PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

दिल्लीतर्फ प्रचण्ड, 'चीनबाट पनि निम्तो आएको छ, छिट्टै जान्छु'



पहिलोपोस्ट

दिल्लीतर्फ प्रचण्ड, 'चीनबाट पनि निम्तो आएको छ, छिट्टै जान्छु'

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत प्रस्थान गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली उडेका हुन्।

राजनीतिक भ्रमणका लागि आफू भारत जान लागेको र भ्रमण पूर्ण रुपमा सद्भावना भ्रमण हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले जानकारी दिए।  

नेपाल राष्ट्र र नेपाली जनताको हितलाई अगाडि राखेर दुई देशबीचको सम्बन्धलाई अझ माथि कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा नै मेरो भ्रमण केन्द्रीत हुनेछ।  उनले भारत सरकारका प्रतिनिधि र भाजपाका नेताहरुसँग भ्रमणका क्रममा छलफल हुने जानकारी दिए। 

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँग पनि कुरा हुने प्रचण्डले बताए। त्यसका लागि परराष्ट्र मन्त्रालयसँगसमेत समन्वय भएको उनको भनाई रह्यो। 

आफ्नो भ्रमण आकास्मिक नभई दुई महिना अगाडि देखि नै तयारी भइरहेको उल्लेख छ। 

सीपीसीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख लिउ चियानचाओको टोली नेपाल भ्रमण सकेर फर्किएको दुई दिनमा नै प्रचण्ड दिल्ली उडेका हुन्। प्रचण्डले यसलाई संयोगमात्र भएको दाबी गरे। 

'सीपीसीका नेता आउने कुरा र मेरो भारत भ्रमण जाने कुरामा कुनै सम्बन्ध छैन,' प्रचण्डले भने, 'उहाँ नेपाल आउँदै हुनुहुन्छ भन्ने कुरा भारत भ्रमणको तयारी हुँदा थाहा थिएन।' 

उनले नेपालको समग्र विकासको निम्ति द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल हुने बताए।  उनले सीमा विवाद समाधान, आर्थिक विकास, व्यापार लगायतका सबै पक्षमा छलफल हुने बताए। 

'भाजपा पनि त्यहाँको सत्तारुढ पार्टी र हाम्रो पार्टी पनि सत्तारुढ पार्टी भएकोले दुबै देशका सत्तारुढ पार्टीको सम्बन्धका बढाउने विषयमा उल्लेख छ,' उनले भने। 

चीनको पनि भ्रमण हुन सक्ने उनले बताए। 'मलाई उहाँले चीन भ्रमणमा आउनुस् भन्नुभएको छ। मैले आउँछु पनि भनेको छु। मलाई लाग्छ छिट्टै नै चीन भ्रमण हुन सक्छ,' प्रचण्डले भने।

भारतीय जनता पार्टीले पछिल्लो समय ‘भाजपा चिनौ’ अभियान अन्तर्गत विभिन्न देशका नेता र राजदूतहरुलाई भाजपा मुख्यालय बोलाउने गरेको छ। त्यही सिलसिलामा प्रचण्डलाई पनि निमन्त्रणा गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

बिहीवार भारत पुग्ने प्रचण्ड आइतवार भाजपा मुख्यालय पुग्नेछन्। मुख्यालयमा प्रचण्ड र नड्डाबिच शिष्टाचार भेट हुने भाजपाका प्रवक्ता विजय चौथाइवालेले बताएको द प्रिन्टले उल्लेख गरेको छ। त्यसअघि उनले भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलका साथै अन्य भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

नेपालमा चीनको प्रभाव बढ्दै गएको ‘रिपोर्टिङ’ सत्तारुढ भाजपालाई गरिएको छ। नेपालको आन्तरिक राजनीतिमा चीनले वाम एकताका लागि प्रयास गरिरहेको बुझेको नयाँ दिल्लीले प्रचण्डलाई बोलाउनुलाई महत्वका साथ हेरिएको विश्लेषकहरुले बताएका छन्। चीनको बढ्दो प्रभाव र नेपालमा वाम एकता हुने कुराबाट नयाँ दिल्ली ‘कम्फर्टेबल’ नरहेको बताइन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै प्रचण्ड दिल्ली जान लागेका हुन्।

जियानचाओको भ्रमणलगत्तै हुन लागेको प्रचण्डको भ्रमणका क्रममा राजनीतिक मुद्दाले प्रवेश पाउन सक्ने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रचण्ड साउन १ गते आइतवार स्वदेश फर्कने कार्यतालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell