
श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयलाई कब्जामा लिएका छन्। प्रधानमन्त्री कार्यालयको गेट तोडेर प्रदर्शनकारीहरू भित्र पसेको बीबीसीले उल्लेख गरेको छ।
प्रधानमन्त्री कार्यालयभित्र पसेका प्रदर्शनकारीहरूले खसी मनाइरहेका छन्। कम्पाउण्डको गेटबाहिर सशस्त्र प्रहरीसँग घण्टौँ लामो झडपपछि भित्र छिर्न सफल भएका प्रदर्शनकारीहरू बार्दलीमा उभिएर हर्षोल्लासका साथ चिच्याइरहेको देखिएको अन्तर्राष्ट्रिय मिडियाहरुमा उल्लेख छ।
प्रधानमन्त्रीको कार्यालय कब्जामा लिएका प्रदर्शनकारीले ढोल बजाएर नाराबाजी गर्दै सेल्फी खिचाउँदै खुसीयालीमा मनाएका छन्। दोस्रो तल्लाको बार्दलीमा ‘प्रधानमन्त्रीको कार्यालय’ लेखिएको माथि प्रदर्शनकारीहरुले श्रीलंकाको झण्डा फहराएका छन्। यस्तोमा प्रधानमन्त्री रनिल विक्रेमासिंगे भने सुरक्षित रहेको बताइएको छ।
यसैबिच, श्रीलंकाको संसद्का सभामुखले राष्ट्रपति गोटाबाया राजापाक्षेले आज आफ्नो राजीनामाको आधिकारिक पत्र पठाउने बताएका छन्। देश बाहिर रहेका राजापाक्षेले आफूलाई फोन गरेर आज राजीनामा दिने बताएको उनले जानकारी दिएका छन्।