PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चीनको बढ्दो प्रभावसँग ‘कम्फर्टेबल’ छैन नयाँ दिल्ली, भाजपाको निमन्त्रणामा किन भारत जाँदैछन् प्रचण्ड ?



पहिलोपोस्ट

चीनको बढ्दो प्रभावसँग ‘कम्फर्टेबल’ छैन नयाँ दिल्ली, भाजपाको निमन्त्रणामा किन भारत जाँदैछन् प्रचण्ड ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदैछन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुग्नेछन्।

भारतीय जनता पार्टीले पछिल्लो समय ‘भाजपा चिनौ’ अभियान अन्तर्गत विभिन्न देशका नेता र राजदूतहरुलाई भाजपा मुख्यालय बोलाउने गरेको छ। त्यही सिलसिलामा प्रचण्डलाई पनि निमन्त्रणा गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

बिहीवार भारत पुग्ने प्रचण्ड आइतवार भाजपा मुख्यालय पुग्नेछन्। मुख्यालयमा प्रचण्ड र नड्डाबिच शिष्टाचार भेट हुने भाजपाका प्रवक्ता विजय चौथाइवालेले बताएको द प्रिन्टले उल्लेख गरेको छ। त्यसअघि उनले भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलका साथै अन्य भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

नेपालमा चीनको प्रभाव बढ्दै गएको ‘रिपोर्टिङ’ सत्तारुढ भाजपालाई गरिएको छ। नेपालको आन्तरिक राजनीतिमा चीनले वाम एकताका लागि प्रयास गरिरहेको बुझेको नयाँ दिल्लीले प्रचण्डलाई बोलाउनुलाई महत्वका साथ हेरिएको विश्लेषकहरुले बताएका छन्। चीनको बढ्दो प्रभाव र नेपालमा वाम एकता हुने कुराबाट नयाँ दिल्ली ‘कम्फर्टेबल’ नरहेको बताइन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै प्रचण्ड दिल्ली जान लागेका हुन्।

जियानचाओको भ्रमण लगत्तै हुन लागेको प्रचण्डको भ्रमणका क्रममा राजनीतिक मुद्दाले प्रवेश पाउन सक्ने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत भ्रमणका क्रममा प्रतिनिधिमण्डलसहित भाजपा मुख्यालय पुगेका थिए। उनको भाजपा मुख्यालय भ्रमण विवादमा पनि परेको थियो। चीनको प्रभाव आंकलन गरिरहेको सत्तारुढ भाजपा नेपालका राजनीतिक दलसँग राम्रो सम्बन्ध स्थापनार्थ प्रयासरत् रहेको र त्यही क्रममा देउवा र प्रचण्डलाई निमन्त्रणा दिइएको बताइन्छ। भाजपाले आउने दिनमा थप नेपाली शीर्ष नेतृत्वलाई मुख्यालय भ्रमणको निमन्त्रणा दिने सम्भावना रहेको बताइन्छ।

बिहीवार नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्डको आजदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको थियो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार साँझ बसेको बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल-भारतबिचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो। बैठकमा दाहालले आफ्नो भारत भ्रमणको तयारीका बारेमा ब्रिफिङ गरेका थिए।

प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यतालिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell