काठमाडौं : सरकारले ३७ हजार एक जनालाई कोरोना बीमा बापतको रकम भुक्तानी गर्न बाँकी रहेको छ। महालेखा परीक्षकको कार्यालयले ५९ औं प्रतिवेदनमा सरकारलाई बीमावापतको ६ अर्ब १६ करोड तिर्नुपर्ने दायित्व थपिएको उल्लेख गरेको हो।
कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको समयमा बीमा समितिले २०७७ जेठदेखि कोरोना बीमा कार्यक्रम संचालन गरेको थियो। यस प्रयोजनका लागि बीमा समितिले कोरोना बीमा मापदण्ड, २०७७ जारी गरेको समेत गरेको थियो। यसअन्तर्गत २०७७/७८ मा एक लाख १४ हजार ६३३ जनाको बीमा दाबीबापतको १० अर्ब ९७ करोड ७३ लाख रहेकोमा ७७ हजार ६३२ जनाको ४ अर्ब ८१ करोड ११ लाख भुक्तानी भएको छ।
दाबीमध्ये ३७ हजार एक जनाको ६ अर्ब १६ करोड ६२ लाख भुक्तानी हुनसकेको छैन। निर्देशिकाको व्यवस्थाअनुसार नेपाल सरकारलाई दायित्व पर्ने अवस्था सिर्जना भएको प्रतिवेदनमा उल्लेख गरेको छ।