई रियाले नै लागूऔषध दिएको एनसीबीले दाबि गरेको छ। रियाले सामुएल मिरान्डा, भाइ शोविक, दीपेश सावन्त र अन्य अभियुक्तहरूबाट गाँजा ल्याएर सुशान्तलाई दिएको आरोपपत्रमा उल्लेख छ। यो मुद्दाको सुनुवाई २७ जुलाईमा विशेष अदालतमा हुँदैछ। रिया दोषी प्रमाणित भएको खण्डमा उनलाई १० वर्षको जेल सजाय हुन सक्छ।
१४ जुन २०२० मा सुशान्त सिंह राजपूतको शव मुम्बईस्थित उनकै घरमा भेटिएको थियो। घटनामा सुशान्तको परिवारले प्रेमिका रिया र उनको परिवारमाथि गम्भीर आरोप लगाएका थिए। किनकी सुशान्तको मृत्यु हुनुभन्दा एक साताअघि रियाले घर छोडेकी थिइन्।
त्यसपछि नै लागुऔषधको विषयमा छानबिन सुरू भएको हो। सन् २०२२ सेप्टेम्बरमा रिया पक्राउ परेकी थिइन्। झण्डै एक महिना जेल बसेपछि रियाले मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन्। सर्वोच्च अदालतको आदेशमा सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ।