PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भारत यात्राबारे दिल्लीमा प्रचण्डको प्रतिक्रिया : आकस्मिक होइन यो भ्रमण



पहिलोपोस्ट

भारत यात्राबारे दिल्लीमा प्रचण्डको प्रतिक्रिया : आकस्मिक होइन यो भ्रमण

नयाँ दिल्ली : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबिचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन्।

उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा भारत भ्रमण आएको बताए। उनले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकाले यसलाई आकस्मिक भ्रमण भन्न नमिल्ने सुनाए। भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल-भारत सम्बन्धका विविध पक्षमा भारतीय नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउन आफ्नो प्रयास हुने उनले खुलाए।

‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो। दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो,' उनले भने, 'कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन। समग्रमा नेपाल–भारत बिचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो।'

अध्यक्ष दाहाल शुक्रवार दिउँसो नेपालबाट भारत आएका हुन्। दाहालले आजै भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भारतमै रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासँग आज बिहान अध्यक्ष दाहालको नेपाली दूतावासमा भेटघाट भएको छ।

अध्यक्ष दाहालले आज भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेट्ने कार्यक्रम छ। भोलि आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेपछि प्रचण्डको नेपाल फर्किने कार्यक्रम छ।

नेपालबाट भारत जाँदा प्रचण्डले चीनबाट पनि निम्तो आइसकेको र त्यता पनि जाने बताएका थिए। भारत जाँदा उनीमाथि भारतपरस्त आरोप लाग्ने आशंकामा उनले यस्तो अभिव्यक्ति दिएका थिए। - न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell