PahiloPost

Oct 30, 2024 | १४ कात्तिक २०८१

एक घण्टासम्म आँखामा पट्टी बाँधेर आफै एक्टर बन्दा…



लक्ष्मी बलायर

एक घण्टासम्म आँखामा पट्टी बाँधेर आफै एक्टर बन्दा…

काठमाडौं : गत बुधवार साँझ रंगकर्मी केदार श्रेष्ठमार्फतमण्डला थिएटरमा नाटक हेर्न निम्तो आयो। ‘नाटकमा १५ जनामात्रै दर्शक सहभागी हुन पाउँछन्, त्यसैले अहिले नै ‘कन्फर्म’ गर्नु।’ निम्तो तुरुन्तै स्विकारें।

दिउँसो १ बजे नाटक प्रदर्शनको समय थियो। म २० मिनेट अघि नै पुगें मण्डला थिएटर। साथी रेनुका ढकाल सँगसँगै आइपुगिन्। अरु विस्तारै थपिए। गफैगफमा २० मिनेट सकिएको पत्तै पाइएन। हामीलाई ग्यालरीमा बोलाइयो। साँघुरो ग्यालरीमा लहरै १५ कुर्सी थिए। तिनै कुर्सीमा लहरै बस्न भनियो। म तेस्रो कुर्सीमा।

एउटा कुर्सी भरिएन। जसका कारण हामीले पाँच मिनेट पर्खनुपर्‍यो। कुर्सी भरिनसाथ सबैलाई जुत्ता, चप्पल र मोजा खोल्न लगाइयो। मोबाइल बन्द गर्न लगाए। झोला पनि लगे।

अगाडि भित्ता, पछाडि नि भित्ता। १५ जना लहरै बसेका छौं। नाटक प्रदर्शन गर्ने भनेका छन्। कलाकार र मञ्चको अत्तोपत्तो छैन!

सोच्दै थिएँ : एकाएक आँखामा कालो पट्टी बाँधे। हैन, आँखामापट्टी बाँधेर गर्न लागेको के रहेछन्?– मनमा अर्को प्रश्न उब्जियो।

यहीबिचमा बाँसुरीको धुन सुनियो। पानी खन्याएको आवाज पनि आयो। दाहिने हातमा प्लास्टिकको गिलास थमाइयो। मैले समातिराखेको गिलासमा पनि पानी खन्याइयो, अनि कानमा कसैले फुसफुसायो- स्वागत छ। पहिले नै केही कुरा खान दिइने भनिएको थियो। त्यसैले संकोच नमानी गिलास मुखमा लगे - कागती पानी पो रहेछ। गर्मीमा आँत हरर भयो। अझ बाँसुरीको मधुर धुनले झनै आनन्द थपियो।

त्यसपछि कसैले मेरो दुबै हात समात्यो। अनि आफैँसँग डोर्‍याउँदै लग्यो।

‘हैन को हो? कहाँ लाँदैछ? कहाँ लगेर छोड्ने होला?’ डर पो लाग्न थाल्यो। उनकै निर्देशनमा हिँड्दै जाँदा कहिले उकालो चढ्नुपर्‍यो त कहिले ओरालो झरियो। भर्‍याङ पनि चढें। अचानक मलाई डोर्‍याउने मान्छेले मेरो साथ छाडे। अब एक्लै भएँ म।

'अब कहाँ जाने? के गर्ने?' अलमलमा परें म। कतै भूतबंगलामा छोडिदिएजस्तो लाग्यो। अचानक बाजागाजा बजिरहेको आवाज सुनियो। कोही नाचगान गरिरहेका छन्कि सोच्न थाले। एकैछिनमा हौहल्लाको आवाज आयो। डर थपिँदै थियो। हातले छामछुम गर्दैँ पाइला यताउति गर्न थाले। कहिले कपडामाथि, कहिले जुत्तामाथि त कहिले गिट्टीमाथि परे पाइला। कहिले मसिना दानामाथि परे।

छङछङ झरना झरेको अनि चराको आवाज पनि सुनियो। त्यसपछि भने मन शीतल भयो। तर यहीबेला ढ्वाङ्ङ--- पड्केको आवाज सुनियो। लगातार पड्केकोआवाज बन्दुककै हुनुपर्छ। त्यसमाथि मान्छेहरूको चित्कार अनि कोही रोए जस्तो। म डरले चिच्याए पनि। आँखा बन्द हुँदा पो कान सक्रिय हुँदो रहेछ। आवाज कर्कसपूर्ण लाग्न थाल्यो। अनि अनुमान लगाएँ - नाटकको विषय जनयुद्धको हुनुपर्छ।

+++

कञ्चनपुरस्थित राजघाट - जहाँ मेरो बाल्यकाल बित्यो। तीज आउनुअघि साँझपख गाउँमा नाचगान हुन्थ्यो। टेप क्यासेटको जमाना थियो। आमा क्यासेटका सौखिन, हाम्रो घरमा टेप थियो। तीजको गीतमा सबै नाचिरहेका थियौँ। ‘गीत बन्द गर’त्यहीबेला आदेश आयो। माओवादी कमान्डरको आदेश थियो त्यो। त्यसपछि हामी डरले भागाभाग गर्न थाल्यौँ। समूह तितरबितर भयो। कोही घरको खाटमुनि लुके त कोही धान राख्ने कोठीको पछाडि। म बच्चै थिएँ, यिनीहरूले अब हामीलाई बन्दुक पड्काएर मारिदिन्छन् होला सोचें। तर उनीहरू भने अब टेप नबजाउनु भनेर सरासर गएँ।

द्वन्द्वकालमा माओवादीको टोली दुई/तीन चोटी घरमै बसेको अनुभव छ। माओवादी घरमा बास बसिरहेको कुरा कसैलाई नभन्नु भनेर हजुरबुवाले भन्नुभएको थियो। ‘यो कुरा कसैलाई जन भन्या। माओवादी पाल्या रैछ भनेर हामलाई सेना आएर माद्या हुन?’ बाजे भन्नुहुन्थ्यो। माओवादी र सेना छड्के चेक गर्न आउँछन्। के हो भनेर सोध्दा केही होइन भन्नु अनि ‘जयनेपाल’ र ‘लालसलाम’ भन्दा जवाफ नदिनु भनि सिकाइएको थियो।

अँह, साँच्ची हामीले माओवादी भन्दा डरले थरथर हुने। तर मेरो भाइ भने कत्ति नि नडराउने। घरमा बसेका माओवादीसँग मज्जाले गफ गर्ने। कुरैकुरामा माओवादीलाई ‘जाने भए जाय, खाने भए खाए नत्र बन्दुकले ठोकिदिने हुँ’ भन्थ्यो। अनि माओवादीहरू हाँस्दै ‘यो बच्चा निकै खत्रा छ’ भन्थे।

+++

अहो! नाटकले पुरानो कुरा पो सम्झाइदियो।

कुकुरको झुन्ड रोएर चिच्याएजस्तो आवाज सुनियो। डरले छामछुम गरेर साथीहरू खोज्दा मानिसको टाउको छोएजस्तो महसुस भयो। 'मम्मी' मुखबाट जोडको आवाज पो निस्कियो। म आत्तिसकेको थिएँ। एकैछिनमा साथीहरूको आवाज सुने। नजिकै कोही आएजस्तो लाग्यो। ‘रेनुका जी हो,’सोधें। साँच्चै रेनुका जी नै पो हुनुहुँदो रहेछ। अन्य साथीहरू पनि एकअर्कालाई ठम्याउन लागिसकेका रहेछन्। त्यसपछि साथीहरूबlच केही समय हसिँमजाक चल्यो।

अनि हामी साथीहरू सँगसँगै हिँड्न थाल्यौँ। हिँड्दै गर्दा भुई चिप्लोजस्तो लाग्यो। अलि अगाडि बढेको लडिएला झैं भयो। चिप्लो भुँईमा केही सचेत बने। धन्न चिप्लो ठाउँतिर फलामको साङ्लो रहेछ। साङ्लोको सहायताले भुँईमा यताउता गरे। जसले बच्चा छँदा माटोमा चिप्लेटी खेलेको याद ताजा भइदियो। चिप्लो भुँई छोडेर अन्तै हिँडे। साथीहरूसँगै ठोक्किन पुगें। एकअर्काको नाम लिदैँ चिन्न खोज्यौँ। भर्‍याङतिर पुग्दा कसैले हात समातेर पहिल्यैकै ठाउँमा पुर्‍याइदियो। यताउता गर्दा ठाउँ दोहोरिएजस्तो लाग्यो। उभिँदा थकाई लागेजस्तो भएपछि एकछिन थचक्क बसें। फेरि उठेर साथीहरू खोज्न थाले। एकघण्टापछि कसैले फेरि हात समातेर डोर्‍याउँदै बाहिर लग्यो। बाहिर आएपछि मलाई बस्न लगाइयो। त्यसपछि हामी १५ जनाकै आँखा खोल्न भनियो।

जब आँखा खोले, धमिलो धमिलो देखें। साथीहरूले खुसी हुँदै आआफ्नो अनुभव सुनाए। कसैले ‘हरर’ फिल्मको याद गरेको बताए त कसैले भजन याद आएको भन्दै भजन नै गाए। सँगै रहेका कलाकार विजय बरालले युद्ध सम्झेको र निकै भावुक बनेको सुनाए। म भने शून्य। मेरो दिमाग नै खाली भएको थियो। दिमाग खाली भए पनि टाउको भारी भएको महसुस भयो। केही दिनदेखि तनावमा थिएँ। तर, भित्र जाँदा एकछिन भए पनि तनावमुक्त भएकी थिएँ। किनकी म आफैँभित्र हराएकी थिएँ। मेरो छुट्टै संसार थियो, जहाँ आफैँले आफैँलाई चिन्न पुरै छुट थियो।

‌+++

यसरी आफूले आफैलाई चिन्न र मनले महसुस गर्ने नाटक रहेछ ‘इनसाइड-आउटसाइड’। यो नाटकको चौथो संस्करण मण्डला थिएटरमा मञ्चन भइरहेको छ। रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा यो नाटक तयार पारिएको हो। विदेशमा यो जनरा प्रयोग गरिए पनि नेपालमा भने आफूले नै प्रयोगमा ल्याएको उनको दाबी छ। असार २३ गतेदेखि सुरू भएको नाटक साउन १ गतेसम्म मण्डला थिएटरमा चल्नेछ।

यस नाटकको भाग १ र ३ नर्वेको ओल्सोमा मञ्चन गरिसकेको बताउँछन् ढकाल। २०१९ मा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा 'इनसाइड-आउट साइड' को दुई संस्करण प्रस्तुत गरिएको थियो।

नाटकमा जम्मा १५ जना दर्शकलाई सहभागी हुन पाउनेछन्। दर्शक स्वयम नै आफैँ पात्र बन्ने अवसर पाउँछन्। निर्देशक ढकाल यस नाटकलाई ‘आर्ट अफ रियलाइजेसन’ भन्न रूचाउँछन्।

‘यो एक प्रयोगात्मक काम हो। हामीले हेर्दै र देख्दै आएको नाटकभन्दा यो धेरै फरक छ। जसलाई म ‘आर्ट अफ रियलाइजेसन’ भन्ने गर्छु। नाटकभरि आँखामा पट्टि लगाइन्छ। तपाईँ यसमा देख्न सक्नुहुन्छ, अरूलाई होइन, आफैँलाई। तपाईँ यसमा आवाज सुन्न सक्नुहुनेछ, तर मनको आवाज। यो नाटक आफैँलाई खोज्ने थालनी हो जहाँ जीवनका धेरै पाटाहरूलाई बोध गर्न सक्नुहुन्छ्,’उनले भने।

नाटकमार्फत जनयुद्धको मनोवैज्ञानिक प्रभाव बोध गराउन खोजेको निर्देशक रामहरिले बताए। उनले यो नाटक तयार पार्नुअघि रोल्पाको थवाङ गाउँमा १० दिन बसेर त्यहाँका द्वन्द्व पीडितको अनुभव सुनेको रहेछन्।

सबैले फरकफरक बुझाई हुँदा अनुभव नि फरक हुने बताउँछन् ढकाल। ‘सबैको बुझाई फरक हुनसक्छ। सबैले आफ्नो शरीर, पृष्ठभूमि र विवेकअनुसार यो नाटक बुझ्न सक्छन्। आफ्नो आफ्नो तरिकाले बुझ्न सक्छन्। जुन अनुभव आफ्नै व्यक्तिगत हुन्छ।’

सबै तस्विर : इनसाइड-आउटसाइड नाटक टिम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell