PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आर्थिक लेनदेनको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको मृत्यु, परिवारका तीन जना पक्राउ



पहिलोपोस्ट

आर्थिक लेनदेनको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको मृत्यु, परिवारका तीन जना पक्राउ

बुटवल : रुपन्देहीको गैडहवा गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। गैडहवा-१ पश्चिम बगियाका ३० वर्षीय महेश भरको परिवारका सदस्यहरुले नै कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घर परिवारभित्र आर्थिक लेनदेनको विषयमा विवाद हुँदा भएको कुटपिटमा भरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए। कुटपिटबाट घाइते भएका महेशको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मंगलवार राति मृत्यु भएको हो।

उनको टाउकोमा ढुंगाले लागेको चोट रहेको छ। प्रहरीले घटनामा संलग्न भएको अभियोगमा बाबुआमा र भाइलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

यसरी भयो घटना

प्रहरीका अनुसार उक्त परिवारले दुई वर्षअघि रुपन्देहीको सूर्यपुरास्थित ग्रामीण विकास लघुवित्त संस्थाबाट २० हजार रुपैयाँ ऋण लिएका थिए। पैसा नबुझाएपछि मंगलवार दिउँसो लघुवित्तका कर्मचारी पैसा बुझाउन ताकेता गर्न घरमा गएको खुलेको छ।

घरपरिवारका सदस्यहरुबिच मंगलवार साँझ पैसा बुझाउनेबारे छलफल भएको थियो। छलफलमा पैसा कसले तिर्ने भन्नेबारे विवाद भई कुटपिटको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

छलफलमा मृतक महेशले उक्त पैसा भाइ उमेशलाई बुझाउन आग्रह गरेका थिए। भाइले आफूले पैसा नबुझाउने भनेपछि विवाद सिर्जना भएको हो।

वैदेशिक रोजगारीका लागि मेलेसिया गएका उमेश एक महिनाअघि मात्र घर फर्किएका थिए। सामान्य भनाभन हुँदै परिवारका सदस्यहरुबिच कुटपिट सुरु भएको प्रहरीले जनाएको छ।

मृतकका बाबुआमा र भाइ उमेशलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक कुँवरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell