बुटवल : बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी १६ वर्षीया किशोरीको मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका का छन्। गत शनिवार दिउँसो बुटवल उपमहानगरपालिका-३ गोलपार्कस्थित होटल गोलपार्कको १०५ नम्बर कोठामा बुटवल-२ की समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
शुक्रवार राती उनीसँगै होटलमा बसेका बुटवल-३ का २० वर्षीय असीम श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिए।
शुक्रवार राति १० बजेतिर होटलमा पुगेकी समीक्षा शनिवार दिउँसो मृत अवस्थामा फेला परकी थिइन्। 'दाइ आउँदै हुनहुन्छ' भन्दै किशोरी आफैँले होटलको कोठा बुक गरेकी थिइन्। करिब ३० मिनेटपछि एक युवक होटलमा आएर उनीसँगै बसेको तर, शनिवार बिहान ८ बजेतिर होटलको बिल भुक्तानी गरेर ती युवक बाहिरिएको होटल सञ्चालकले प्रहरीलाई बताएका थिए।
होटल सञ्चालक दिउँसो कोठामा जाँदा भित्रबाट कोठा लक गरेको र बोलाउँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा किशोरी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले होटल सञ्चालक रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
किशोरी एसईई परीक्षा दिएर रिजल्टको प्रखाईमा थिइन्। एसईईपछि स्टाफ नर्सको तयारीका लागि काठमाडौं गएकी उनी असार २३ गते मात्रै बुटवल आएकी थिइन्। किशोरीका परिवारले नियन्त्रणमा रहेका असिमविरुद्धमा जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन्।
यसरी सफल भयो प्रहरी
किशोरी होटलमा आफैँ आएर कोठा बुक गरेको, होटलमा सीसीटीभी नभएको र कोठामा केही प्रमाण नभेटिएपछि प्रहरीलाई किशोरीसँगै रात बिताएका युवालाई खोज्न समस्या भएको थियो। पक्राउ परेका युवक किशोरीसँग पहिलेदेखि नै चिनजानका साथी भएको खुलेको छ। उनले बुटवलको अमरपथमा व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ।
किशोरीसँगै बसेका युवकको पहिचान गर्न प्रहरीले उनीसँग नजिकका १०/१२ जना युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। किशोरीको नजिक रहेकाहरुसँग सोधपुछ, फोन म्यासेज अनुसन्धान गर्दा उनीसँग होटलमा बसेका युवक पहिलेदेखि नै चिनजानका साथी असीम भएको खुलेको डीएसपी केसीले बताए।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पोस्टमार्टमा किशोरीको झुन्डिएर मृत्यु भएको रिपोर्ट आएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी केसीले बताए।