- शिशिर वैद्य -
जीवनका दश वर्ष, हरेक वर्ष एक एक खुटकिलो चढ्दै बिताएका पल। ती पलमा गरेका बदमासी, हँसीमजाक, खेलकुद, मस्ती। सबैलाई प्यारो लाग्छ ती पलहरुको सम्झना। स्कुले जीवनमा सामान्य लाग्ने ती पलहरु उमेर चढ्दै जाँदा स्वर्णिम सम्झना बन्दछन्। अनि लाग्दछ - आहा! फेरि स्कुले जीवनमा फर्किन पाए।
स्कुल तह सक्काएर उच्च शिक्षाका लागि आफ्नो गन्तव्यतिर अघि बढेका विद्यार्थीहरु विविध विषयमा दक्षता हासिल गर्ने दौडमा लाग्छन्। चिकित्सक, प्राविधिक, कलाकार, लेखक, व्यापारी, पत्रकार, वकिल, सरकारी सेवा, बैंकिङ। आफ्नो क्षेत्रको व्यावसायिक धर्म निर्वाह गर्दा गर्दै जीवनले कसैलाई कता पुर्याउँछ, कसैलाई कता। निजी होस् वा सरकारी अथवा सामुदायिक विद्यालय, जीवनले जसलाई जता पुर्याए पनि विद्यालय र विद्यार्थीकालका साथीहरु सधैँ आत्मीय हुन्छ। जतिसुकै उच्च ओहदामा पुगे पनि, जतिसुकै उच्च शिक्षा हासिल गरे पनि, जतिसुकै धन सम्पत्ति कमाए पनि, जीवनको प्रारम्भिक ज्ञान हासिल गरेको विद्यालय र ज्ञान दिने गुरुहरुका सामु शिर सधैँ नुहुने गर्दछ। भनिन्छ विद्याधनं सर्व धनं प्रधानं। जीवनको प्रारम्भिक शिक्षारुपी धन कहिल्यै नरित्तिने सर्वोत्तम धनमा पर्दछ। यो विद्यालय र गुरुहरुले प्रति हरेक विद्यार्थीले बोक्ने ऋण हो जुन कहिल्यै तिरेर सकिँदैन।
पूर्व विद्यार्थीहरुको उदारताको उदाहरण हुन् दोलखा मेलुङका रामहरि श्रेष्ठ। श्रेष्ठले मेलुङ स्थित आफू पढेको त्रिभुवन माविलाई आफ्नो पुर्ख्यौली जग्गा आमाबुबाको नाममा दानमा दिए। त्यही जग्गामा एसियाली विकास बैंकको सहयोगमा विद्यालयको नयाँ भवन बन्यो। आवासीय विद्यार्थीका लागि आवास बन्यो। शौचालय र पिउने पानीको व्यवस्थाले विद्यालयको वातावरण विद्यार्थी मैत्री भयो। विद्यालयका एक पूर्व विद्यार्थीले आफू पढेको विद्यालयप्रति गरेको प्रेम र सम्मान अतुलनीय छ। त्यस्तै, सिन्धुली रातमाटेका पूर्व विद्यार्थीहरुले भुईंचालोले ध्वस्त बनेको प्रगतिशील माध्यमिक विद्यालयका लागि भनेर आफू र अन्य ब्याचका साथीहरु मिलेर झण्डै पच्चीस लाख रुपैयाँ जुटाए। भुईंचालोले विद्यालय भवन भत्किएर विद्यार्थीहरु बाँसको कटेरोमा पढ्दै गरेका दृश्यहरुले मनमा घोचेपछि पूर्व विद्यार्थीहरु थोरै थोरै सहयोग जम्मा गरेरै भए पनि विद्यालयका लागि एउटा भवन बनाइदिने सोचले एकजुट भए। यसैबिच भूकम्पले भत्किएका विद्यालयहरुको पुनर्निर्माण गर्न दातृ निकायबाट ठुलो सहयोग आयो। यसरी इतिहास बन्न लागेको २००८ सालमा स्थापित एउटा विद्यालयले पुनर्जीवन पायो। यस्ता अभियानका अभियन्ता थिए पूर्व विद्यार्थी राजकुमार श्रेष्ठ। पूर्व विद्यार्थीहरुले आफू पढेको विद्यालयका लागि देखाएको उदारताका देशैभरि थुप्रै उदाहरणहरु भेटिन्छन्।
पूर्व विद्यार्थीले आफू पढेको विद्यालयलाई आर्थिक र भौतिक मात्रै हैन आफुले जानेको ज्ञान बाँडेर पनि सहयोग गर्न सक्दछन्। यस्तै ज्ञान बाँड्ने अभियानको शुरुवात गरेका छन् सिद्धार्थ बनस्थली इन्स्टिच्युट, बालाजुका पूर्व विद्यार्थीहरुले। अभियानको सुरुवातमा जोडिएका छन् मेरुदण्ड विशेषज्ञ डाक्टर विनोद बिजुक्छे। बिजुक्छेले सोही विद्यालयबाट २०४३ सालमा एसएलसी पास गरेका थिए। ढाड दुखाईः केही भ्रम र यथार्थ, शीर्षकमा कक्षा ९ र १० का विद्यार्थीलाई उनैले अभिमुखिकरण तालिम दिए आफ्नो विद्यालयमा पुगेर। कार्यक्रमलाई विद्यार्थीहरुले उनीहरुमा रहेको कौतुहलता, परिवारमा परेको समस्याका विषयमा प्रश्न गरेर अझ राम्रोसँग बुझ्ने अवसरका रुपमा लिए। विषयगत विशेषज्ञ बोलाएर यस्ता अभिमुखिकरण तालिम दिनुपर्दा कुनै पनि संस्थाले निकै खर्च बेहोर्नुपर्ने हुन्छ। तर, विभिन्न विषयका विशेषज्ञ, जो विद्यालयका पूर्व विद्यार्थी हुन्, उनीहरुसँग सहकार्य गरेर आफ्ना विद्यार्थीलाई अभिमुखिकरण तालिम दिने कार्यको सुरुवातले सिद्धार्थ बनस्थलीका पूर्व विद्यार्थीलाई आफु पढेको विद्यालयलाई केही दिनसक्ने बाटो खुलेको छ। डा. बिजुक्छेबाट सुरुवातभएको यो अभियानमा जोडिएका छन् क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्य। उनले स्तन क्यान्सरका विषयमा महिला शिक्षक एवं विद्यार्थीहरुलाई जानकारीमुलक अभिमुखिकरण दिए। यसरी यो अभियानमा जोडिन इन्स्टिच्युटका थुप्रै पूर्व विद्यार्थीहरुले इच्छा देखाएका छन्। यसलाई सकारात्मक सुरुवातका रुपमा लिनु पर्दछ।
सिद्धार्थ बनस्थली इन्स्टिच्युटका पूर्व विद्यार्थीहरुको पहलमा सुरु भएको यस्तो अभियान अन्य विद्यालयमा पनि फैलाउन सकिन्छ। यसका लागि हरेक विद्यालयका पूर्व विद्यार्थीहरुमा इच्छा शक्ति र आफ्नो विद्यालयलाई केही दिउँ भन्ने भावना चाहिन्छ। देशैभरि छरिएर विभिन्न ओहदामा, विभिन्न विषय विज्ञका रुपमा कार्यरत विद्यालयका पूर्व विद्यार्थीहरुले नयाँ पुस्ताका विद्यार्थीलाई आफ्नो अनुभव आदान प्रदान गर्दा सकारात्मक नतिजा आउने पक्का छ। भविष्यमा चिकित्सक बन्छु, सरकारी जागिर खान्छु, राजनीति गर्छु, इन्जिनियर बन्छु, सैनिक या प्रहरी बन्छु, लेखक बन्छु, हिमाल आरोही बन्छु भन्ने अनेक सपना बुनेका विद्यार्थीलाई तिनै विषयका विशेषज्ञबाट अभिमुखिकरण दिन सकियो भने उनीहरुलाई सपना साकार पार्न अवश्य सजिलो हुनेछ।
सामान्यतया विद्यालयमा आयोजना गरिने कार्यक्रममा पाहुनाहरुबाट विद्यार्थीले भाषण मात्रै सुन्न पाउँछन्। जसबाट उनीहरुको व्यावहारिक जीवनमा तात्त्विक अर्थ राख्ने गर्दैन। विषयगत र व्यावसायिक विज्ञबाट ससाना समूहमा दिइने अभिमुखिकरणले विद्यार्थीहरुले देखेका सपनालाई साकार पार्न मद्दत गर्नेछ। यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई उनीहरुले देखेको सपना पूरा गर्न सहजिकरण गर्नेछ। यस्ता कार्यक्रमहरु सकारात्मक हुनु पर्दछ। नकारात्मक पक्षहरु प्रस्तुत गरिँदा विद्यार्थीको कलिलो दिमागले सपना देख्न छाडिदिने डर पनि रहन्छ। आजभोलि सामाजिक सञ्जाल, पत्रपत्रिका, डिजिटल मिडिया मार्फत् ओकल्ने गरिएका समाचारले नयाँ पुस्ताको मस्तिष्कमा समाज र राज्यका विरुद्ध नकारात्मक सोच हावी बनाएको छ। भविष्यमा केही बन्छु भन्ने सपना बुनेर अध्ययन गर्न विद्यालय आएका विद्यार्थीलाई हाम्रो समाजमा राम्रा काम पनि भइरहेका छन् र त्यस्ता राम्रा काम गर्ने मानिसहरु तिमीहरुकै विद्यालयका पूर्व विद्यार्थीहरु माझबाट पनि छन् भन्ने सन्देश दिन यस्ता कार्यक्रमले मद्दत गर्नेछ। यसले कलिला विद्यार्थीहरुलाई आफ्नो समाज र देश प्रतिउत्तरदायी हुन प्रेरित गर्नेछ।