PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काठमाडौं उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न सरकारले चासो नदेखाएको एमालेको आरोप



रासस

काठमाडौं उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न सरकारले चासो नदेखाएको एमालेको आरोप
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेकपा (एमाले)ले सरकारले काठमाडौं उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा २८ जना हैजाका बिरामी पुष्टि भएपनि सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको आरोप लगाए।

‘हैजा जस्तो महामारी नियन्त्रणका लागि उपचार व्यवस्थापन र जनचेतना फैलाउने जस्ता कार्यमा स्वास्थ्य मन्त्रालय बेखबर देखिएको छ, महामारी नियन्त्रण जस्ता कार्यमा लापरबाही गर्नु जनस्वास्थ्यका दृष्टिले गम्भीर कमजोरी हो,’ उनले भने।

यस्तै, एमालेले कोभिड-१९ महामारीमा खटिने जोखिम भत्ता स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएका जनशक्तिलाई पनि उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ।

‘सरकारले जोखिमपूर्ण समयमा काम गर्नेहरुलाई निराश बनाएको छ, कोभिड-१९ पोजिटिभ भएका धेरै स्वास्थ्यकर्मीले कोभिड बीमाबापतको रकम हालसम्म पाएका छैनन्’, भट्टराईले भने, ‘कोभिड-१९ संक्रमणका समयमा बीमा कम्पनीले जनसाधारणका लागि उपलब्ध गराउने भनेको बीमाको रकम करिब छ अर्ब रुपैयाँ हालसम्म पनि भुक्तानी गरेको छैन।’

एमालेले कोभिड-१९ को पूर्ण रुपमा खतरा नटरेको भन्दै गत आर्थिक वर्षको तुलनामा आव २०७९/८० मा १९ प्रतिशत कम रहेको जनाएको छ। यस्तै, चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरुको संख्या बर्सेनी बढ्दै गएको र यसले पूँजी पलायन मात्र नभई बौद्धिक पलायन पनि निरन्तर भइरहेको भन्दै देशभित्रै गुणात्मक चिकित्सा शिक्षाको सुनिश्चित गरी स्वास्थ्य जनशक्तिलाई देशको समृद्धिको काममा क्रियाशील गराउन प्रभावकारी योजना अघि सार्न सरकारलाई उनले अनुरोध गरे।

एमालेले औषधि आयातबाट बर्सेनी अर्बौँ रुपैयाँ विदेसिएकाले नेपालमा नै औषधि उत्पादन गर्ने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेको छ। स्वास्थ्य बीमामा विशिष्टीकृत ज्ञान/सीप भएका जनशक्ति आवश्यक पर्ने भएकाले स्थायी दरबन्दीका लागि बीमा बोर्डबाट सङ्गठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन १८ महिनाअघि मन्त्रालयमा पेस भएकामा हालसम्म स्वीकृत नभएकोप्रति आपत्ति जनाउँदै तुरुन्तै प्रतिवेदन स्वीकृत गरी स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य विभागका प्रमुख भट्टराईले माग गरे।

यस्तै, उच्चस्तरीय विज्ञ समिति बनाई सामाजिक सुरक्षा र उपचार खर्चमा एकद्वार नीति लागू गर्ने गरी स्वास्थ्य बीमा बोर्डको सेवा सञ्चालनलाई प्रभावकारी बनाउन माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell