रुपन्देही : बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
गत शनिबार दिउँसो बुटवल–३ गोलपार्कस्थित होटलको कोठामा सुदीक्षा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। शुक्रबार साँझ असिमसँगै होटलमा गएकी सुदीक्षालाई झुण्डिएको अवस्थामा देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।
मृतकका परिवारजनले असिमविरुद्धमा जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपछि श्रेष्ठ र अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रमुख केसीले बताए।