.jpg)
काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन्। नवनियुक्त राजदूत श्रीवास्तव सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर शिष्टाचार भेट गरेका हुन्।
भेटमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल-भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा व्यक्त गरे।
अध्यक्ष तिमिल्सनाले नेपाल-भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रही आएको उल्लेख गर्दै भने, ‘नेपाल-भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ। हामीमध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’
छिमेकी देश भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो ‘नेबरहुड फर्स्ट पोलिसी’ अन्तर्गत छिमेकीहरुसँगको सम्बन्धलाई विशेष महत्व दिने नीतिको अध्यक्ष तिमिल्सिनाले प्रशंसा गरे।
अध्यक्ष तिमिल्सिनाले नेपाल र भारतको सिमा क्षेत्रमा वर्षेनी बाढी र डुबान कारणमा जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको दीर्घकालिन समाधानका लागि सहकार्य र विगतमा दुई देशबीच भएका विभिन्न सम्झौताहरुको कार्यन्वयन आवश्यक रहेको बताए।
उनले भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको बताउँदै नेपालमा आर्थिक तथा प्राविधिक लगायत विभिन्न क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिए।
भेटमा अध्यक्ष तिमिल्सिनाले राजदूत श्रीवास्तवमार्फत भारतको राज्य सभाका सभापति वेनकाय नायडुलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका छन्।
भेटका क्रममा राजदूत श्रीवास्तवले नेपाल-भारतबीचको लामो र मित्रवत सम्बन्धलाई आफ्नो कूटनीतिक अनुभव र क्षमताको प्रयोग गरी थप मजबुद बनाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे।
साथै उनले दुई देशबीच राजनीतिकसँगै आर्थिक सम्बन्धलाई पनि मजबुद र बिस्तार गर्नुपर्ने बताए। राजदूत श्रीवास्तवले नेपाल र भारत बीचको व्यापारिक सन्तुलनका लागि जलविद्युत, पर्यटन र कृषिमा प्रथामिकताका साथ काम गर्नुपर्ने बताए।