काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका-१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन निर्देशन दिएका हुन्। पहिरोले स्थानीय वीरबहादुर गुरुङलगायतको घर पुरेको र गाउँको दुवै तिरबाट पहिरो आएकाले गाँउनै जोखिममा रहेको खबर आएको प्रजिअ आचार्यले जानकारी दिए।
पहिरोबाट विस्थापितलाई उद्धार गर्न बुधबार साँझ नै प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगिसकेको प्रजिअ आचार्यले बताए। पहिरोले ६ घर पुरेको छ। मानवीय क्षति भने भएको छैन।