बुटवल : अन्नभण्डारको रूपमा चिनिने लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अहिले झरी पर्नुपर्ने समय हो। तर टन्टलापुर घाम लाग्दा धान रोपाइँ प्रभावित बनेको छ।
असार महिना सकिनै लाग्दा लुम्बिनी प्रदेशमा ७५ प्रतिशतमात्र रोपाइँ सकिएको छ। रोपाइँ सक्ने बेलामा समेत यस वर्ष पर्याप्त वर्षा हुन सकेको छैन। राम्रोसँग वर्षात नभएपछि किसानले धान रोप्न पाएका छैनन्। असार १४ मा सामान्य झरी परे पनि त्यसपछि रोपाइँ गर्न हुने गरी पानी नपरेको किसानको गुनासो छ। खेतमा जम्ने गरी पानी नपर्दा रोपाइँ प्रभावित भएको किसानको भनाई छ। राम्रोसँग पानी नपर्दा रोपेको धान पनि खडेरीले सुक्दै गएको छ।
धान खेतीका लागि उर्वर मानिने लुम्बिनी प्रदेशमा ३ लाख २० हजार २७५ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ। शुक्रबारसम्म २ लाख ३९ हजार २७७ दशमलव ३९ हेक्टर अर्थात् ७४ दशमलव ७१ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको लुम्बिनी प्रदेश कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले जानकारी दिए।
प्रदेशका १२ वटै जिल्लामा धान खेती हुँदै आएको छ। जसमा पश्चिम नवलपरासीमा करिब धान रोपाइँ सकिएको छ भने बाँकेमा सबैभन्दा कम रोपाइँ भएको छ। पश्चिम नवलपरासीमा सबैभन्दा धेरै ९६, रूपन्देहीमा ९०, पूर्वी रुकुममा ८८, प्यूठानमा ७५ र रोल्पामा ६० दशमलव २ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ। कपिलवस्तुमा ७२, पाल्पामा ७०, गुल्मीमा ७०, अर्घाखाँचीमा ८४, दाङमा ७०, बर्दियामा ७७ दशमलव ५२ र सबैभन्दा कम बाँकेमा ४० प्रतिशत जमिनमा रोपाइँ भएको छ।
यस वर्ष ढिला वर्षा सुरु भई तराई क्षेत्रमा पानी नपर्नु नै रोपाइँ कम हुनुको कारण भएको घिमिरेले बताए। ‘तराईमा २१ देखि ३० दिनको बीउ रोप्नुपर्ने हो। ढिलो रोपाइँ हुँदा धानमा राम्रो बाला नलाग्ने समस्या हुन्छ। जसले गर्दा उत्पादनमा ठूलो असर पुर्याउँछ’, अधिकृत घिमिरेले भने।
पानी नपरेपछि किसान चिन्तित
किसानले रोपाइँको तयारी गरिरहँदा पानी नपरेपछि चिन्तित भएका छन्। तराईका जिल्लामा असार मध्यबाट साउन अन्तिसम्म धान रोप्ने गरिन्छ। पहाडका जिल्लामा जेठ अन्तिमबाट शुरु गरेर असारमध्यसम्ममा रोपाइँ सक्ने चलन छ। तर, यस वर्ष पानी नपरेकाले किसानहरुले समयमा धान रोप्न नपाउने अवस्था आएको हो। मलखाद, सिँचाई सुविधा नहुँदा र आकाशे पानीको भर पर्दा प्रत्येक वर्ष यस्ता समस्या भोग्नुपरेको छ। समयमै पानी नपरेपछि उत्पादन घट्ने किसानको चिन्ता छ।
लुम्बिनी प्रदेशमा वर्षैभरी सिँचाई हुने जमिन २५ प्रतिशत मात्र रहेको छ। तराईका जिल्लामा पानी नपर्दा बीउ ब्याडमै सुक्न थालेको छ। तराईका अधिकांश क्षेत्रका किसान आकाशेपानीकै भरमा रोपाइँ गर्दे आएका छन्। पहाडी जिल्लामा पनि मूलहरू सुकेको हुँदा पानीको जोहो गरेर रोपाइँ गर्नुपर्ने अवस्था छ। पानी नपरे खेतै बाझिँन्छ।
रूपन्देहीको तिलोत्तमाका किसान काशिराम पौडेलले समयमै पानि नपर्दा २ विगाहामा धान रोप्न पाएका छैनन्। करिब एक विगाहामा रोपेको धान लामो खडेरीले सुक्न तालेको उनको भनाई छ। आकाशे पानीको भरमा रहेका किसानहरुले पानी परेपछि भरेको खेत पनि सुकेपछि रोपाइँ गर्न समस्या भएको उनले बताए।
त्यस्तै मायादेवीका राधेश्याम गुप्ताले पनि आकाशे पानिको भर पर्दा हरेक वर्ष किसानले यस्तै समस्या भोग्नुपरेको बताउँछन्। ‘सिँचाई सुविधा नहुँदा खेती गर्ने मन हुँदाहुदै पनी खुम्चनु पर्ने अवस्था छ। लामो समयसम्म पानी नपर्दा टन्टलापुर घामले खपीनसक्नु गर्मी बढेको छ। दिउसोमा घरबाहीर निस्कन सक्ने अवस्था छैन’, उनले भने ‘धानको बिउ खेतमै सुक्ने अवस्था आयो।’
किसानले निरन्तर एकै जातको धान बाली लगाउँदा त्यसले माटाको उवर्राशक्ति घट्ने, बालीमा रोग कीराको प्रकोप बढ्नेजस्ता समस्या देखिने कृषि विज्ञहरु बताउँछन्। पछिल्ला केही वर्षयता धान बालीमा बिभिन्न रोगको प्रकोप देखिन थालेको छ।
लुम्बिनी प्रदेशमा गोरखनाथ ५०९, गंगासागर, हर्दिनाथ हाईब्रिड–१, काबेरी सावा, पन्त सावा, युएस–३१२, पायोनियर, राधा–४, सावित्रि, सावा मन्सुली, राम धान, सुक्खा, सर्जु ५२, सोना मन्सुली लगायतका धान खेती हुँदै आएको छ।