काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरि गठबन्धनमा जानुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए।
‘गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ। गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ,’ उनले भने।
स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उनको तर्क छ। भने, ‘स्थानीय निर्वाचनमा हामीले रुखमा, हसिँया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौँ, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन।’
यस्तै आफू भागबन्डाको पक्षमा नरहेको र नेपाली कांग्रेस कुनै समूहको पार्टी नभएको भन्दै उनले भने, ‘कांग्रेस विधिविधानअनुसार हिँड्नुपर्छ।’
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई मिलाएर हिँडाउनेमा आफू विश्वस्त रहेको उनले बताए। कांग्रेस कम्युनिष्ट प्रवृतिबाट जान नहुने भन्दै उनले सरकार र सभापतिले गरेका नकारात्मक कुराको खण्डन गर्दै पार्टी बलियो बनाएर लैजानुपर्ने मत राखेका थिए।