PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आमा मोतिशोभाको पुस्तकसँगै विमोचन गरियो छोरीहरुको कविता संग्रह



पहिलोपोस्ट

आमा मोतिशोभाको पुस्तकसँगै विमोचन गरियो छोरीहरुको कविता संग्रह

काठमाडौं : साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा,डा. सृजना श्रेष्ठ र प्रा.डा. सबिना श्रेष्ठ बिजुक्छेद्वारा लिखित नेपालभाषाका चार पुस्तक विमोचन गरिएको छ। 

नेपाल भाषा फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा मोतिशोभाका ‘नेपालमा घरेलु उद्योगको विकास’, ‘प्रकृति, सम्झानाको डायरी, सत्य र आमा, आँसु’ लघु उपन्यास सङ्ग्रह विमोचन भएको हो। यस्तै, प्रा.डा. सृजनाका ‘प्रश्नचिह्नदेखि पूर्णविरामसम्म र बादललाई के थाहा ?’ कविता सङ्ग्रह तथा प्रा.डा. सबिनाको ‘जिन्दगी एक प्रश्नचिह्न र मनको स्पर्श’ कविता सङ्ग्रह विमोचन गरिएको हो। मोतिशोभा सबिना र सृजनाका आमा हुन्।

उक्त चारवटै कृतिको विमोचन गर्दै नेपाल भाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वाले नेपाल भाषाको विकास र विस्तारमा उक्त कृतिले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

पूर्वअर्थमन्त्री एवम् साहित्यकार शङ्करप्रसाद कोइरालाले अनुवाद साहित्यलाई अगाडि बढाउन नसक्दा नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरसम्म फैलिन नसकेको बताए। उनले मोतिशोभाले यसअघि नेपाली भाषामा लेखेका कृतिलाई अनुवाद गरी नेपाल भाषामा ल्याएको जनाउँदै उक्त अनुवादले नेपालभाषा बुझ्ने र जान्नेका लागि सहयोग पुगेको उल्लेख गरे।

साहित्यकार एवम् पूर्वप्रशासक मोतिशोभाले कोरोनाको समयको सदुपयोग गरेर आफूले लघु उपन्यास लेखेर नेपाल भाषामा अनुवाद गरेको बताइन्। साहित्यकारद्वय सृजना र सविनाले आफूले विद्यार्थीकालमा कोरेको सिर्जनालाई अहिले नेपाल भाषामा पस्केको बताए।

मोतिशोभाका लघु उपन्यासमा नेपाली समाजमा महिलाको जीवनसँग गाँसिएका केही महत्वपूर्ण पक्षलाई सरल भाषामा दर्साइएको छ। उनी नेपाल सरकारको अवकाश प्राप्त सहसचिव हुन्।

कवियित्री सृजनाका कवितामा मान्छे, मन र मानव जीवनका भावनात्मक यात्रा र त्यसभित्रका आरोह अवरोहलाई प्रष्ट्याउने कोसिस गरिएको पाइन्छ। उनी हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ तथा प्राध्यापकका रुपमा कार्यरत छिन्।

कवियित्री सबिनाका कवितामा प्रकृति, सौन्दर्य, जीवन र समयका विभिन्न अध्यायलाई प्रष्ट्याइएको छ। यस्तै मनका जिज्ञासा, कौतुहलता र प्रश्न लगायतका माया, प्रेम र समाजका अन्य परिवेशलाई कवितामा समेटिएको छ। उनी हाल काठमाडौँ मेडिकल कलेजमा बाल आँखा रोग विशेषज्ञ तथा प्राध्यापकका रुपमा कार्यकरत छिन्। उक्त पुस्तक यसअघि नेपाली भाषामा प्रकाशित भइसकेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell