काठमाडौं: एम अधिकारी र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एउटै व्यक्ति हुन कि फरक? यसैको वरिपरि अहिले चर्चा छ।
सत्ता गठबन्धन गर्भनर अधिकारी नै एम अधिकारी भएको दाबी गरिरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बचाउ गरिरहेको छ।
गठबन्धन दलका सांसदहरुले एम अधिकारी महाप्रसाद अधिकारी भएको र उनी एमालेको अर्थ तथा योजना विभागको सदस्य भएको भन्दै राजीनामा माग गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले अधिकारीको राजीनामा माग गरे।
‘महाप्रसाद अधिकारी नाम गरेको अर्थ तथा योजना विभागको त्यही जिल्लाको मान्छे फलाना हुनुहुन्थ्यो। ०७३ सालको चाहिँ उहाँ नै हो। अहिले जो गभर्नर हुनुहुन्छ अहिलेको चाहिँ अर्को हो भनेर गर्नुपर्यो। होइन भने जेसुकै बोलेर यता, उता भएको भए पनि कमसेकम विवाद भयो। अन्यौल भयो भन्ने मात्रै तर्क गरेर पनि उहाँले राजीनामा दिनु, पद छोड्दिनु बेश हुन्छ,’ श्रेष्ठले बिहीबारको राष्ट्रिय सभाको बैठकमा भने।
अधिकारी माथि कसरी उठ्यो प्रश्न?
एमालेले केही दिनअघि विभिन्न ३३ वटा विभाग गठन गरेको पार्टीको आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ।
सो आधारमा नै एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गरेको थियो। एमाले नेता घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा एम अधिकारी पनि सदस्य रहेको अपानीमा थियो।
उक्त निर्देशनपछि धेरैले गर्भनर अधिकारी एमालेकै विभागका सदस्य रहेको एम अधिकारी भएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका छन्।
खोटाङ घर भएको एम अधिकारी अरु कोही नभएर महाप्रसाद अधिकारी नै भएको दाबी छ गठबन्धनका नेता तथा सांसदहरुको पनि। २०७३ सालमा एमालले अर्थ तथा योजना विभागमा महाप्रसाद अधिकारीलाई नै नियुक्त गरेको थियो।
अधिकारीलाई यसपटक पनि विभागमा राखेको तर छद्म नाम प्रयोग गरिएको सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतको दाबी छ।
अधिकारी पहिला पनि विभागको सदस्य रहेको र ठेगाना नै मिलेपछि एउटै व्यक्ति भएको भनेर उनीमाथि चर्को आलोचना भइरहेको छ
एम अधिकारी -मनोज अधिकारी!
गर्भनर अधिकारीले बुधबार नै एम अधिकारी आफू नभएको भन्दै एमालेलाई पत्र लेखेका थिए। त्यसैको जवाफमा अधिकारीलाई एमालेले पत्र लेखेको छ। जसमा एम अधिकारी राष्ट्र बैंकको गर्भनर नभएको उल्लेख छ।
तर, एम अधिकारी को हो? भन्नेबारेमा भने एमालेले पत्रमा केही पनि लेखेको छैन। एमाले पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले एम अधिकारी आफ्नो पार्टीको विभागको सदस्य नभएको दाबी गरे।
‘उहाँ हाम्रो विभागमा सदस्य हुनुहुन्न। एम अधिकारी भनेको महाप्रसाद अधिकारी होइन। यसबारेमा हामीले गर्भनर अधिकारीलाई जवाफ दिइसकेका छौँ,’ पार्टी कार्यालयका सचिव अधिकारीले भने।
एमालेले एम अधिकारी हाल विराटनगर बस्ने खोटाङका मनोज अधिकारी भएको दाबी गरेको छ। सचिव अधिकारीले मनोज चार्टर्ड एकाउण्टेन्ट भएको बताए।
भने, ‘एम अधिकारी भनेको मनोज अधिकारी हो उहाँ बस्ने बिराटनगर हो अहिले पहिला घर खोटाङ रहेछ। उहाँ चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ।’
स्पष्टीकरणले झन शंका
एमालेले एम अधिकारी को हुन् भन्नेबारेमा परिचयसहित सार्वजनिक गर्न सक्ने भए पनि गर्भनर अधिकारी होइन भनेर पन्छिरहेको छ। उक्त विभागका प्रमुख भुसालले दिएको स्पष्टीकरणले अधिकारी को हुन् भन्नेबारे प्रष्ट पार्दैन्।
भुसालले भनेका थिए, ‘म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नता बारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ । प्रथमत:, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले 'कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको’ स्पष्ट पारिसक्नुभएको छ। दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु।’
त्यसो त ट्वीटरमार्फत अधिकारीले पनि हिजै आफू एमालेको विभागमा नरहेको प्रष्टीकरण दिएका थिए। ‘म कतै कुनै पार्टी राजनीतिमा नरहेको ब्यहोरा जानकारी गराउन चाहन्छु। यसर्थ त्यहाँ उल्लेख गरिएको ब्यक्ति म हुने कुरै भएन,’ अधिकारीले भनेका छन्।
प्रश्न उठाउने कानुनी आधार के हो?
अधिकारी एमालेको विभागमा सदस्य रहेको पुष्टि भएमा उनी गर्भनरका लागि अयोग्य ठहरिने छन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ दफा २१ (क) मा राजनीतिक दलमा सदस्य भएको व्यक्ति अयोग्य हुने व्यवस्था छ।
‘राजनीतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गर्भनर, डेपुटी गर्भनर र सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन्,’ ऐनमा व्यवस्था छ।
यसैलाई आधार बनाएर सत्ता गठबन्धनका सांसदहरुले उनीमाथि छानविन हुनुपर्ने माग समेत गरेका छन्।