PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नामिबियासँग भिड्दै नेपाल : लक्ष्य अमेरिकासँग अंक दूरी घटाउने



पहिलोपोस्ट

नामिबियासँग भिड्दै नेपाल : लक्ष्य अमेरिकासँग अंक दूरी घटाउने
फाइल फोटो

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड सिरिजमा नेपालले पहिलो खेल खेलेको थियो नामिबियासँग। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिँदा नामिबिया २२० रनमै समेटिएको थियो।

तर, ब्याटिङमा नेपालको प्रदर्शन लज्जास्पद रह्यो। जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि आरिफ शेखको अविजित अर्धशतकबाहेक मुख्य ब्याट्सम्यानले ठूलो योगफल बनाउन नसक्दा लक्ष्यसम्म पुग्न सकेन। नेपालका मुख्य ब्याट्सम्यान रोहित पौडेल डकआउट हुँदा दीपेन्द्रसिंह ऐरीले खराब फर्मलाई निरन्तरता दिँदा ४ रनमा आउट हुन पुगे। ऐरीको एकदिवसीय क्रिकेटमा गुज्रिरहेको खराबफर्म नेपाली टोलीको लागि चिन्ताको विषय पक्कै छ।

नेपालले फेरि आज नामिबियासँगै खेल्दैछ। सिरिजमा तीन खेल खेल्दा स्कटल्याण्डसँग दुई खेलमा पराजय र नेपालमाथि जित निकालेको नामिबिया आज जितको खोजीमा हुनेछ। अर्कोतर्फ एसोसिएटको उत्कृष्टमध्येको टोली मानिएको स्कटल्याण्डलाई घरेलु मैदानमै हराएको नेपाल पनि उच्च मनोबलमा हुनेछ। दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ।

तर, अझै चिन्ता भने नेपालको ब्याटिङमै छ। स्कटल्याण्डलाई हराउन पनि नेपालले ठूलो लक्ष्य भने पाएको थिएन। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। अर्थात नेपालले खेल जित्नुमा दम बलिङको थियो।

आज नामिबियासँग खेल्दै गर्दा पहिलो खेलमा पराजित भएको नेपालले अघिल्लो खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै दोस्रो खेलमा सुखद् नतिजाको लक्ष्यमा हुनेछ। नेपालले पहिलो पटक सन २००१ मा आईसीसी ट्रफीको प्रतियोगितामा नामिबियासँग खेलेको थियो। क्यानडामा खेलिएको उक्त खेलमा नेपालले ८ विकेटको लज्जास्पद हार भोगेको थियो। दोस्रो पटक सन २०१५ आईसीसी लिग डिभिजन–२ मा यी दुई टोलीबीच प्रतिष्पर्धा भएको थियो। जुन भेट १४ वर्षपछि भएको थियो। त्यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो। तेस्रो पटकको भेट सन् २०१५–०१७ सम्म चलेको विश्व क्रिकेट च्याम्पियनसिपमा भएको थियो। सन् २०१७ मा दुई खेल नेपालमा भएको थियो। नेपालले दुवै खेलमा सुखद् नतिजा निकालेको थियो। त्यसपछि २०१८ मा नामिबियामा नेपालले आतिथ्यता गरेको थियो। जहाँ नेपालले १ विकेटको रोमान्चक जित निकालेको थियो।

जारी सिरिजको पहिलो खेलमा हराएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ। ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ तालिकाको पाचौं स्थानमा छ। आज हुने खेलमा नेपालले जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा हुनेछ। २४ खेल खेलको अमेरिकाले तालिकामा २३ अंक जोडेको छ। यस्तै नामिबियाको १७ खेलबाट १६ अंक छ। आजको खेलमा जित निकाल्ने टोली पाँचौ स्थानमा पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell