PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

उपसभामुखमा एमालेबाट विद्या भट्टराईको मनोनयन : सत्ता गठबन्धनकी पुष्पा भुसालसँग प्रतिस्पर्धा हुने



पहिलोपोस्ट

उपसभामुखमा एमालेबाट विद्या भट्टराईको मनोनयन : सत्ता गठबन्धनकी पुष्पा भुसालसँग प्रतिस्पर्धा हुने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको उपसभामुख पदमा विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। बिहीवार दिउँसो भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्। विद्याको प्रस्तावकमा एमालेकी सचेतक शान्त चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले पनि आजै उपसभामुखको उम्मेदवारी दर्ता गराइसकेकी छिन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी रहेका छन्।

एमालेले सत्ता गठबन्धन बाहेकका दलका तर्फबाट उम्मेदवार बनाउनका लागि तयारी गरेको भए पनि अन्तत:एमालेकै भट्टराईलाई नै उम्मेदवार बनाएको हो। 

करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने भएपछि भोलि मतदान हुँदैछ। बिहीवार बिहान ११ देखि १ बजेसम्म उपसभामुख पदमा मनोनयन दर्ता गर्ने समय दिइएको छ। आज नै अपराह्न १ः३० बजे सङ्घीय संसद् भवनको सूचना पार्टीमा निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने छ।

शुक्रवार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।

तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ। पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन हुन लागेको हो।

प्रतिनिधि सभामा बुधवार उपसभामुख चयनको निर्वाचन मिति घोषणा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell