PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

चीनको दुष्प्रचारका बाबजुद् एमसीसी पास हुनु उपलब्धि : प्रस्तावित राजदूत थम्पसन, तिब्बती शरणार्थीको अधिकारका लागि काम गर्छु



पहिलोपोस्ट

चीनको दुष्प्रचारका बाबजुद् एमसीसी पास हुनु उपलब्धि : प्रस्तावित राजदूत थम्पसन, तिब्बती शरणार्थीको अधिकारका लागि काम गर्छु
सिनेट कमिटीमा भएको सुनुवाईको भिडियोबाट लिइएको स्क्रिनसट।

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित डिन आर थम्पसनले नेपाली संसदले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौता अनुमोदन हुनु अमेरिकाको लागि उपलब्धि भएको बताएका छन्। 

अमेरिकी सिनेटको विदेश मामिलासम्बन्धी समितिमा मनोनयनबारे भएको सुनुवाइका क्रममा उनले चीनको भ्रामक दुस्प्रचारका बाबजुद् नेपालले एमसीसीलाई अनुमोदन गरेको बताएका हुन्। 

'अमेरिका नेपालसँगको सम्बन्धमा महत्त्वपूर्ण विन्दुमा रहेको छ। नेपाललाई सँधै दुई ढुंगाबीचको तरुलको रुपमा संज्ञा दिइन्छ। ती दुई ढुंगा चीन र भारत हुन्। जबकी ती देशहरुसँग नेपालको महत्त्वपूर्ण सम्बन्ध छ। हाम्रो पनि उसको सार्वभौमिकता र अमेरिकासँगको साझेदारीलाई सुदृढ बनाउने चासो छ,' उनले भने।

आफू राजदूतको रुपमा अनुमोदन भए नेपालको आर्थिक वृद्धिका लागि सहजिकरण गर्दै दुई देशहरुबिचको व्यापारिक सम्बन्धलाई बढाउनु मुख्य प्राथमिकता हुने उनको भनाइ थियो।

'संयुक्त राज्यको नेपालसँगको सम्बन्ध ७० औं वर्षको साझेदारीलाई देखेको भन्दै उनले चीनको उग्र दुस्प्रचार अभियानका बाबजुद् नेपालको संसदले ५०० मिलियन डलरको एमसीसी कम्प्याक्ट अनुमोदन गरेको स्मरण गरे। यसले नेपालको जलविद्युतलाई दक्षिण एसियाको इनर्जी ग्रिडसँग जोड्ने बताए। उनले परियोजनाअन्तर्गत नेपालमा उच्च गुणस्तरको सडक निर्माण हुनेसमेत बताए। 

यी परियोजनाले दुबै देशको समृद्धि बढाउने उनको दाबी रह्यो। 

त्यस्तै हालैमात्र युएस एडले आगामी पाँच वर्षका लागि नेपालको विकासमा योगदान पुर्‍याउन ६५९ मिलियन डलर बराबरको सम्झौता नेपालसँग गरेको बताए। उनले यसलाई अमेरिकी सरकारको नेपालसँगको सम्बन्धमा नयाँ अध्यायको विकास भएको बताएका छन्। 

उनले आफू राजदूतको रुपमा अनुमोदन भए सबै नेपाली नागरिक र बासिन्दाको अधिकारको पक्षमा काम गर्ने बताए। उनले यसमा दलित, सीमान्तकृत समुदाय र तिब्बती शरणार्थीसहितका शरणार्थी समुदायको क्षेत्रमा काम गर्ने बताए। उनले नेपाल सरकारलाई अर्थपूर्ण समावेशिता, आर्थिक अवसर र मानवीय सहायतासम्बन्धी नीतिलाई कार्यान्वयन गर्न प्रोत्सहान गर्नेसमेत बताए। 

 

राष्ट्रपति बाइडेनले आयोजना गरेको समिट फर डेमोक्रेसीमा नेपालले व्यक्त गरेको प्रतिबद्धताले पनि नेपालको अमेरिकासँगको सम्बन्ध कति महत्त्वपूर्ण छ भन्ने दर्शाउने उनको भनाइ थियो। त्यस्तै उनले  युक्रेन मामिलामा राष्ट्र संघको महासभा, मानवअधिकार परिषदमा युक्रेनलाई समर्थन गरेर नेपालले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्था र भौगोलिक अखण्डताको आफ्नो प्रतिवद्धता व्यक्त गरेको बताए। 

उनले नेपालका लागि राजदूत नियुक्त भए नेपालको प्रजातान्त्रिक संस्थाहरुको सुदृढिकरणका लागि काम गर्ने बताए। 'नेपाल १६ वर्ष अगाडिमात्र लामो गृहयुद्धबाट लामो यात्रा गरेको छ। अरु प्रजातान्त्रिक देशहरुको जस्तै नेपालको राजनीति पनि केही काल विवादास्पद र लथालिंग हुन सक्छ। तर, नेपालको प्रजातन्त्रमा संयोग गर्नु हाम्रो रुचिमा छ। र म राजदूतको रुपमा अनुमोदन भए भने मेरो प्राथमिकतामा पर्नेछ।'

सिनेटरले सोधेको प्रश्नमा प्रस्तावित राजदूतले अमेरिका नेपालको सार्वौभौमिकता रक्षामा उभिने र नेपाली जनतालाई अमेरिका उनीहरुको साथमा रहेको विश्वास दिलाउने बताए। 

सुनुवाइको अध्यक्षता गरिरहेका सिनेटर ब्रायन सत्जले युक्रेनमाथि रुसी आक्रमणको विरोध गर्ने केही देशमध्ये नेपाल पनि रहेको बताए। 'नेपाली संसदले सडकमा भएको प्रदर्शनका बाबजुद ५०० मिलियन डलर बराबरको एमसीसी सम्झौता पास गरेको हो।  यसै महिनामात्र नेपाल सरकारले अमेरिकी नेसनल गार्डको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागितालाई खारेज गरेको छ। यो कार्य चीन सरकारको 'डिसइन्फरमेसन क्याम्पेन'का कारण भएको बताए,' उनले प्रस्तावित राजदूतलाई नेपालमा गएर नेपाली जनतालाई अमेरिका उनीहरुको सहयोगी हो भनेर पुन:विश्वास जगाउन के गर्नुहुन्छ भन्दै प्रश्न गरेका थिए। 

त्यस्तै सिनेटर कोरी  बुकरले हालै आफू नेपाल भ्रमणमा पुगेर फर्केको भन्दै भारत र चीनको बीचमा रहेको सानो देशले दुबै देशलाई सन्तुलित बनाएर लैजानुपर्ने कठिन कार्य गरिरहेको बताए। 'म चीनमा रोकिन चाहन्छु। उनीहरुले  नेपालमा असाधारण प्रभाव विस्तार गरिरहेका छन्। त्यहाँको सरकारले हामीसँग सम्बन्ध विस्तार गर्न चाहन्छ। तपाईँलाई थाहा छ हामीले आर्थिक सम्झौता भर्खरै हस्ताक्षर गरेका छौँ, भलै चीनले दुस्प्रचार अभियान बढाउन चाहिरहेको थियो। चीनले प्रभाव बढाइरहेको बेला तपाईँले कसरी हाम्रो सम्बन्धलाई अगाडि बढाउनुहुन्छ?,' उनको प्रश्न थियो।  

जवाफमा प्रस्तावित राजदूत थम्प्सनले प्रधानमन्त्री देउवाले नेपाली जनताको वास्तविक इच्छअनुसार नेपालको अर्थतन्त्रलाई विकास गर्ने दिशामा अगाडि बढ्ने बाटो खोजिरहेको बताए। भर्खरै एमसीसी पास भएको सन्दर्भलाई जोड्दै उनले नेपालमा आर्थिक साझेदारी, लगानीका वातावरण निर्माण लगायतका विषयमा काम गर्ने बताए। 

सिनेटर बुकरले जलवायु परिवर्तनको समस्याबाट प्रभावित विश्वका पाँच देशमध्ये एक 'नेपालमा राजदूत भएर जाँदा जलवायु परिवर्तनको मुद्दालाई कसरी सम्बोधन गर्नुहुन्छ?' भन्दै प्रश्न गर्दा उनको जवाफ थियो- 'नेपालले कोप २६ मा महत्त्वकांक्षी प्रस्ताव पेश गरेको भन्दै त्यसलाई पूरा गर्नका लागि नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो उच्च प्राथमिकता रहनेछ।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell