काठमाडौं : प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ले नेपालका मुख्य ६ शहरमा प्रोमोसनल कार्यक्रम गर्ने भएको छ। फिल्मको प्रचारप्रसार गर्न निर्माण टिमले चर्चित कमेडियनहरूलाई सहभागी गराउँदै प्रोमोसनल टुर गर्न लागेको हो।
असार ३१ गते चितवनको भरतपुरबाट सुरु भई भदौ ५ गते काठमाडौंमा टुङ्गिने छ। असार ३१ र ३२ गते चितवनको भरतपुर, साउन ६ र ७ गते बुटवल, १३ र १४ गते पोखरा, २० र २१ गते विराटनगर, २७ र २८ हेटौँडामा र भदौ ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुने बताइएको छ।
भदौ १० गते प्रदर्शनमा आउने फिल्मले प्रोमोसनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो। ‘टेबल मुनिबाट’ नाम दिइएको प्रोमोसनल कार्यक्रममा फिल्मका मुख्य अभिनेता प्रदीपसहित अन्य कलाकारको उपस्थिति रहनेछ।
कमेडियनहरुमा आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन्। साथै, काठमाडौंमा अन्य कलाकारहरु पनि सहभागी हुने बताइएको छ।
दिनेश राउतद्वारा निर्देशित फिल्ममा प्रदीपका साथै दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।
जुम्लामा छायाङ्कन गरिएको फिल्मले गाउँले युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा समेटेएको छ। बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विकास सुवेदीको लेखन रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको यस फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।