
काठमाडौं : प्रतिनिधि सभाको उपसभामुख पदको लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी प्रमुख सचेत पुष्पा भुषालले मनोनयन दर्ता गराएकी छिन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी रहेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उपसभामुख पदका लागि उम्मेदवारको टुंगो लगाएको छैन। एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार लोसपासँग छलफलपछि उपसभामुखको उम्मेदवार टुंगो लाग्न सक्नेछ।
करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने भएपछि भोलि मतदान हुँदैछ। बिहीवार बिहान ११ देखि १ बजेसम्म उपसभामुख पदमा मनोनयन दर्ता गर्ने समय दिइएको छ। आज नै अपराह्न १ः३० बजे सङ्घीय संसद् भवनको सूचना पार्टीमा निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने छ।शुक्रवार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ। पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन हुन लागेको हो।
प्रतिनिधि सभामा बुधवार उपसभामुख चयनको निर्वाचन मिति घोषणा भएको हो।