
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीका नेता डा शेखर कोइरालालाई पनि पार्टी कार्यालयमा बस्ने ठाउँ दिनुपर्ने माग राखेका छन्। जारी केन्द्रीय समितिमा संस्थापन पक्षले संस्थापनइतरलाई होटल-होटलमा भेला नराख्न चेतावनी दिएपछि केसीले उक्त माग गरेका हुन्।
पछिल्लो पटक शेखर समूहले काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला राख्दै आएको छ। पार्टी कार्यालयमा पराजितहरुका लागि बस्ने कोठा नै नभएकोले संस्थापनइतर त्यसको विकल्पमा होटल खोज्न बाध्य भएको केसीको भनाइ थियो।
‘उहाँसँग लडेर हारेकाहरुलाई केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई ठूलो कोठा दिनुभयो भने साझा बस्ने व्यवस्था यत्रो साथी आउँछन्। कहाँ भेट्ने?’, केसीले प्रश्न गरे, ‘कमसेकम साझा बस्ने व्यवस्था। उहाँसँगसँगै पराजित भएका शेखरजीलाई बस्ने व्यवस्था खै रामचन्द्र जीलाई पहिले थियो।’
पार्टीको केन्द्रीय कार्यालयमा पदाधिकारीका लागि बस्ने कोठाको व्यवस्था भएपनि सदस्य र पराजितहरुका लागि भने कोठाको व्यवस्था छैन। त्यसैले पराजितहरुका लागि पनि कार्यालयको व्यवस्था हुनुपर्ने केसीको भनाइ थियो।
नेता केसीले सभापति शेरबहादुर देउवालाई एकले अर्कोलाई सम्मान गर्न सिक्नसमेत आग्रह गरे। भने, ‘एकले अर्कोलाई सम्मान गरौँ। सम्मान गरौँ अरुलाई। अलग भेला नै गर्न नदिने गरी सबैलाई समान व्यवस्था गरौँ न।’
देउवा आफैँले पनि पहिले अलग भेला गर्ने भएकोले अहिले यसको विरोध गर्नुको कुनै औचित्य नभएको केसीको भनाइ थियो।