
सन् १९९४ की मिस युनिभर्स सुस्मिता सेनले भारतबाट फरार रहेका इन्डियन प्रिमियर लिगका विवादास्पद पात्र ललित मोदीसँग आफूले विवाह नगरेको स्पष्टीकरण दिएकी छिन्। मोदीले ट्वीटरमा सेनसँग नयाँ जीवनको सुरुवात भएको तस्विर सार्वजनिक भएपछि दुईजनाले विवाह गरेको हल्ला चलेको थियो।
सुस्मिताले भने आफूहरुबिच न विवाह भएको न त ‘इन्गेजमेन्ट’ नै भएको बताएकी छिन्।
‘म खुशी ठाउँमा छु। विवाह भएको छैन। रिङ पनि साटासाट भएको छैन। बिना शर्त प्रेमले घेरिएको छु,’ सेनले आफूले धेरै स्पष्टीकरण दिइसकेको भन्दै अब काममा फर्केको भन्दै इन्स्टाग्राममा लेखेकी छिन्। सो पोस्टमा उनले आफ्नी दुई छोरीहरुको तस्विर सेयर गरेकी छिन्।
सुस्मिता १८ वर्षको उमेरमा मिस इन्डिया र १९ वर्षको उमेरमा मिस युनिभर्स भएकी थिइन्। त्यसपछि सुस्मिताले फिल्म ‘दस्तक’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। सुस्मिताको नाम विक्रम भट्टदेखि रोहमन शाँलसम्म जोडिएको थियो। शाँलसँग सन् २०२१ मा सुस्मिताको ब्रेकअप भएको भारती संचारमाध्यमले उल्लेख गरेका छन्। सन् २०१० बाट फिल्ममा नदेखिएकी उनले २०२० मा वेब सिरिज ‘आर्या’बाट कम्ब्याक गरेकी थिइन्। उनले दुई बच्चाहरुलाई ‘एडप्ट’ गरेकी छिन्।
यता, सन् २००५ देखि २०१० सम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डको उपाध्यक्ष रहेका मोदीलाज्ञ आईपीएलका 'गड फाडर' समेत भनिन्छ। सन् २०१० मा धाँधलीको आरोपमा उनलाई आईपीएलको कमिश्नरबाट निलम्बित गरिएको थियो। त्यस्तै उनी बीसीसीआईको उपाध्यक्ष पदबाट पनि निलम्बित भएका थिए। मनि लण्ड्रिङको आरोप पछि सोही वर्ष उनी भारतबाट फरार भएका थिए।
मोदीले यसअघि मिलन मोदीसँग विवाह गरेका थिए। विदेशमा पढाइका क्रममा उनी आफ्नी आमाको साथी मिनलसँग प्रेममा परेका थिए। मोदी आफूभन्दा करिब एक दशक जेठी मिनलसँगको प्रेममा थिए। तर, मिनलको विवाह नाइजेरियाका व्यापारी ज्याक सागरानीसँग हुन लागेको थियो। उनको विवाहको ठीक अगाडी मोदीले प्रेम प्रस्ताव राखे। तर, रिसाएकी मिनलले ४ वर्षसम्म मोदीसँग बोलचाल गरिनन्।
अर्कोतर्फ सागरानी र मिनलको सम्बन्ध लामो समय टिकेन र चाँडै डिभोर्स गर्ने निर्णयमा पुगे। डिभोर्सपछि मिनल र मोदी फेरि नजिकिए। घरपरिवारको विरोधका बावजुत सन् १९९१ मा उनले मिनलसँग विवाह गरे। सन् २०१८ मा मिनलको निधन भएको थियो।