1.jpg)
काठमाडौं : अघिल्लोपटक भएको निर्वाचनमा उपसभामुखमा पराजित कांग्रेसकी पुष्पा भुसाल यसपटक भने उक्त पदमा भारी मतका साथ निर्वाचित भएकी छन्। यसपटक एमालेकी उम्मेदवार विद्या भट्टराईले ९३ मत पाउँदा भुसालले १४८ मत पाउँदै उपसभामुखमा निर्वाचित भएकी हुन्।
यसअघि २०७४ को चैतमा भएको उपसभामुखको निर्वाचनमा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग भुसाल पराजित भएकी थिइन्। तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्दा भुसाले ५८ मत मात्रै पाएकी थिइन्।
माओवादी केन्द्रका सांसद देव गुरुङको प्रस्तावमा भुसालले मनोनयन दर्ता गराएकी थिइन्। उनको समर्थनमा सत्तारुढ गठबन्धनसहित लोसपालेसमेत मत दिए।
करिब तीन वर्षपछि उपसभामुख पदको निर्वाचन प्रक्रिया अघि बढ्ने भएपछि आज मतदान भएको हो।
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको थियो। प्रतिनिधि सभाको पदावधि सकिन ६ महिनाभन्दा कम अवधि रहेका बेला उपसभामुख चयन भएको हो।
समानुपातिक सांसद रहेकी भुसाल कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी भुसालले १७ वर्ष वकालतसमेत गरेकी छिन्। कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन २०२८ सालपछि राजनीतिमा सक्रिय छिन्।